रुदी हाइड्रोमा पहिरोले क्षति

रुदी हाइड्रोमा पहिरोले क्षति

बेंसीसहर : लगातार परेको वर्षाले लमजुङ र कास्की सीमामा बग्ने रुदी खोलामा निर्माणाधीन ८.८ मेगावाटको जलविद्युत् आयोजनामा क्षति पुर्‍याउनुका साथै काममा अवरोध पुर्‍याएको छ।

वर्षासँगैको बाढी पहिरोले आयोजनाको निर्माण भइसकेका संरचना र सडकमा क्षति पुर्‍याएको हो। लगातारको वर्षा र पहिरोका कारण चालु आर्थिक वर्षमै सक्ने भनिएको आयोजना २ महिना ढिला हुने भएको छ। आयोजनाका डेपुटी प्रोजेक्ट म्यानेजर सरोज भट्टराईका अनुसार आयोजनाको परीक्षण उत्पादन भदौ अन्तिममा हुनेछ। ‘दु्रत गतिमा काम भइरहेको थियो वैशाखदेखिको वर्षा र त्यसपछिको पहिरोले अवरोध गर्‍यो’, भट्टराईले भने, ‘असारमा काम नसकिने भयो। अब भदौसम्म पुग्छ।’

भट्टराईका अनुसार पहिरोले पेनस्टक पाइप कुच्चाएको छ। सो ठाउँमा पेनस्टक फेर्नुका साथै दोहोर्‍याएर काम गर्नुपर्ने उनले बताए। यस्तै सर्ज पाइपमा पहिरोले गर्दा एंकर ब्लकको ढलान हुन सकेको छैन। पहिरोले सडक अवरुद्ध बनाउँदा आवश्यक निर्माण सामग्री ढुवानीमा समेत समस्या परेको उनले बताए। ‘वर्षा र बाढीपहिरोले आयोजनाको निर्माण कार्य राम्रोसँग अघि बढ्न सकेको छैन। बन्द नै नभए पनि अवरोध भइरहेको छ’, भट्टराईले भने।

डेपुटी म्यानेजर भट्टराईका अनुसार आयोजनाको काम लगभग सकिसकेको छ। इलेक्ट्रोमेकानिकलअन्तर्गत टर्बाइन र जेनेरेटरको जडान, हेडवक्र्सअन्तर्गत सिभिलको काम, हेडरेस पाइप जडान, ट्रान्समिसन लाइनको काम पनि सकिएको छ। हाइड्रोमेकालिकलतर्फ गेट राख्ने काम भइरहेको उनले बताए।

पेनस्टकमा २ वटा एंकर ब्लक ढलानको काम बाँकी छ। सर्ज पाइपमा २ वटा एंकर ब्लक ढलानको काम वर्षाका कारण प्रभावित भएको उनले बताए। ‘अबको ४५ दिनभित्र सबै काम सक्ने योजनामा छौं। भदौ अन्तिममा परीक्षण उत्पादनपछि केन्द्रीय प्रसारण लाइनमा बिजुली जोडिनेछ’, उनले भने।

प्रवद्र्धक विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको सो आयोजनामा सानिमा बैंकको नेतृत्वमा अन्य बैंकले ७० प्रतिशत लगानी छ। प्रवद्र्धकको ३० प्रतिशत लगानी रहनेछ। लमजुङको क्व्होंलासोंथर गाउँपालिका ५ सिङ्दीगाउँ र कास्कीको मादी गाउँपालिका ८ सिङ्दीबेंसीमा बाँध निर्माण गरिएको सो आयोजनामा ६ किलोमिटर लामो पेनस्टक पाइपमार्फत पानी ल्याएर मादी–९ बालुवाबेंसीमा निर्माण गरिएको पावरहाउसबाट विद्युत् निकालिनेछ। आयोजनाको हाइड्रोमेकानिकलतर्फ नर्थ हाइड्रो एन्ड इन्जिनियरिङ, सिभिलतर्फ हाई हिमालय हाइड्रो कन्सट्रक्सन प्रालि र इलेक्ट्रोमेकानिकलतर्फ तोसिबा प्लान्ट सिस्टम एन्ड सर्भिस कर्पोरेसनले निर्माण गरिरहेको छ। रुदी ‘ए’ जलविद्युत्को ०६९ माघ २८ गते पीपीए (विद्युत् खरिदबिक्री सम्झौता) भएको थियो।

हिउँदको समय ८ रुपैयाँ ४० पैसा र बर्खायाममा ४ रुपैयाँ ८० पैसामा पीपीए सम्झौता भएको छ। आयोजना १ अर्ब ३६ करोड २० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको हो। ०७४ असार मसान्तभित्र सक्ने भनिएकोमा ०७३ को असारमै बाढीपहिरोले निर्माणाधीन आयोजनामा क्षति पुर्‍याएको थियो। त्यसअघि भूकम्प र नाकाबन्दी साथै पहिरोले आयोजनाको निर्माणकार्य प्रभावित बनेको थियो। स्थानीय तह साथै प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावले आयोजनाको निर्माण कार्यमा ढिलाइ भएको आयोजनाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.