फसेका किशोरको स्वास्थ्य खतरामुक्त
बैंकक : थाइल्यान्डमा बाढीका कारण एउटा गुफाभित्र फसेका १२ जना किशोर र उनीहरूका फुटबल प्रशिक्षकको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अधिकारीहरूले जनाएका छन् ।
गुफा हेर्न पुगेका एक विद्यालयका १२ जना विद्यार्थी र उनीहरूका प्रशिक्षक गत दश दिनदेखि सोही गुफामा हराइरहेका थिए । उनीहरूलाई फुटबल प्रशिक्षकले नै भ्रमणका लागि सो गुफामा लगेका थिए । विदेशबाट कुशल गोताखोर, उद्धार कार्यमा खट्ने व्यक्ति र विशेषज्ञहरू झिकाएर काम गरिएको सरकारी अधिकारीहरूले जनाएका छन् । थाई सेनाका अधिकारीहरूले पनि यसका लागि तालीम लिइरहेका छन् । त्यस गुफामा फसेका स्कुले बालकहरू र तिनका फुटबल प्रशिक्षकले १० दिनपछि पहिलोपटक तातो खानेकुरा र औषधि पाएका छन् । गुफाभित्र उनीहरूलाई खाना र औषधि पु¥याउन एकजना चिकित्सक र नर्ससहित सातजना गोताखोर गुफाको भित्री भाग उनीहरू फसेको ठाउँसम्म पुगेका थिए । उनीहरू हराएको नौ दिनपछि मंगलबार जीवितै फेला परेको सूचना सार्वजनिक भएको थियो । ‘आजको सूचना पनि सकारात्मक नै छ र उनीहरूको स्वास्थ्य अवस्था पनि राम्रो छ । उनीहरूलाई कुनै स्वास्थ्य जटिलता छैन’, एक अधिकारीले भने । उनीहरूलाई कसरी सुरक्षित फिर्ता ल्याउने भन्ने विषयमा उद्धारकर्ताहरूले आफ्नो ध्यान केन्द्रित गरिरहेको बताएका छन् । गुफामा लगाइएका मेसिनले प्रतिघण्टा करिब १६ लाख लिटर पानी निकाल्न थालेका छन् ।
‘शून्य जोखिम’ को रणनीतिबाट किशोरहरूलाई बचाइने पनि उनीहरूले बताएका छन् । त्यस क्षेत्रमा थप वर्षा भएमा पानीको भेल अझै बढ्ने र उनीहरूले आ श्रय लिएको गुफाको हावा भरिएको भागमा जोखिम बढ्नसक्ने चिन्ता पनि व्यक्त गरिएको छ । ती बालकहरू जीवितै रहेको खबरले देशभरी खुशीयाली छाएको छ । उनीहरूका आमाबुबा र आफन्तले गुफा नजिकैको क्षेत्रमा प्रार्थना र पूजाआजा गरिरहेका छन् । बेलायतका दुई गोताखोरले उनीहरूलाई फेला पारेका थिए ।