सात वर्षदेखि स्वास्थ्य केन्द्र अलपत्र
नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकामा पर्ने प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरको निर्माणाधीन भवन सात वर्षदेखि अलपत्र परेको छ ।
१५ शैयाको केन्द्रको तीनतले भवन बनाउने ठेक्का लिएको सुरती जागृति जेभी अछामले १८ महिनामा सम्पन्न गर्ने सम्झौता गरे पनि निर्माण पूरा नगर्दा भवन अलपत्र परेको हो । भवन अलपत्र भएको बारे गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक अहमद साहले स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई पनि ध्यानाकर्षण गराइसकेका छन् ।
नेपालगन्जमा आएका सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई र सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई भेटेर गाउँपालिका अध्यक्ष साहले स्वास्थ्य भवन पूरा गर्न आग्रह गरेका थिए । उनी भन्छन्, ‘सबै मन्त्रीलाई मैले जानकारी गराएँ । सबै हुन्छ मात्र भन्छन् । अझैसम्म काम भएको छैन ।’
तीन करोड ४० लाख रुपैयाँमा ठेक्का लिए पनि पाँच सात महिनामा एक पटक मात्र काम गर्न आउने गरेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक मोइन खाँले बताए । उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘काम गरे जस्तो पनि भाछ । नगरे जस्तो पनि छ । छत ढलान भइसकेको छ । अब फिनिसिङ गर्न मात्र बाँकी छ ।’
भवनको अभावमा सेवा प्रवाहमा समस्या भइरहेको छ । सदरमुकाम नेपालगन्जदेखि ४० किलोमिटर पूर्वदक्षिणमा रहेको यो स्वास्थ्य संस्था आफ्नै भवन नहुँदा स्थापनाकालदेखि (२०५०) भाडाको भवनमा सञ्चालन भइरहेको छ । ‘बाँकेको कर्णाली’ उपनाम पाएको यो बघौडा क्षेत्रको स्वास्थ्य संस्थामा एमबीबीएस डाक्टरको दरबन्दी भए पनि कोही पनि तीन महिनाभन्दा लामो समयसम्म बसेका थिएनन् । स्वास्थ्य संयोजक खाँ भन्छन्, ‘साढे दुई महिनादेखि डाक्टर नियमित रूपमा आउन थालेका छन् । दैनिक ८० ÷९० जनाको उपचार भइरहेको छ ।
ठेक्का लिएर भवन सम्पन्न नगर्ने यो निर्माण कम्पनीविरुद्ध जिल्ला प्रशासन कार्यालय बाँकेले पनि कारबाही सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जिल्ला प्रहरी कार्यालयको सहयोगमा ठेकेदारलाई झिकाउन पत्राचार गरेको बताए ।
मेडिकल अधिकृत (एमबीबीएस) को दरबन्दी भए पनि विकट भएका कारण चिकित्सक जान नमान्दा स्वास्थ्य केन्द्र लामो समय चिकित्सकविहीन पनि हुने गरेको थियो । स्वास्थ्य संस्थाको भवन नभएका कारण डाक्टरलाई बस्ने व्यवस्था आफैं खटेर गरेको गाउँपालिका अध्यक्ष साह बताउँछन् । उनले भने, ‘डाक्टरको दरबन्दी त छ तर एक दिन गाउँ बसे १० दिन नेपालगन्ज बस्छन् । कोही पनि नियमित बस्न मान्दैनन् ।’ भरपर्दो स्वास्थ्य उपचारको अभावमा यहाँका बासिन्दा सदरमुकाम नेपालगन्जभन्दा भारततर्फ उपचारमा जाने गरेका छन् । बर्खायाममा राप्ती नदीमा बाढी आउँदा त नरैनापुर गाउँपालिका जिल्ला सदरमुकामबाट विच्छेद नै हुन्छ ।
एक साताभित्रै गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने जनाएको छ । एम्बुलेन्स भएपछि भने नेपालगन्जका अस्पतालमा बिरामी लैजान सहज हुनेछ ।