त्यस बखतको काठमाडौं

त्यस बखतको काठमाडौं

मैले मातृवात्सल्य खासै अनुभव गर्न पाइनँ । म आठ वर्षको हुँदा भाइ जन्मियो । साल नझरेपछि आमालाई थप बेथाले च्याप्दै लग्यो । धामी, धन्वन्तरी, वैद्य कसैको केही सीप लागेन । सबैले आफ्नो ठाउँबाट गर्न सक्ने सक्दो प्रयास गरे । बिहान झिसमिसेमा आमा खस्नुभयो । तत्कालै आमालाई तुलसाको मोठमा सारियो । केही छिनमै आमालाई कात्रोले बाँधेर घाटमा लगियो । मस्र्याङ्दी नदीको किनारमा लगेर जलाइएछ । त्यही साल मेरो व्रतबन्ध गर्ने कुरा पनि हुँदै थियो । मलाई घाटमा लगिएन ।

म सानैदेखि चञ्चले थिएँ । आमालाई कहाँ लगे भन्ने खुल्दुली मनमा भइरह्यो । मृत्युबारे केही बुझेको पनि थिइनँ । मरेको मान्छेलाई जलाउँछन्, फेरि भेट हुँदैन भन्ने सुनेको थिएँ । आमाको मृत्युपछि म एक्लो भएको महसुस गर्न थालेँ । मेरो मानसिकता परिवर्तन हुँदै गयो । म दिउँसै सिरकले मुख छोपेर रुन थालेँ । खाना खान बोलाउँदा मात्र निस्किन्थेँ । खाना रुच्ने कुरै भएन । म टोलाउने र अन्तरमुखी बन्न थालेँ । आमालाई सपनामा देख्न थालेँ । त्यति बेलै मेरो मनमा एकाएक ‘आमा गयौ तिमी कहाँ ? म रुँदै छु यहाँ । कहिले काहीँ झुल्किने स्वप्नमहाँ ।’ भन्ने कवितांश प्रस्फुटन भयो । मेरो कविता चेतनाको पहिलो बीज यही भयो ।

मेरो जन्म मस्र्याङ्दी र चुँदी नदीको त्रिकोणमा बसेको तनहुँको दोरदोरथुमको भन्सार गाउँमा भयो । उक्त समथर टारमा औलोको प्रकोप बढेपछि मेरो बाल्यकालको अधिकांश समय गोरखाको मावली गाउँमा बित्यो । पछि मावली नजिकै घरजग्गा किनेपछि हामी गर्मीको समयमा गोरखा र जाडोको समयमा भन्सार गाउँमा बस्न थाल्यौं ।

त्यस बेला गाउँमा भाषा पाठशाला सीमित ठाउँमा मात्र थिए । नयाँ भाषा पाठशाला खोल्ने लहर चलेको थियो । शिक्षकहरू राम्रो तलब सुविधा खोज्दै हिँड्थे । त्यसकारण नियमित पढाइ हुँदैनथ्यो । मेरो प्रारम्भिक शिक्षा गाउँमै सुरु भयो । पहिलो चरणमा गाउँमै गुरुहरूबाट नेपाली, संस्कृत भाषा पढियो । साहित्य, दर्शन, व्याकरण, ज्योतिषका साथै गणित पनि सिकियो । दोस्रो चरणमा ८ कक्षासम्म अंग्रेजी पढेका गुरुहरूबाट अंग्रेजी सिक्ने मौका भयो । उनीहरूले भाषाका अतिरिक्त अंग्रेजी साहित्य र अनुवाद सिकाउँथे । मैले त्यसै बेला सेक्सपियरका प्रसिद्ध तीन नाटक ओथेलो, ह्याम्लेट र टेम्पेस्ट पढ्ने मौका पाएँ ।

तेस्रो चरणमा भारतीय गोरखा फौजबाट रिटायर्ड भएर फर्किएकाहरूले रोमन गोरखा सिकाइदिनुभयो । हिजोआज ईमेल गर्दा पनि मलाई यही सजिलो लाग्छ । उहाँहरूबाट पढाइका अतिरिक्त धेरै कुरा सिक्ने अवसर प्राप्त भयो । व्यायाम, नाटक, गायन, वाद्यवादन सिकियो । मैले त्यति बेलै भीमनिधि तिवारीको ‘सहनशीला सुशीला’ भन्ने नाटकमा खेलेको थिएँ ।

चौथो चरणमा गाउँका बहिदार, मुखिया, खरिदार आदि अवकाशप्राप्त कर्मचारीबाट चिठी लेखन, बिन्तीपत्र, भर्पाई, तमसुक, बन्दकी, राजीनामा, ऐन, स्रेस्ता, कागज लेख्न सिकियो । यसले मलाई आजपर्यन्त काम दिइरहेकै छ ।

शिक्षकहरू नहुँदा हामी फिरन्ते जस्ता हुन्थ्यौं । गाउँगाउँ डुल्थ्यौं । जंगलजंगल चहाथ्र्यौं । काफलका टुप्पामा पुग्थ्यौं । चराका गुँडमा हात हाल्थ्यौं । हामीलाई खोला, खोल्सा कुला कहाँबाट आउँछन् भन्ने खुल्दुली जाग्थ्यो । हामी खोलैखेला हिँड्थ्यौं । मुहानमा पुग्दा विजय प्राप्त गरेझैं लाग्थ्यो । खोले कहाँ जान्छ भन्ने जिज्ञासा पनि उत्तिकै हुन्थ्यो । त्यो थाहा पाउन साथीहरूसँग खोलैखोला हिँड्यौं । सानो खोला दरौंदीमा मिसियो । अनि हामी फर्कियौं ।

शिक्षक नियमित रूपमा नबस्ने समस्या पछिसम्म रहिरह्यो । त्यसले गर्दा गाउँगाउँ चहार्नुपथ्र्यो । मैले त्यसै बेला गोरखाका जैबारी, चिप्लेटी, बक्राङ, लिगलिग, पण्डित गाउँ घुम्ने मौका पाएँ । त्यस बेला शिक्षकले जाने जति सिकाउने चलन थियो । कुनै पाठ्यक्रम थिएन । कति कक्षा पढेको भन्ने बारेमा पनि थाहा हुँदैनथ्यो ।

हाम्रो पालामा लेख्ने कापी र कलम कहाँ थिए र ? काठको फलेकमा अँगारले कोरेर लेख्ने पाटी बनाउँथ्यौं । लेख्ने खरी खानीबाट आफैं ल्याउँथ्यौं । हाडे उन्युको कलम बनाएर बाँसका खबटामा लेख्थ्यौं । हाम्रो गाउँमा मुसुरे कटुसको बोक्रा पकाएर मसी बनाउने चलन थियो । त्यस बेला हामी खाजाको रूपमा मकै, भटमास, खट्टे, चिउरा, मोही आदि खान्थ्यौं ।

एकपटक ग्रहण नुहाउन हामी सबैजना मस्र्याङ्दीको सतीघाटमा भेला भएका थियौं । त्यहाँ तनहुँ र गोरखा दुवै पट्टिका मान्छे भेला भएका थिए । बुवाको धेरै मान्छेसँग चिनजान थियो । त्यहाँ ठूला गुरु र पण्डितहरू पनि आएका थिए । गुरुहरूले मलाई धेरै विषयका प्रश्नहरू सोध्नुभयो । मैले नहिच्किचाई ती प्रश्नको जवाफ दिएँ । उहाँहरूले मेरो प्रशंसा गर्नुभयो । उहाँहरूले मलाई बाल सरस्वतीको उपाधि दिँदै बनारस वा काठमाडौं पढ्न पठाउन बुवालाई सल्लाह दिनुभयो ।

सोही सल्लाहअनुसार बुवाले मलाई काठमाडौं पठाउने हुनुभयो । २०१३ साल भदौरे झरी परेकै बेला मेरा मामाका छोरा ध्रुवप्रसाद भट्ट र म दुई जना भरियासँग काठमाडौं लाग्यौं । त्यस बेला काठमाडौंलाई नेपाल भन्ने चलन थियो । भरियाले बन्दोबस्तीका सामान बोकेका थिए । बाटामा बजार कतै पनि थिएनन् । अविरल वर्षाले सानातिना खोल्सा पनि तर्न गाह्रो थियो । पुल, साँघु भएको बाटो पहिल्याएर हिँड्नुपर्ने भएकाले छ दिनको बाटो हामीलाई १३ दिन लाग्यो ।

पाँचपाने भञ्ज्याङ आइपुगेपछि भरियाहरूले नेपाल देखाए । त्यति बेला पहिलोपटक देखेको काठमाडौं उपत्यकाको झल्को अहिले पनि आइरहन्छ । रूखैरूखका बीचमा अग्लाअग्ला घरहरू भएको सहर रमणीय देखिन्थ्यो । बालाजु आइपुग्दा भिन्न खालको पाटी देखियो । ट्रक र साइकल देखेर हामी झन् चकित भयौं । हामी रानीपोखरी पाठशालामा भर्ना भयौं । पछि एसएलसी जुद्धोदय पब्लिक स्कुलको रात्रिकालीन कार्यक्रमबाट गरेँ । त्रिचन्द्र कलेजमा भर्ना भएँ । नेपालीमा एमए, व्याकरणमा आचार्य, अंग्रेजी विषयमा एमए गरेपछि नेपाली विषयमा २०३१ सालमा पहिलोपटक पीएचडी गरेँ ।

भाइबहिनीहरू पढाइमा मात्र सीमित हुनु हुँदैन । गुरुको मुखबाट निस्किएको शिक्षा जति पक्का अरू केही हुँदैन । कक्षामा गुरुलाई नजानेको कुरा सोधीखोजी गर्नुपर्छ । लेखेर देखाउने र गल्ती सच्याउने बानी गर्नुपर्छ । गुरुसँग भएको ज्ञान धेरैभन्दा धेरै लिन खोज्नुपर्छ । गुरुबाट निरन्तर परिमार्जित हुँदै जानुपर्छ । शिक्षण सिकाइमा गुरु शिष्य दुवैको बराबर भूमिका हुनुपर्छ । गुरुको मात्र कोसिसले हुँदैन ।

हामीले सानैदेखि रुटिङ बनाएर सोहीअनुसार जीवन चलाउनुपर्छ । कोर्सभन्दा बाहिरका किताब पढ्ने बानी गर्नुपर्छ । पढेका कुराहरू लेख्ने बानी गर्नुपर्छ । सुरुमा वस्तुगत कुराहरू लेख्ने बानी गर्नुपर्छ । त्यसपछि अरू विषयमा लेख्ने बानी पर्दै जान्छ । भाषा, शैली, शिल्प र संरचनाका बारेमा बिस्तारै बुझ्दै गइन्छ । अध्ययनलाई रुचिको रूपमा लान सकिएन भने उपलब्धि हासिल गर्न गाह्रो हुन्छ । जीवनमा लक्ष्य भएन भने खल्लो हुन्छ ।

हरेक कुरा सिक्यो भने जीवनभर काम लाग्दो रहेछ । प्रारम्भिक कालमा सिकेका चार थरी शिक्षाले मेरो प्राज्ञिक जीवनमा ठूलो प्रभाव पारेको छ । दुई दशकभन्दा बढी नेपाली केन्द्रीय विभागको प्रमुख हुँदा, मानविकी संकायको डिन हुँदा र पछि नेपाल प्रज्ञाप्रतिष्ठानको उपकुलपति हुँदासमेत त्यो अनुभवले मलाई खुबै सहयोग ग¥यो ।

मेरो जीवनमा आदिकवि भानुभक्त आचार्यको जीवनीले ठूलो प्रभाव पारेको छ । उनकै प्रेरणाले जीवनमा केही नयाँ काम गर्न मन लागिरहन्थ्यो । यसकै प्रभाव र प्रेरणाले २०३१ सालमा नेपाली विषयमा पहिलो पीएचडी गरेँ ।

(प्रा.डा. त्रिपाठीसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित ।)
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.