नयाँ धान आए, पुराना हराए
बेंसीसहर : लमजुङको मस्र्याङ्दी गाउँपालिका–९ का गौरीकान्त गौतमले पाँच वर्षयता रैथाने जातको धान खेती गर्न छाडेका छन् । उनले पहिले रोप्ने एक्ले, मन्सारा, सुनौलो सुगन्धलगायत हुन् । ‘पहिले पहिले घर गाउँकै धान रोपिन्थ्यो, यसमा दुःख बढी, उत्पादन कम भयो’, गौतमले भने, ‘अहिले उन्नततर्फ लागियो ।’ उनका अनुसार छिटो फल्ने र धेरै उत्पादन दिने भएपछि किसानहरू नयाँ नयाँ जाततर्फ आकर्षित भएका छन् ।
बेंसीसहर नगरपालिका–६ गोताङथोककी दुर्गा बोहोराले पनि रैथाने छोडेर उन्नत तथा वर्णशंकर जातको धान खेती गर्दै आएकी छन् । ‘गाउँमा सबैले उन्नत जातकै धान रोप्छन’, बोहोराले भनिन्, ‘पुरानो धानको त बीउ नै पाइन छाड्यो ।’ उनका अनुसार पुरानो भनेको अनदी मात्रै छ । ‘पहिला पहिला पानी लाग्ने र नलाग्ने ठाउँमा फरक फरक धान लगाइन्थ्यो । एक्ले, मनसुली, मन्सरा, आँगालगायत थुप्रै धान थिए’, भोर्लेटारका किसान मोहनहरि पौडेलले भने, ‘आजभोलि नयाँ आए पुराना हराए ।’
राइनास नगरपालिकास्थित धमिलीकुवाका किसान कृष्णराज पाण्डेले राइनासटारका फाँटभरि उन्नत तथा वर्णशंकर जातका धान खेती गरिएको बताए । ‘यहाँ त नहर चल्छ । दुई खेती धान हुने भएकाले सबैले हाइब्रिड लगाउँछन्’, पाण्डेले भने । खानभन्दा बेच्न खेती गरिएकाले व्यावसायिक किसानहरू हाइब्रिड जातका धान रोप्न तल्लीन भएको उनको भनाइ छ । किसानहरूले रामधान, पृथ्वी, तारालगायत धान रोप्ने गरेको उनले बताए ।
कृषि विकास कार्यालयका अनुसार लमजुङमा १६ हजार ४ सय ६३ हेक्टरमा धानखेती हुँदै आएको छ । १५ हजार ५ सय ५२ हेक्टरमा बर्खे धान हुन्छ । ९० प्रतिशतभन्दा बढीमा उन्नत जातको धान खेती हुँदै आएको वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले बताए । कार्यालयको तथ्यांकअनुसार उन्नत जातका रामधान, सावित्री, लोकतन्त्र, हर्दिनाथ, सुनौलो सुगन्धा, खुमल ४, सुक्खा १, २, ३, ४ जातका धानखेती गरिएको छ । वर्णशंकरमा यूएस ३१२, गोरखनाथ, चाँदनी र पृथ्वी जातका धानखेती गर्ने गरिएको छ । यस्तै स्थानीय जातमा एक्ले, मन्सरा, मधेसे, अनदी छन् ।
कृषि विकास कार्यालयको साथै स्थानीय तहमा रहेका कृषि शाखाले ५० देखि ७५ प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउ वितरण गर्ने गरेका छन् । यसबाहेक किसान आफैंले पनि बजारबाट उन्नत जातका धानको बीउ किनेर लैजाने गरेका छन् । कृषि कार्यालयले रैथाने धान जोगाउने कार्यक्रम गर्न सकेको छैन् । ‘यही कार्यक्रम गर्ने भनेर बजेट छैन । किसानले पनि बढी उत्पादन खोज्छन् ।’ एक कृषि प्राविधिकले भने ।
मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरामा भने रैथाने जातका धान तथा अन्य बाली जोगाउने प्रयास गरिएको छ । जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड) पोखराले घनपोखरामा रैथाने जातका धान बटुलेर परीक्षण थालेको हो । स्थानीय बाली परियोजनाअन्तर्गत ११ वटा रैथाने बीउ राखेर परीक्षण गरिएको घनपोखरा क्षेत्र परियोजना अधिकृत रीता गुरुङले बताइन् ।
यस क्षेत्रमा संकलन गरिएका रैथाने बीउलाई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको जिन बैंकमा पठाइएको छ । उनले हुम्ला र जुम्लाका २÷२ वटा र दोलाखाको ४ वटा रैथाने जातको धान खेतीसमेत परीक्षण गरिएको बताइन् ।