सरकारले दम्भ देखाएको कांग्रेसको आरोप
काठमाडौं : विश्व संस्कृत सम्मेलनमा भाग लिन शनिबार साँझ क्यानडा जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालासँग प्रधानमन्त्री केपी ओलीले गरेको व्यवहारमा कांग्रेसले आपत्ति जनाएको छ । १७ औँ विश्व संस्कृत सम्मेलनमा सहभागी हुन जान लागेका उपकुलपति कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै समातेर फिर्ता गराइएको थियो ।
कांग्रेस नेताहरूले प्रधानमन्त्री ओली एकदलीय अधिनायकवादको अभ्यासमा लम्केको आरोप लगाएका छन् । गृहमन्त्री रामबहादुर थापाले भने सरकारलाई जानकारी नै नदिई विदेश जान लागेकाले सम्मेलनमा जान रोक लगाएको बताए ।
उपकुलपति कोइरालालाई संस्कृत सम्मेलनमा जान रोक लगाएपछि आइतबार बसेको राष्ट्रियसभा बैठकमा कांग्रेस सांसद बद्री पाण्डेले विरोध गर्दै सरकारसँग जवाफ मागेका थिए । कांग्रेस उपसभापति विमलेन्द्र निधि, नेता डा.शेखर कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, युवा नेता प्रदीप पौडेललगायतले उपकुलपति कोइरालासँग गरिएको व्यवहारको भत्र्सना गर्दै आइतबार सरकारको आलोचना गरेका छन् ।
उपसभापति निधिले कम्युनिस्ट सरकारले फासिस्ट व्यवहार देखाएको आरोप लगाए भने नेता डा.कोइरालाले एकदलीय निरंकुश कम्युनिस्ट शासनको अभ्यासमा ओली सरकार अघि बढेको आरोप लगाएका छन् । ‘नेकपा नेतृत्वको सरकार ज्ञानेन्द्रपथमा अघि बढेको छ’, प्रवक्ता शर्माले भने, ‘दुई तिहाइ बहुमतको प्रधानमन्त्रीले श्रीपेच लगाएका छन् ।’ युवा नेता पौडेलले दुई तिहाइको आडमा ओली सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको जस्तो दम्भ देखाएको टिप्पणी गरेका छन् ।
शनिबार साँझ विमानस्थलबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार पुर्याइएका उपकुलपति कोइरालाले आफूलाई सरकारले अपराधीजस्तो व्यवहार गरेको आरोप लगाएका छन् । काठमाडौंमा आइतबार आयोजित साक्षात्कारमा उनले नपढेको मान्छेले समेत ज्ञानको गहिराइ र पवित्रता बुझ्ने भए पनि प्रधानमन्त्री ओलीले संगत, हुर्काइ र संस्कारका कारण ज्ञानको गहिराइ नबुझेर आफूलाई पक्राउ गरेको आरोप लगाए । उनले भने, ‘१४ वर्ष जेल परेको मान्छे प्रजातान्त्रिक हुनुहुन्छ होला भन्ने लागेको थियो तर उहाँ त सामन्ती हुनुहुँदोरहेछ ।’
कोइरालाले यसअघि पटक पटक त्यही विधि र प्रक्रिया अपनाएर विभिन्न कार्यक्रममा जाँदा कुनै अवरोध नभएको बताए । उनले भने, ‘यस पटक मैले त्यही विधि र प्रक्रिया अपनाएर बिदाका लागि दिएको निवेदन शिक्षा मन्त्रालयमा ४२४ नम्बरमा दर्ता छ । तर किन रोकियो, मेरो बिदाको निवेदनको फाइल किन लुकाइयो ? ’ उनले आफूले सबै कानुनी प्रक्रिया पूरा गरेको बताए । सरकारले नै आफूलाई रोक्न षड्यन्त्र गरेको उनको आरोप छ । उनले आरोप लगाए, ‘सरकारले अधिनायकवाद लाद्न खोज्यो ।’
प्रतिक्रिया दिनुहोस !