जंगली जनावरको भन्दै भैंसीको अंग बेचबिखन

जंगली जनावरको भन्दै भैंसीको अंग बेचबिखन

ललितपुर : जंगली जनावरको भनेर झुक्‍काएर भैँसीलगायतका घरपालुवा जनावरको अंगसमेत बेचबिखन हुँदै आएको पाइएको छ। खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले पहिले मानिसको मात्रै डिएनए परीक्षण गर्दै आएकोमा विगत दुई वर्षदेखि जनावरको डिएनए पनि परीक्षण सुरु गरेपछि उक्त कुरा खुल्न आएको हो।

सो अवधिमा धेरै वन्यजन्तु चोरी-शिकार गरेर निर्यात गर्न लागेको भनी परीक्षणका लागि आएकामा कतिपय त झुक्काएर घरपालुवा जनावरको अङ्गसमेत ओसारपसार भएको पाइएको प्रयोगशालाले जनाएको छ। 

प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद रिजाल वन्यजन्तुका अङ्गको स्वरुप बदलेको अवस्थामा प्रयोगशालामा आइपुग्ने गरेको बताए। खुल्ला आँखाले ती वस्तु के हो भन्ने छुट्टिदैन।

मासुलाई सुकुटी बनाएर बिक्री गरेजस्तै अरु भागलाई पनि त्यसरी नै फरक स्वरुपमा बिक्री गरिँदा त्यो कुन जनावरको अङ्ग हो भनेर छुट्टाउन नसकिने हुँदा किन्ने मान्छेले पनि झुक्किएर घरपालुवा जनावरको अङ्ग किनेको हुनसक्ने उनको भनाइ छ। 

'जंगली जनावरको किनबेच गैरकानुनी हुँदा किन्ने व्यक्ति पनि परीक्षणका लागि आउँदैनन्। कतिपयले घरमै सजाउनका लागि जनावरको अङ्ग राख्ने गर्छन् त्यो पनि गैरकानुनी हुन्छ।' कार्यकारी निर्देशक रिजाल भन्नुहुन्छ।

प्रयोगशालामा वन्यजन्तुको डिएनए परीक्षण हुनु पहिले पनि वन्यजन्तुसम्बन्धी काम गर्ने निकायबाट जनावरका शरीरका अङ्ग परीक्षणका लागि आउने गरेको जानकारी दिंदै उनले भने, 'हामी यहाँबाट हुने अरु प्रविधिबाट परीक्षण गर्ने र नहुने भए फिर्ता पठाउने गर्छौं। 

डिएनए परीक्षण सुरु भएपछि दायर गरिएका सम्बन्धित निकायले कुनै पनि मुद्दा फिर्ता लिन परेको छैन।' फरकखालका जनावरको अङ्ग फरक-फरक प्रयोजनका लागि प्रयोग हुने गरेको प्रयोगशालाले जनाएको छ। 

बाघको मासु सुकुटी बनाउन, अरु भाग औषधि बनाउन प्रयोग हुन्छ। कस्तुरीको बिना, भालुको पित्त औषधि बनाउनका लागि प्रयोग हुँदै आएको छ। उनले भने, 'कुन देशमा कुन जनावरको माग छ भन्ने बुझेर चोरले जंगली जनावरको शिकार गरी तिनका अङ्ग बिक्री गर्ने गरेका छन्।' 

प्रयोगशालाले यहाँ आएका जनावरका अङ्गमा कुन जनावर नेपालकै हो र कुन होइन भन्नेसमेत छुट्याउँदै आएको छ। कार्यकारी निर्देशक रिजालले भने, 'अधिकांश घटनामा हामी त्यस्तो जनावर हाम्रो देशको हो कि होइन भनेर छुट्याउन सक्छौँ। नेपाल, भारत, चीनलगायतका छिमेकी देशको हो वा अफ्रिका, अमेरिकालगायत तेस्रो मुलुकका जनावर हो भन्ने सजिलै छुटिृन्छ।'
 
प्रयोगशालामा मानव र जनावरका डिएनए परीक्षण एउटै प्रयोगशालाबाट हुने दक्षिण एशियाको एकमात्रै यो प्रयोगशालामा परीक्षणका लागि आउनेमा गैँडाको खाग र छाला, हात्तीको दाह्रा, कस्तुरीको बिना, पाटेबाघ र चितुवाको छाला बढी रहेको उनले बताए। 

यी जनावरको छाला, खप्पर, हाड, नङ्ग्रा खाग, छाला, दाह्रा, बिनालगायतका अङ्ग चोरी शिकारी बढी हुने गरेको दुई वर्षमा आएका मुद्दाले देखाएको छ। जीवित कछुवा तथा कछुवाका खपटा, हाब्रेको छाला र बँदेल, मृगको सुकुटी पनि परीक्षणका लागि आइरहेको उल्लेख गर्दै कार्यकारी निर्देशक रिजालले भने, 'विभिन्न अदालतबाट परीक्षणका लागि पठाइएका यस्ता वस्तुमा हामीले नतिजा दिइसकेका छौँ।' 

गत वर्षबाट उड्ने लोखर्के, डाँफेको प्वाँख, मयूरको प्वाँखलगायतका आखेटोपहार पहिचान गर्न थालिएको छ। प्रयोगशालामा कतिपय नौलाखालका आखेटोपहार आउन थालेका छन्। तिनको परीक्षणका लागि सुधार हुँदै जानुपर्ने र यसका लागि समसामयिक तालीम, आधिकारिक नमूना व्यवस्थापन गर्न अवश्यक भएको जनाइएको छ। 

प्रयोगशालामा आर्थिक वर्ष २०७३-७४ बाट वन्यजन्तुको डिएनए परीक्षण सुरु भएको हो। पहिलो वर्षमा विभिन्न निकायबाट ५८ वटा मुद्दाका ३०2 वटा नमूना परीक्षणका लागि आएका थिए। प्रयोगशालामा २०६२-६३ बाट पितृत्व पहिचान गरेर जैविक नाता कायम गर्न डिएनए परीक्षण सुरु भएको थियो। रासस

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.