खहरे उर्लिँदा यातायात सञ्चालनमा बाधा

खहरे उर्लिँदा यातायात सञ्चालनमा बाधा

बेंसीसहर : शनिबारदेखि लगातारको वर्षाले खहरे खोलामा बाढी आउँदा सवारीसाधन आवागमनमा समस्या भएको छ। डुम्रे–बेंसीसहर सडकखण्डमा पर्ने खहरे खोला बढ्दा सवारीसाधनले सास्ती खेप्नुपरेको हो।

बाढी आएपछि सवारीसाधनको आवागमन रोकिने गरेको छ। सवारीले खोला तर्न नसकेपछि यात्रु अलपत्र पर्ने गरेका छन्। केही सवारीसाधन खोलाको बीचमै अड्किने गरेका छन्। रोकिएका सवारीसाधन पानी पर्न छाडेर खोला घटेपछि गन्तव्यतर्फ हिँड्ने गरेका छन्।

बेंसीसहरदेखि लमजुङ र तनहुँको सिमाना पाउँदीसम्मको ठाउँठाउँमा सडक अवरुद्ध हुने गरेको छ। बेंसीसहर–चामे सडकखण्डको बेंसीसहर पुमा खोलामा पनि सवारीसाधनले सास्ती भोग्नुपरेको छ। केही चालकले सवारीलाई जबर्जस्ती बाढीमा हाल्ने गरेका छन्। बाढीमा सवारी हाल्दा इन्जिन बिग्रने गरेको चालकले बताए। खहरे खोलाहरू उर्लिंदा सदरमुकाम बेंसीसहरदेखि तनहुँ डुम्रेसम्मको मुख्य सडक सधैं अवरुद्ध हुने गरेको छ। पानी पर्न छोडेपछि बाढी कम हुँदा अग्ला गाडीहरू वारपार गर्न सक्छन्। बाढी आएपछि ट्याक्सी, माइक्रो बस, मोटरसाइकललगायत सवारी खोला तर्न नसक्ने ट्राफिक प्रहरीले जनाएको छ।

काठमाडौं, पोखरा, चितवनलगायत ठाउँबाट आएका सवारीसाधन तथा यात्रु समयमा गन्तव्यमा पुग्न नसक्दा अलपत्र पर्ने गरेका छन्। कतिपय यात्रु झरेर हिँड्न बाध्य छन्। पानी परेपछि सुन्दरबजार, दुराडाँडा, दुईपिप्ले, भोर्लेटारलगायत दक्षिणपश्चिम लमजुङ जाने आउने सवारीसाधन, तार्कुघाट, धमिलीकुवा, चक्रतीर्थ, चिती, नौथर शेरालगायत पूर्वीलमजुङ जाने आउने सवारीसाधन रोकिने गरेका छन्। खोलामा पुल नहुँदा बाढीले सधैंजसो सवारीसाधन रोकिने गरेको चालकहरू बताउँछन्।

बेंसीसहरदेखि पाउँदीसम्म झण्डै १७ किलोमिटर छ। सडकमा एक दर्जन बढी साना ठूला खहरे छन्। पानी पर्नेबित्तिकै ती खोला उर्लिने गर्छन्। ठाउँठाउँमा पहिरो गइरहने भएकाले पनि सडक अवरुद्ध हुने गरेको सवारी चालकहरूले बताएका छन्। ‘पानी पर्नासाथ खोलामा ढुंगाहरू गडुल्किएर आउनेगर्छन्’, मोटरसाइकल चालक सुवास अधिकारी भन्छन्, ‘पानी नघट्दासम्म सडकमै बस्नुपर्ने हुन्छ।’

बेंसीसहरदेखि पाउँदीसम्म करिब १७ किलोमिटर सडकखण्डमा १६ वटा सानाठूला खहरे छन्। सो सडकखण्डमा पर्ने भकुण्डेको खहरेखोला, रानीकुवा, भोटेओडारको जिमित्री खोला, गैरीको ठाडो खोला, उदीपुरको चिप्लेटीलगायत खहरे खोलामा आउने बाढीले सवारीसाधन आवतजावतमा समस्या हुँदै आएको छ। ‘पानी परेको बेला बेंसीसहरबाट पाउँदी पुग्नै धौधौ हुन्छ’, माइक्रोबस चालक हरिराम धितालले भने, ‘खोलामा कुरेर बस्नुबाहेक केही विकल्पै हुँदैन।’ यस्ता खहरे नियन्त्रणमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनले सुझाए।

सडक स्तरोन्नति र खहरेमा कल्भर्ट निर्माणका लागि वर्षैपिच्छे सडक विभागले बजेट छुट्याउने गरेको छ। तर, जिम्मेवारी लिएको निर्माण कम्पनीले राम्रो काम नगर्दा वर्षौदेखि समस्या ज्यूँका त्यूँ रहेको जिल्लाबासी बताउँछन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.