तस्करीको नाका बन्दै बीपी राजमार्ग

तस्करीको नाका बन्दै बीपी राजमार्ग

सिन्धुली :  ठूला र साना गाडीको मापदण्डका विषयलाई लिएर एक महिनादेखि विवादमा परेको बीपी राजमार्र्गमा अवैध सामानको व्यापक ओसारपसार हुने गरेको समेत पाइएको छ ।

३३ किलो सुनकाण्डमा बीपी राजमार्ग प्रयोग गरिएको चर्चा नसेलाउँदै बीपी राजमार्गमा अवैध सामान ओसारपसार हुने गरेको विभिन्न प्रमाण फेला परेका हुन् ।

स्थानीय तथा प्रहरीले नै दिएको जानकारीअनुसार दैनिकजसो बीपी राजमार्ग हुँदै राजधानी काठमाडौं तथा पहाडी जिल्ला र काठमाडौं हुँदै मध्यतराईका साथै भारतसम्म अवैध सामान ओसारपसार हुने गरेको हो ।

चार दिनअघि मात्र ना.४ ख ५५१४ नम्बरको ट्रकभरि अवैध रूपमा गाईभैंसीको दाना तराईबाट लिएर बीपी राजमार्ग हुँदै काभ्रे जिल्लातर्फ निर्वाध प्रस्थान भयो । प्रहरीलाई विशेष सुराकी दिइए पनि प्रहरी प्रमुख रामेश्वर यादवकै निर्देशनमा प्रहरी चेकपोस्टमा बसेका प्रहरीले उक्त ट्रकलाई छाडेका हुन् ।

त्यसको एक दिनअघि मात्र ना.१ज ३९९२ नम्बरको बर्दिवास यातायातको बोलेरोमा करिब ३ लाख रुपैयाँ बराबरको भारतबाट राजस्व छली गरी काठमाडौंतर्फ लैजान ल्याउँदै गरेको अवैध कपडा जिल्ला प्रहरी कार्यालयनजिकै रहेको प्रहरी चेक प्वाइन्टमा नियन्त्रणमा लिए पनि छाडियो ।

त्यसको भोलिपल्टै ना.३ख २१९५ नम्बरको हायसमा झापाबाट काठमाडौंतर्फ लैजाँदै गरेको १ लाख ५० हजार रुपैयाँ बराबरको अवैध कपडा सुराकीकै आधारमा सिन्धुली प्रहरीले नियन्त्रणमा लिए पनि पुनः छाडियो । शुक्रबार मात्र बा.३ ख ७९७४ नम्बरको हायसमै महोत्तरीको बर्दिवासबाट लाखौं रुपैयाँको सुर्ती, रजनीगन्धा, पानपरागलगायत सामग्री सिन्धुली हुँदै बीपी राजमार्गबाटै काठमाडौं पठाइयो ।

यी त केही उदाहरण मात्र हुन् । जिल्लामा बीपी राजमार्गको प्रयोग गर्दै प्रहरीकै सेटिङमा अवैध मालसामान दैनिक रूपमा ओसारपसार हुने गरेको प्रमाण धेरै रहेको पाइन्छ ।

प्रहरीका उच्च अधिकारीहरूको सेटिङमा हुने यस्ता अवैध तस्करीले जिल्लामा साना पदमा रहेका प्रहरीलाई भने सास्ती पर्ने गरेको प्रहरी जवान बताउँछन् ।

‘हरेक सामग्री नेपाली र भारतीय सवारीसाधनमा दैनिक ओसारपसार भएको सुराकी आउँछ । हामी त्यसलाई नियन्त्रणमा लिन्छौं । तर, माथिल्लो तहका हाकिम साप’हरूको निर्देशनपछि पुनः छाडिने गरेका छन्,’ जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले भने ।

‘तराईका व्यापारीसँगको मिलेमतोमा भारतबाट ल्याइएका अवैध सामान र पहाडका व्यापारीसँग मिलेर पहाडबाट गाई भंैसी, चीनबाट ल्याइएका लत्ताकपडा, विद्युतीय सामग्रीका साथै सुन, चाँदीसम्म बीपी राजमार्गबाट तराई हुँदै भारतसम्म पुर्‍याउने गरिएको छ । हामीले बोले जागिरै जान्छ । ठूलासँग कसरी सेटिङ हुन्छ थाहै हुँदैन,’ उनले थपे ।

उनका अनुसार सर्लाहीका कपडा व्यापारी दिनेश यादवले प्रहरीसँगको सेटिङमा दैनिक लाखौंका अवैध लत्ताकपडा काठमाडौं पुर्‍याउने गरेको खुलासासमेत भएको छ । गृहमन्त्री रामबहादुर थापाले हातहतियार तथा गुन्डागर्दीलाई निस्तेज पार्ने बताइरहे पनि अवैध हातहतियार प्रहरीकै सेटिङमा सिन्धुलीकै बीपी राजमार्गबाट राजधानी भित्रिने गरेको जिल्लावासीको अनुमान छ ।

बीपी राजमार्गमा झन्डै दुई वर्षदेखि रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । ‘तर, रातभर भारतीय नम्बर प्लेटका साना सवारी साधन निर्वाध सञ्चालन हुन्छन् । ती सवारीमा सुन, चाँदी, हातहतियार लागुऔषध जे भए पनि प्रहरीले कुनै चेकजाँच गर्दैन किन ? ’ उल्टो प्रश्न गर्छन्, नेकपाका जिल्ला नेता केशव देवकोटा ।

बिमारी बोकेका साना निजी गाडी, विवाहका रिजर्भ कार रोक्ने प्रहरीले किन त्यस्ता सवारीसाधन चेकजाँच हुँदैनन् ? उता, तराईबाट काठमाडौंसम्म पुर्‍याउने अवैध लागुऔषध तस्करी गर्ने नाका पनि बीपी राजमार्ग नै भएको प्रहरीले सार्वजनिक गर्ने गरेका विभिन्न घटनाको सार्वजनिकीकरणले प्रस्ट बनाइसकेको छ ।

उता, ३७ क्विन्टल सुन तस्करीका बेलासमेत सिन्धुलीकै बीपी राजगर्मा प्रयोग गरिएको भए पनि प्रहरीले नियन्त्रणमा लिन नसकेको भन्दै सिन्धुलीका तत्कालीन प्रहरी प्रमुखहरू विशेष निगरानीमा परेका छन् ।

सर्वोच्च अदालतले बीपी राजमार्गमा ३२ सिटसम्मका मझौला बस र १० टन क्षमतासम्मका ट्रक तथा टिपर सञ्चालन गर्न आदेश दिएको छ । तर, प्रहरीलाई ३ देखि १५ हजार रुपैयाँसम्म दिए राति निर्वाध छाड्ने नत्र रोक्ने गरेको भन्दै जिल्लाका व्यवसायी प्रहरीप्रति आक्रोशित छन् । बीपी राजमार्गका विवादबारे बुझ्न सिन्धुली आइपुगेका उपभोक्ता मञ्च नेपालका केन्द्रीय अध्यक्ष ज्योति बानियाँले बीपी राजमार्गमा अर्थराजनीति र नीतिगत भ्रष्टाचार बढ्दै गएको टिप्पणी गरे । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बीपी राजगर्मामा हुने अवैध सामान ओसारपसारका विषयमा कडाइसाथ चेकजाँच गर्न प्रहरीलाई निर्देशन दिने बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.