मनाङ खोलाले बगाउँदा दुइ युवा बेपत्ता
बेसीशहर ः हिमाली जिल्ला मनाङको फू खोलाले बगाउँदा दुइ युवा बेपत्ता भएका छन् । नार्पाभूमि गाउँपालिका–४ फू गाउँबाट क्याङ आउँदै गरेका २ जना फू खोलाले बगाउँदा बेपत्ता भएका हुन् ।
रोल्पाको थबाङ गाउँपालिका–३ का १९ वर्षीय शीतल पुनमगर र २० वर्षीय रमेश बुढामगरलाई खोलाले बगाएको मनाङ प्रहरीले जनाएको छ । उनीहरु सडक निर्माणको काम गर्न मनाङको फू गाउँ पुगेका थिए । फू गाउँको बाटो निर्माण गरि फर्कने क्रममा खोला तर्दा शीतल चिप्लिएर लडेका थिए । उनलाई बचाउन खोज्दा रमेशलाई पनि खोलाले बगाएको प्रहरीले जनाएको छ ।
प्रहरी निरिक्षक विनोद श्रेष्ठका अनुसार उनीहरुलाई मंगलबार खोलाले बगाएको हो । प्रहरीलेले बुधबार मात्र जानकारी पाएको उनले बताए । खबर पाउनासाथ खोजीकार्य जारी राखिएको उनले जानकारी दिए ।
घटनास्थल फू गाउँबाट करीब २ घण्टा र मनाङको चामेबाट करीब २ दिन टाढा पर्छ । बेपत्ताको खोजीका लागि प्रहरी चौकी मेताबाट प्रहरी खटाइएको छ । चौकीबाट घटनास्थल पुग्न चार घण्टाको दुरी पार गर्नुपर्छ ।