नेपालको मोबाइल ब्रोडब्यान्ड सार्कमै महँगो
काठमाडौं : नेपालको मोबाइल ब्रोडब्यान्ड सर्भिस सार्क मुलुककै महँगो रहेको पाइएको छ। सार्क मुलुकका विभिन्न टेलिफोन सेवा प्रदायक कम्पनीले तोकेको ब्रोडब्यान्ड सर्भिस मूल्यको तुलनात्मक अध्ययन गर्दा यस्तो पाइएको हो। सेवा प्रदायक कम्पनीले उनीहरूकै वेभपेजमा उपलब्ध गराएको तथ्यांकलाई यसको स्रोतका रूपमा लिइएको छ।
सेवा प्रदायक कम्पनीले ग्राहकलाई उपलब्ध गराउँदै आएको दैनिक, साप्ताहिक र मासिक योजनाको तुलनात्मक अध्ययनले सार्कका अन्य मुलुकभन्दा नेपालमा मोबाइल ब्रोडब्यान्ड सर्भिस महँगो देखाएको हो। अध्ययनले सार्क राष्ट्रमध्ये बंगलादेशको मोबाइल ब्रोडब्यान्ड सेवा सबैभन्दा सस्तो छ।
बंगलादेशको सेवा प्रदायक कम्पनी ग्रामीणफोन लिमिटेडले दैनिक ०.०३ नेपाली रुपैयाँ प्रतिएमबी, साप्ताहिक ०.०४ रुपैयाँ प्रतिएमबी र मासिक ०.१५ रुपैयाँ प्रतिएमबीका दरले मोबाइल ब्रोडब्यान्ड सेवा उपलब्ध गराउँदै आएको छ। यस्तै बैंगलादेशकै अर्को टेलिफोन सेवा प्रदायक रोबी एग्जीयटा लिमिटेडले पनि साप्ताहिक ०.०६ र मासिक ०.१२ रुपैयाँ प्रतिएमबीका दरले मोबाइले इन्टरनेट सेवा प्रदान गर्दै आएको देखिन्छ।
यस्तै दोस्रोमा श्रीलंका रहेको छ। श्रीलंकामा रहेको टेलिफोन सेवा प्रदायक कम्पनी डाइलग एग्जिएटा लिमिटेडले दैनिक ०.१० साप्ताहिक ०.१० र मासिक ०.०७ नेपाली रुपैयाँ प्रतिएमबीका दरले मोबाइले इन्टरनेट सेवा प्रदान गर्दै आएको छ। यस्तै पाकिस्तानको ज्याज कम्पनीले दैनिक ०.१९ साप्ताहिक ०.०७ र मासिक ०.०७ नेपाली रुपैयाँ प्रतिएमबीका दरले सेवा उपलब्ध गराइरहेको छ। सस्तोको चौथो नम्बरमा रहेको भुटान टेलिकम लिमिटेडले दैनिक ०.१७ साप्ताहिक ०.१८ र मासिक ०.१८ रुपैयाँ प्रतिएमबीका दरले सेवा उपलब्ध गराउँदै छ।
यस्तै भारतको टेलिफोन सेवा प्रदायक कम्पनी मध्य भोडाफोन इन्डियाले दैनिक ०.२९ साप्ताहिक ०.१६ र मासिक ०.१५ प्रतिएमबीका दरले र भारती एयरटेल लिमिटेडले मासिक ०.०३१ रुपैयाँका दरले सेवा उपलब्ध गराउँदै आएको देखिन्छ।
सार्क राष्ट्रमध्ये बंगलादेशको मोबाइल ब्रोडब्यान्ड सेवा सबैभन्दा सस्तो छ।
यस्तै सस्तो सेवा दिने सार्क राष्ट्र मध्य छटौं नम्बरमा अफगानिस्तान रहेको छ। अफगानिस्तानको टेलिफोन सेवा प्रदायक कम्पनी रोशन लिमिटेडले दैनिक ०.२२ साप्ताहिक ०.२२ र मासिक ०.३७ रुपैयाँ प्रतिएमबीका दरले सेवा दिइरहेको देखिन्छ। यो लिस्टको सातौं नम्बरमा नेपाल छ।
नेपालमा रहेको टेलिफोन सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेल प्रालिले ग्राहकलाई उपलब्ध गराइ रहेको ब्रोडब्यान्ड सर्भिसको मूल्यलाई हेर्दा नेपाल टेलिकमले दैनिक ०.३३ साप्ताहि ०.२७ र मासिक ०.९ रुपैयाँ प्रतिएमबीका दरले सेवा दिइरहेको देखिन्छ।
टेलिकम मासिक शुल्कका आधारमा भने उल्लेखित देशमा नेपाल दोस्रो नम्बरमा छ। यस्तै नेपालकै अर्को सेवा प्रदायक कम्पनी एनसेलले दैनिक ०.३३ साप्ताहिक ०.२८ र मासिक ०.२४ रुपैयाँ प्रतिएमबीका दरले सेवा दिइरहेको देखिन्छ।
सार्क राष्ट्रमध्ये तीन देशका एग्जिएटाको लगानी रहेको देखिएको छ। त्यसमध्य एनसेलको ब्रोडब्यान्ड सभिर्स एग्जिएटाका अन्य कम्पनीको तुलानमा सबैभन्दा महँगो छ। यो लिस्टको अन्तिममा माल्दिभ्स छ। माल्दिभ्सको टेलिफोन सेवा प्रदायक कम्पनी ‘ओरेडु’ ले दैनिक ०.३६ साप्ताहिक ०.४६ रुपैयाँ प्रतिएमबीका दरले सेवा उपलब्ध गराइरहेको छ।
माथि उल्लेखित सार्क राष्ट्रमध्ये नेपालको मोबाइल ब्रोडब्यान्ड सर्भिस महँगो हुनुको प्रमुख कारण सेवा प्रदायक कम्पनी युजेज अर्थात् प्रयोगलाई लिन्छन्। नेपाल टेलिकमका सहप्रवक्ता सोभन अधिकारीका अनुसार मोबाइल ब्रोडब्यान्डको मूल्य निर्धारण गर्ने यसको खपतले हो। नेपालको जनसंख्या पनि सार्कका अन्य राष्ट्रको तुलनामा कम छ। यहाँ अन्य मुलुकमा जस्तो ब्रोडब्यान्ड खपत गर्ने ठूला बहुराष्ट्रिय कम्पनी पनि छैनन्। यसले गर्दा ब्रोडब्यान्डको खपत अन्य देशको तुलनामा नेपालमा कम छ। ‘अर्कोतर्फ देशको आर्थिक स्थिति जति सुदृढ हुँदै जान्छ त्यतिनै यसको खपत पनि बढ्दै जाने हो’, अधिकारी भन्छन, ‘माथि उल्लेखित विषलाई मध्यनजर गरेर हेर्न हो भने नेपालको मोबाइल ब्रोडब्यान्ड सर्भिस तुलनात्मक रूपमा सही छ।’
नेपालको भू–वनावटले पनि यसलाई असर पारेको एनसेलले जनाएको छ। एनसेल प्रतिनिधिका अनुसार नेपालको भूवनावटले सेवा विस्तार गर्दा यसको लागत बढी पर्न जान्छ। सेवा विस्तारका लागि आवश्यक सम्पूर्ण सामग्री तिनै देशबाट खरिद गरेर ल्याउनुपर्ने हाम्रो अवस्था पनि मूल्यमा फरक बनाएको हो।
टावर निमार्णका लागि आवश्यक पर्ने फलामदेखि बाहिरी मुलुकबाट किनेर ल्याउँदा यहाँ सेवाको मूल्य अन्य देशको तुलनामा महँगो हुनु स्वाभाविक भएको एनसेलले जनाएको छ। यसको अतिरिक्त सरकारको कर प्रणालीले पनि समस्या परेको छ। एनसेलका अनुसार सरकाले यो क्षेत्रबाट विभन्नि विषयमा उठाउने गरेको करले पनि ब्रोडब्यान्डको मूल्यमा असर परेको हो।