कार उपहार परेको भन्दै साढे ४ लाख ठगी
धादिङ : मोबाइल एप्लिकेसन इमोबाट फोन गरी चिठ्ठा परेको बहानामा ठगी गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही जिल्ला लुम्बिनी नगरपालिका–१ बस्ने ३५ वर्षीय सुरेशकुमार प्रसाद गौड र वडा नम्बर ४ बस्ने वर्ष २८ का फतह मोहम्मद मुसलमान रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
नीलकण्ठ नगरपालिका–४ का रामबहादुर परिवारबाट कार र पैसा चिठ्ठामा परेको र त्यसबापतको कर तिर्न भन्दै ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । ठगीमा संलग्न अन्य र तीन जना आरोपी भने फरार रहेकाले उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यसरी भयो ठगी
वैदेशिक रोजगारी क्रममा ७ महिना कतारमा बसेर फर्किएका रामबहादुर परियारलाई जेठ ३० गते नचिनेको नम्बरबाट मोबाइल एप्लिकेसन ‘इमो’ मार्फत एउटा सन्देश आयो । सन्देशमा भनिएको थियो, ‘बधाई छ, तपाईंलाई प्राडो कार र नगद २५ लाख रुपैयाँ पुरस्कार परेको छ । आवश्यक डकुमेन्ट मिलाउन र कर तिर्न हामीलाई २ लाख रुपैयाँ पठाउनुहोला ।’
रामबहादुर परियारले झट्टै विश्वास गरिहाले । उनले विश्वास गर्नु पनि स्वाभाविक थियो किनकि कतार छाड्नुअघि कतारको एक सहरमा लागेको मेलामा उनले कारको चिठ्ठा पनि किनेका थिए र यो म्यासेज त्यही चिठ्ठा परेर आएको हो भन्ने विश्वासमा परे ।
उक्त सन्देशको विश्वासमा परेर उनले घरपरिवारको सल्लाहबिनै कसैलाई पनि खबर नगरी २ लाख रुपैयाँ पठाए, त्यसपछि फेरि पैसा नपुगेको सन्देश आयो र पैसा पठाए । जेठ ३० गतेदेखि असार ३ गतेसम्म उनले इमोमा दिइएको नाम र ठेगानामा आईएमई गरी ४ लाख ५० हजार पठाए । रामबहादुर ढुक्क थिए, अब मलाई नगद २५ लाख र एउटा प्राडो कार आउँछ । तर, त्यसो भएन ।
भोलिपल्ट फेरि १ लाख नपुगेको खबर आएपछि उनको मनमा चिसो पस्यो र पनि परिवारमा सल्लाह गरेनन् । उनलाई पक्का थियो कि मलाई कतारमै काटेको चिठ्ठा परेको हो । मनमा कुरा खेलाउँदै थप १ लाख पनि पठाउन भनेर जाँदा बाटोमा साथीलाई सबै कुरा सुनाएपछि उनको थप एक लाख पनि जोगियो रामबहादुर प्रहरीको शरणमा पुगे ।
रामबहादुरको उजुरीका आधारमा प्रहरीले आईएमई गरी पठाएको नाम र ठेगाना पच्छ्याउँदै २ जना पक्राउ गरी धादिङ ल्याएको हो । ठगले रामबहादुरलाई चिठ्ठा परेको विश्वास दिलाउन गाडी लिन भारत आउनका लागि भारत सरकारको आवश्यक पर्ने कागजपत्रसमेत किर्ते गरी रामबहादुरलाई पठाएका थिए ।
भारत सरकारको कागजपत्र र आफूले कतारमा किनेको चिठ्ठाको विश्वासमा परेर ठगिएको रामबहादुरले बताए । उनले भने, ‘कतारमा ७ महिना काम गरेर अलिअलि पैसा बचाएको थिए, ढंग नपु¥याउदा ७ दिनमै गयो ।’ दुःख गरेर कमाएको पैसा आफ्नै बुद्धिले गर्दा गुमाउनुपरेपछि रामबहादुर चिन्तित भएका छन् । भने, ‘अब फेरि विदेश नै जानुपर्ने भयो ।’
पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई यस्ता चिठ्ठा परेको भनेर सन्देश आउने गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएकाहरूसँग केही पैसा पनि हुने र उनीहरूलाई लोभ्याउन आकर्षक पुरस्कार पनि देखाएर भाइबर र इमोमा सन्देश पठाई ठगी गर्ने गिरोह सक्रिय भइरहेका बेला धादिङ प्रहरीले भैरहवाबाट २ जना पक्राउ गरेको हो । इमोबाट फोन म्यासेज गर्ने भएकाले उक्त एप्लिकेसनमार्फत कुराकानी हुँदा मोबाइल लोकेसनसमेत पत्ता लगाउन सकिँदैन । यताबाट पठाएको पैसा लिने व्यक्ति पक्राउ परे पनि मुख्य योजनाकार भने पक्राउ गर्न सकिएको छैन ।
पक्राउ परेकाहरूलाई ठगी मुद्दाअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।