महोत्तरीमा सर्पको टोकाइबाट एकैदिन चारजनाको मृत्यु
बर्दिबासः बिषालु सर्पको टोकाइबाट महोत्तरीमा एकै दिन चारजनाको मृत्यु भएको छ । सर्पदशंबाट बर्दिवास नगरपालिका–५ का २७ वर्षीय बलबहादुर तामाङ र वडा नम्बर ६ का ७३ वर्षीय तिलकमाया राउतको प्रहरीले जनाएको छ ।
त्यस्तै गौशला नगरपालिका–१२ बस्ने ३६ वर्षीय सुशीलकुमार सिंह र ११ वर्षीय मनिष राउतको सर्पको टोकाइबाट मृत्यु भएको छ । सर्पले टोकेको सिंह र राउतको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रले जनाएको छ ।
एक बालक, २ युवा र एक वृद्धको सोमबारै चारजनाको सर्प टोकाइका मृत्यु भएको छ । बर्दिवास नगरपालिकामा २ जनाको र गौशाला नगरपालिकामा २ जनाको मृत्यु भएको हो । मृत्कमा कोब्रा र करेत सर्पको टोकाईको लक्षण देखा परेको सर्पदंश उपचार केन्द्रले जनाएको छ ।
उनीहरु सबैलाई आइतबार राति सुतेकै ठाउँमा सर्पले टोकेको थियो । चारजनाको उपचारकै क्रममा बाटोमा ल्याउँदै गर्दा ज्यान गएको थियो । सर्पको टोकाइबाट एक सातअघि बर्दिवास-१ की एक वर्षीया बालिकाको मृत्यु भएको थियो ।
वर्षातसँगै महोत्तरी जिल्लामा सर्पदंशको घटना बढेको छ । बास बस्ने दुलामा पानी पसेपछि सर्पहरु घरआँगन र ओछ्यानसम्म बासको खोजीमा पुग्दा सर्पदंशको घटना बढेको हो ।
आव २०७४/०७५ मा मात्रै २ सय ६३ जना सर्पदंशका बिरामीको उपचार गरिएकोमा असार महिनामा मात्र उपचार केन्द्रले ३१ जनाको सर्पदंशका बिरामीको उपचार गरेको जनाएको छ ।