सप्तकोशी नदी आसपासमा सतर्क रहन चेतावनी
काठमाडौँः देशकै ठुलो सप्तकोशी नदी आसपासको क्षेत्रमा भिषण बर्षात् भएर पानीको बहाव बढेपछि सर्तक रहन चेतावनी दिइएको छ । जल तथा मौसम पूर्वानुमान विभागले बितेको २४ घण्टामा सप्तकोशी नदीकोे पहाडी क्षेत्रमा भिषण बर्षात् भएकाले सर्तक रहन चेतावनी दिएको हो ।
विभागका अनुसार सप्तकोशीको चतरास्थित बर्षा मापन केन्द्रमा बितेको २४ घण्टामा १४६ मिलिमिटर बर्षात् भएको छ । त्यसैगरी १२ घण्टाभित्रमा ९१ मिलिमिटर बर्षात् भएको छ । भारी बर्षात् भएपछि पानीको सतह पनि बढ्दै गएकाले विभागले सतर्क रहन भनेको हो । सप्तकोशीका सहायक नदी रहेका पहाडी तथा हिमाली क्षेत्रमा पनि भिषण बर्षात् भइरहेकाले विभागले सतर्क रहन आग्रह गरेको छ ।
'सप्तकोशीको चतरास्थित बर्षा मापन केन्द्रमा गएको २४ घण्टामा १४६ मिलिमिटर, १२ घण्टामा ९१ मिलिमिटर बर्षा भएको छ र अहिले पनि बर्षा हुने क्रम जारी रहेकाले आसपासमा सतर्क रहन अुनरोध छ', विभागले भनेको छ, 'आज र भोली देशको अधिकांश पहाडी क्षेत्रमा वर्षा हुने देखिएकोले स-साना खोलानाला र पहिरोग्रस्त क्षेत्रमा सतर्कता अपनाइराखौं।'
आज र भोली पहाडी तथा चुरे र तराईको केही भागमा मध्यमदेखि भारी बर्षा हुने सम्भावना भएकाले सतर्क हुन विभागले आग्रह गरेको छ । विभागले चुरे र पहाडी क्षेत्रका साना खोलानालामा पनि बाढी आउने भएकाले सतर्क रहन भनेको छ।