हुलाकी सडकको काम फेरि रोकियो

हुलाकी सडकको काम फेरि रोकियो

 वीरगन्ज : कमसल निर्माण सामग्री प्रयोग गरिएको भन्दै स्थानीय विरोधमा उत्रिएपछि पर्सामा हुलाकी सडक निर्माण फेरि रोकिएको छ। जिराभवानी गाउँपालिकाको सेढवास्थित चमरी टोलबाट ठोरी गाउँपालिकाको चौतारासम्म ३० किलोमिटर सडक निर्माणको ठेक्का कालिका बानियाँ जेभी कन्स्ट्रक्सनले लिएको छ। ठेकेदारले कमसल निर्माण सामग्री प्रयोग गरेको भन्दै ठोरी-४ विजयबस्तीका स्थानीयले शनिबारदेखि ठेकेदारलाई काम गर्न नदिएका हुन्।

चमरी टोलबाट विजयबस्तीको आठघरेसम्म झन्डै १० किलोमिटर सडक फराकिलो पारी ग्राभेल हाल्ने क्रममा लेसाइलो माटो, बालुवा तथा ठूल्ठूला ढुंगा प्रयोग गरिएको विजयबस्तीका बासिन्दाको भनाइ छ। ‘ग्राभेलमा ढुंगा र गिट्टीको मात्रा बराबर हुनुपर्छ तर यहाँ ठेकेदारले ग्राभेल भनेर बालुवा र लेसाइलो माटो मात्र रातारात भरेको छ’, साबिक निर्मलबस्ती गाविसका पूर्वअध्यक्ष लालबहादुर श्रेष्ठले भने, ‘खेतको सतहभन्दा बढी उचाइ हुने गरी सडकमा माटो भर्नुपर्ने सम्झौता छ तर अहिले भरिएको माटो खेतको सतहबराबर मात्र छ। ठेकेदारले कमसल सामग्री प्रयोग गरेकै कारण हामीले काम रोकिदिएका हौं।’ ग्राभेल गरी १७ पटक रोलर लगाएर सम्याइएको सडकमा अहिले नै सवारी साधन भासिएर फस्ने गरेकाले पनि काम गुणस्तरीय नभएको पुष्टि भएको उनको दाबी छ।

यस्तै, सडकछेउको खेतको सतहबराबर माटो भरिएको र विभिन्न स्थानमा निर्माण गरिएको कल्भर्ट सडक नबन्दै चर्किएको विजयबस्तीका युवा खगेन्द्र श्रेष्ठले बताए। ‘सम्झौताअनुसार बालुवा र सिमेन्टको मात्रा ३÷१ को हुनुपर्छ तर कल्भर्ट निर्माण गर्दा बालुवा र सिमेन्टको मात्रा ७÷१ प्रयोग गरिएको छ’, उनले भने, ‘त्यसैले कल्भर्ट अहिले नै चर्किसकेको छ।’

सडकमा सम्झौताअनुसार निर्माण सामग्री प्रयोग गर्न ठेकेदारका प्रतिनिधिलाई बारम्बार आग्रह गर्दा पनि नटेरेपछि शनिबारदेखि काम रोक्न बाध्य भएको स्थानीय अगुवा लालबहादुर श्रेष्ठले बताए। गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठ र स्थानीय प्रहरी पनि ठेकेदारकै पक्षमा लागेको उनको आरोप छ। ‘हामी विकासविरोधी हँुदै होइन तर जबसम्म गुणस्तरीय काम हुन्छ भनेर भरपर्दो आश्वासन दिइँदैन तबसम्म हामी काम सुरु गर्न दिन्नांै’, उनले भने।

सडक निर्माणमा भइरहेको अनियमितताबारे सोमबार वीरगन्जस्थित जिल्ला प्रशासन कार्यालय पुगेर उजुरी दिने उनले बताए।

स्थानीयले शुक्रबार बेलुका ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजर मनोज सिग्देल र उनी सवार गाडीका चालक राजकुमार वाइबालाई हातपातसमेत गरेका थिए। स्थानीयले सिग्देल सवार गाडी नियन्त्रणमा लिएर प्रहरी चौकीमा बुझाएका थिए। शु्क्रबार बेलुकी काम सकाएर ठोरीको ब्रम्हनगरस्थित अस्थायी निवासमा जाँदै गरेका बेला स्थानीय केही व्यक्तिले गाडी तोडफोड गर्नुका साथै आफू र सवारी चालक वाइबामाथि हातपात गरेको सिग्देलले बताए।

‘विजयबस्ती चोकमा पुग्नेबित्तिक्कै स्थानीय केही युवाले गाडी रोकी चालकलाई गाडीबाट थुतेर हातपात गरे, मलाई पनि बाँकी राखेनन्’, उनले भने, ‘हामी भागेर नजिकै प्रहरी चौकीमा शरण लियौं। शुक्रबार बेलुकीको घटनाले हाम्रा आधाभन्दा बढी टिपर चालक काम छाडेर हिँडेका छन्।’

उनका अनुसार विजयबस्तीमा अहिले माटो पुर्ने काम सकेर ग्राभेल खसाल्न थालिएको छ। ‘सम्झौताअनुसार ३२ सेन्टिमिटरसम्मको उचाइमा ग्राभेल हाल्नुपर्छ’, उनले भने, ‘अहिले एकपटक मात्र ग्राभेल खसाइएको छ, त्यसैले अहिले त्यहाँ गाडी गुड्दा भासिएको हो।’

सम्झौताअनुसारकै निर्माण सामग्री प्रयोग भइरहे पनि स्थानीयले अनेक बहाना खडा गरेर काम गर्न नदिएको उनले बताए। ‘कर्मचारी र मजदुरमाथि हातपात नै हुन थालेपछि काम गर्ने वातावरण नै देखिएको छैन’, उनले भने।

विजयबस्तीका अगुवा लालबहादुर श्रेष्ठले भने ठेकेदारका कर्मचारीलाई कसैले हातपात नगरेको बताए। ‘ठेकेदारका कर्मचारी सवार भ्यान निर्माण भइरहेको सडकबाट होइन, अर्कै ठाउँबाट जान खोजेपछि स्थानीय युवाले रोकेका मात्र हुन्’, उनले भने, ‘चालकले निर्माण भइरहेको बाटोबाट गाडी लैजान नमानेर जबरजस्ती गरेपछि स्थानीय युवाले गाडी नियन्त्रणमा लिएर प्रहरी चौकीमा बुझाएका हुन्।’

यसअघि जेठ २८ गते पनि विजयबस्ती र आठघरेका स्थानीयले हुलाकी सडक निर्माणमा अवरोध पु¥याएका थिए। उनीहरूले हुलाकी सडक निर्माणमा आवश्यक सामग्री ओसारपसार गर्न ठेकेदारले स्थानीयकै ट्र्याक्टर भाडामा प्रयोग गर्नुपर्ने, गाउँका युवा क्बल र खेलकुदका लागि आर्थिक सहयोग गर्नुपर्ने माग राख्दै अवरोध गरेका हुन्। गाउँपालिकाका अध्यक्ष श्रेष्ठले सजहीकरण गरेपछि जेठ २९ गतेदेखि काम नियमित भएको थियो।

गत फागुनमा शिलान्यासलगत्तै सेढवाबाट ठोरीसम्मको दोस्रो खण्डको बाघमोर्चामा स्थानीयले मुआब्जा माग गर्दै काममा अवरोध गरेका थिए। पर्सामा हुलाकी सडक ३० महिनाभित्र अर्थात् सन् २०२० जुन २ भित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले कुनै पनि बहाना बनाएर सडक निर्माणमा अवरोध गर्न नपाइने बताए। ‘गुणस्तरहीन काम भएको छ भने सम्बन्धित आयोजनाको कार्यालयमा उजुरी दिन सकिन्छ, त्यहाँ सुनुवाइ भएन भने स्थानीय प्रशासनमा उजुरी दिन सकिन्छ’, उनले भने, ‘तर, यो वा त्यो बहानामा कानुन हातमा लिएर काम रोक्न पाइँदैन। कसैले अराजक काम गर्छ भने स्थानीय प्रशासन र प्रहरी चुप लागेर बस्दैन।’


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.