एसईई अब्बलका कुरा

एसईई अब्बलका कुरा

आफू दुई वर्ष पनि नहुँदै बिरामी भएर आमा बितेकाले सवी विकलाई आमाको अनुहार याद छैन। बाबुले पढाउँछु भन्दै छोरीलाई काठमाडौं ल्याए। तर केही समयपछि उनको पनि एक गाडी दुर्घटनामा निधन भएकाले म्याग्दी पातलीखेतकी सवी दिदी शान्ता महर्जनसँग बसेर पढ्न थालिन्। आमाबाबु दुवैले छाडेर गइसकेकाले भविष्यमा डाक्टर बनेर सबैको ज्यान बचाउने उनको लक्ष्य छ।

यही लक्ष्य प्राप्तिका लागि सवीले गरेको मेहनतले सार्थकता पाएको छ। गत साता भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा उनले ४ जीपीए ल्याई उत्तीर्ण गरेकी छिन्। हाल मामामाइजूसँग बस्दै आएकी सवीले जीवनमा शिक्षा नै सबैभन्दा महत्‍वपूर्ण कुरा हो भन्ने महसुस गरेर अध्ययन गरेकै कारण यति राम्रो अंक ल्याएकी छिन्।

परीक्षामा यति राम्रो अंक ल्याउने उपाय के त ? जिज्ञासा मेटाउँदै उनले भनिन्, 'सधैं तालिका बनाएर पढ्नुपर्छ।' महालक्ष्मी नगरपालिकास्थित सिद्धिपुरको अनन्त इङ्लिस स्कुलबाट एसईई दिएकी सवी प्रत्येक नदी रातको साढे १० बजेसम्म विद्यालयको गृहकार्य सकाइसक्थिन्। त्यसपछि साढे दुई घन्टा जति विद्यालयमा पढाएका विषयलाई दोहोर्‍याएर पढ्थिन्। बेलुकी चार विषयमात्रै भ्याउने हुनाले बिहान ५ बजे उठेर फेरि बाँकी चार विषयमा दुई घन्टा मजाले रिभिजन गर्थिन्।

दाइदिदीका किताबहरू र प्रश्नपत्रहरू संकलन गरेर पढ्ने उनको बानी थियो। बेलुका सुत्नुअगाडि जहिले पनि कुनै न कुनै कोर्सबाहिरका किताब उनी पढ्थिन्। यही क्रममा उनले जीवन काँडाकी फूल, मुनामदन, ह्यारी पोटरलगायतका पुस्तक पढिसकेकी छिन्। सुत्नुअगाडि दैनिक बिहानदेखि बेलुकीसम्म गरेको कामको मूल्यांकन गरी भोलि के गर्ने भनेर सोच्ने उनको बानी छ।

केही समयअगाडि उनको विद्यालयबाट विद्यार्थीलाई प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ भेट्न लगिएको थियो। त्यसैगरी अन्य विभिन्न कार्यक्रममा पनि विद्यालयले बेलाबेलामा सहभागिता जनाइरहन्छ। यसले पनि ठूलो मानिस बन्नलाई पढ्नै पर्ने रहेछ भन्ने उनलाई लाग्दै गयो र यसैअनुसार मेहनत गर्दै गइन्। उनको मेहनतमा मलजल गरेर उनलाई हौसला दिने काम उनले मामु भनेर बोलाउने पुष्पा घिमिरेले पनि गरिन्।

परीक्षाको बेलामा पनि सबै घोकेर मात्रै हुँदैन भन्ने आफूले गुरुहरूबाट सिकेकी बताउँदै उनले भनिन्, ‘सबै पढेर मात्रै हुँदैन, स्मार्ट, टेक्निकल र क्रियटिभ वेमा पढ्नुपर्छ।’यसैसँग मिल्दोजुल्दो विचार राख्छन् दक्षिणकाली डल्लुका नवदीपसिंह बस्नेत। भावनामा डुबेर पढ्नुपर्छ भन्ने उनको भनाइ छ। दिनको कम्तीमा पनि एक घन्टा नियमित रुटिन बनाएर पढ्ने बानी बसाल्दा आत्मसन्तुष्टि दिने खालको नतिजा ल्याउन सकिने उनले बताए।

परीक्षाको बेलामा उनी पनि त्यति धेरै पढ्दैनथे। खालि पहिले नै पढिसकेका कुरालाई दोहोर्‍याउने काम मात्रै हुन्थ्यो। नेपाली विषय र साहित्यमा पनि रुचि राख्ने बस्नेत जस्तोसुकै किताब पाए पनि पढिहाल्छन्। ‘जति पढ्थेँ मन लगाएर पढ्थेँ, बुझेर पढ्थेँ। पुस्तक मेरो हृदयको टुक्राजस्तै हुन्थ्यो’ किताबलाई शत्रु होइन सधैं आफ्नो मित्र बनाएर पढ्नु भन्ने उनको सुझाव छ। भविष्यमा एक न्युरोसर्जन बन्ने सपना देखेका बस्नेतका अनुसार पढाइमा सफलता हात पार्नका लागि विद्यार्थीको मेहनतका साथै अभिभावक र शिक्षकको हौसलाका साथै पढ्ने वातावरण पनि राम्रो हुनु जरुरी छ। नर्सरीदेखि नै दक्षिणकालीस्थित ग्रिन हिल स्कुलमा पढ्दै आएका उनी अबको पढाइ विज्ञान विषयमा अगाडि बढाउने सोचमा छन्।

विज्ञान विषय नै पढे पनि डाक्टर नभई इन्जिनियर बन्ने सोच छ कृतिका थापाको। विराटनगरस्थित एभरेस्ट सेकेन्डरी स्कुलमा कक्षा ६ देखि पढ्न थालेकी उनले कक्षाका एक सय ४६ जनालाई उछिनेर सधैं पहिलो हुन्थिन्। तर कक्षा १० मा उनको नतिजा बिग्रिएर उनी कक्षाकी दोस्रो विद्यार्थी भएपछि उनलाई पढाइ सुधार्नुपर्छ भन्ने लाग्यो। कक्षा १० मा पुगेपछि विद्यालयपछि दुई कक्षा कोचिङ पिरियड हुन्थ्यो। घर पुग्दा ७ नै बज्ने हुनाले उनी थाक्न त थाक्थिन्।

तर पनि मेहनत गर्न छाड्ने थिइनन्। खाजा खाएर गृहकार्य सकाएपछि बेलुका ११ बजेसम्म पढ्थिन्। बिहान पनि साढे ५ बजे नै उठेर पढ्ने उनको बानी थियो। अरु बार विद्यालयमा पढाएको दोहोर्‍याउँथिन् भने शनिबार उनी गणितको अभ्यास गर्थिन्। पढ्नुअगाडि केही समय गीत सुन्दा उनी 'फ्रेस' भएको अनुभूत गर्छिन्। मनमनै पढेको याद नहुने हुँदा कराएरै पढ्ने उनको बानी छ। करिब तीन साताअगाडि नै उनी परीक्षाको तयारी गर्थिन्।

यतिबेला प्रश्नहरू अभ्यास गर्नेभन्दा पनि च्याप्टर नै पढ्ने उनको बानी थियो। कक्षामा पढाएको बेलामा ध्यान केन्द्रित गरे सबैभन्दा बढी याद हुने उनको अनुभव छ। शिक्षकलाई कमै सोध्ने उनी साथीहरूसँग भने पढाइका विषयमा धेरै छलफल गर्थिन्। हालसम्म उनले नेल्सन मन्डेला, मलाला युसफजाई, मदर टेरेसालगायतका धेरैको बायोग्राफी पढिसकेकी कृतिका परीक्षामा कहिले पनि कम अंक आयो भनेर आशा मार्नु नहुने सुझाउँछिन्। आफूले आफैंलाई अभिप्रेरित गरि मेहनत गर्न छाड्न नहुने उनले बताइन्। नेपालभरका विद्यालयबाट धेरैले ४ जीपीए ल्याएर उत्तीर्ण गरे। कतिपय ठाउँमा त एउटै विद्यालयबाट पनि धेरै विद्यार्थीले ४ जीपीएसम्म ल्याएका छन्।

काठमाडौंको गोंगबुस्थित साउथ वेस्टर्न स्कुलबाट चार जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन्। विद्यालयका रोजिना ढकाल, आयुष अधिकारी, विना बरुवाल र रुवि श्रेष्ठले उक्त नतिजा हात पारेका हुन्। विद्यालयका प्रिन्सिपल मनोज आचार्य विद्यालयले प्राप्त गरेको नतिजाको श्रेय अभिभावक र शिक्षकलाई दिन्छन्। उपत्यकाबाहिर पनि पोखराको मासबारस्थित मदरल्यान्ड माविबाट प्रयास पौडेल, कृति बराल, झरना पौडेल, वर्षा बराल र रञ्जन यादवले ४ जीपीएसहित उत्तीर्ण गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.