पहिरोले सात घर विस्थापित, डेढसय घर जोखिममा
गोरखा : लगातारको झरीपछिको पहिरोले आरुघाट गाउँपालिका १ श्यामचेतको सात घर विस्थापित भएका छन्। गाउँमाथिबाट पहिरो झरेपछि अन्य १ सय ५० घर जोखिममा रहेको स्थानीय कर्मा लामाले जानकारी दिए।
श्यामचेतका केशबहादुर लामा, नरबहादुर लामा, सागर लामा, सर्की लामा, फूलबहादुर लामा, भक्तबहादुर लामा र लानम लामा विस्थापित भएको स्थानीय कर्मा लामाले जानकारी दिए। ‘पहिरोको डरले सात घरपरिबार सिद्धार्थ वनस्थली माविको आसपास अस्थायी गोठ बनाएर बस्न गएका छन्’, उनले भने, ‘अरु पनि रातको समयमा अन्यत्र बस्ने, दिउँसोका समयमा घरमै बस्ने गरेका छन्।’ भूकम्पका बेला गएको पहिरो अहिले पानी पर्न थालेपछि फेरि झर्न थालेको स्थानीयको भनाइ छ।
सो ठाउँमा गतवर्षको साउन २७ गते पनि पहिरो गएको थियो। अहिले पनि सोही ठाउँमा पहिरो जान थालेपछि स्थानीयबासी त्रसित भएका छन्। पहिरोको पाँगो माटो गाउँभित्रै पसेपछि गाउँलेहरू विस्थापित भएका हुन्। ‘हामी १ सय ५० घरधुरीका सबै गाउँले मिलेर दिनभरि पहिरोभन्दा माथि कुलो काटेर पानी कटायौं’, स्थानीय कर्मा लामाले भने, ‘करिब तीन सय मिटर फराकिलो पहिरो यस्तो अस्थायी समाधान गरेर कसरी रोकिन्छ र ? ’
पहिरोपीडित पहिरो नियन्त्रणका लागि सहयोग माग्न आएको गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले बताए। ‘लगातार झरी पर्न थालेपछि पोहर पहिरो गएको ठाउँमा अहिले पनि गएको छ’, दाहालले भने, ‘उनीहरूले पहिरोबाट संरक्षणका लागि निवेदन दिएका छन्। तत्कालका लागि १ सय ५० थान तारजालीका लागि बजेट दिने निर्णय गरेका छौं।’ आरुचनौटेबाट झरेको पहिरोले आरुघाट गाउँपालिका कार्यालयको भवनको एक कोठा क्षतिग्रस्त बनाएको पनि दाहालले बताए। ‘मेरो कार्यकक्षमा पहिरोबाट आएको ढुंगाले हानेर क्षतिग्रस्त भएको छ’, उनले भने, ‘मान्बुकै शंखदेवी आधारभूत विद्यालयको भवन पनि पहिरोले क्षतिग्रस्त भएको छ।’ विद्यालय भवन तल पनि पहिरो झरेको र भवन माथिबाट आएको पहिरो पनि विद्यालय भवनसम्म आइपुगेको उनले बताए।
लगातारको पहिरोले धार्चे गाउँपालिका १ र २ केरौंजामा वितरण गरिएको लघु जलविद्युत् आयोजना क्षतिग्रस्त भएको छ। ‘आयोजनाको कुलो पहिरोले लगेपछि विद्युत् उत्पादन बन्द भएको छ’ गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले भने, ‘विद्युत् उत्पादन बन्द भएपछि केरौंजा गाउँमा सबै टेलिफोन समेत बन्द भएको छ।’ पहिरोको उच्च जोखिम गाउँमा सञ्चार सम्पर्कविच्छेद भएपछि चिन्तित भएको उनले बताए।
पहिरोले चुमनुब्री गाउँपालिका ५ विहीको पुल बगाएको छ। ‘बिही र स्याराङ जोड्ने सिदालको पुल बगायो। मनास्लु जाने बाटोमा पर्ने भुर भन्ने ठाउँमा ठूलो पहिरो गएर आवतजावत बन्द भएको छ’, वडाध्यक्ष राजा लामाले भने।
निरन्तरको बर्सातपछि गाउँको सोलार बत्ती पनि बल्न छोडेको सोही गाउँपालिका ४ का धावा लामाले बताए।
सोमबारको लगातारको बर्सातपछिको पहिरोले गोरखा नगरपालिका ११ का विष्णुबहादुर बस्नेतको दुईतले घरमा क्षति पुगेको छ। पहिरोले घर चर्किएपछि बस्नेतको परिवार विस्थापित भई आफन्तको घरमा बसेको एसपी विमल बस्नेतले जानकारी दिए।