वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमा हातपातको प्रयास

काठमाडौं : वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपातको प्रयास भएको छ। काठमाडौं जिल्ला अदालत परिसरमा उनीमाथि हातपातको प्रयास भएको हो।
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दाका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेकको आदेश आउने भएपछि अदालत परिसरमा भेला भएका रास्वपाका कार्यकर्ताहरूले त्रिपाठीमाथि हातपातको प्रयास गरेका हुन्।
सहकारी पीडितको पक्षबाट बहस गरेर बाहिर निस्कने क्रममा उनीमाथि हातपातको प्रयास भएको बुझिएको छ। समर्थकहरूले हातपातको प्रयास गरेपछि उनलाई सुरक्षाकर्मीले जोगाएका थिए।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न लामिछानेसहित जीबी राई,पूर्वडीआईजी छविलाल जोशी,जीबीको साढुभाई दीपक लामा,कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहितका ३९ जनालाई प्रतिवादी कायम गरिएको छ।
उक्त सहकारी ठगी प्रकरणमा ६९० जनाले ९३ वटा जाहेर दिएका छन्। सहकारीमा ५ हजार ६६९ जना बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ अपचलन भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा ६४ करोड ८३ लाख ३८ हजार ४ सय ६५ रुपैयाँ कारोबार भएको प्रहरीको अनुसन्धानले देखाएको छ।
प्रतिक्रिया दिनुहोस !
