रोल्पा रिसाएको छ
सशस्त्र संघर्षको उद्गमस्थल रोल्पा युद्धपछि जीवनस्तरमा आमूल परिवर्तन महसुस गर्न नपाउँदा असन्तुष्ट छ
उसबेला रोल्पा प्रवेश गर्न ‘कमरेड’हरूको अनुमति चाहिन्थ्यो। अब रोल्पा प्रवेश गर्न कसैको ‘अनुमति’ चाहिँदैन। नेपालमा कुनै बेला चरम युद्ध पनि भएको थियो र हजारौं मानिस मारिएका थिए भन्ने कुरा सहरले झन्डैझन्डै बिर्सिसक्यो। तर रोल्पाका ढुंगामा माओवादी ‘जनयुद्ध’ का बेला नीला, राता रङले लेखिएका राज्यविरुद्धका नारा पढेपछि युद्धको समय फेरि ताजा भएर आउँछ। जस्तो- सुनछहरी गाउँपालिकाको पोबाङका ढुंगाहरूमा ‘ने.क.पा. माओवादी जिन्दावाद’, ‘प्रचण्डपथ जिन्दावाद’, ‘थबाङ रोल्पा सबैलाई स्वागत गर्दछ’, ‘संसारका मजदुर एक हौं’ भन्ने अक्षर प्रशस्तै देख्न सकिन्छ।
१० वर्ष चलेको युद्धका अवशेष रोल्पामा अहिले पनि बग्रेल्ती भेटिन्छन्। ‘जनयुद्ध’ नचलेको भए रोल्पा यति चर्चित पनि हुँदैनथ्यो। साहित्य र नेपालको राजनीतिमा रोल्पाको बिम्ब यति शक्तिशाली भएर उपस्थित पनि हुने थिएन। नेपालले लामो संक्रमणबाट मुक्ति खोजिरहेको समयमा केही प्रश्न रोल्पामा झन् जागृत भएर सुनिए- रोल्पाबाटै राजनीति गरेर सत्तामा पुगेका नेतालाई रोल्पाका मानिसले कसरी हेर्छन् ? ‘जनयुद्ध’ कालदेखि ‘गणतन्त्रकाल’ सम्म आइपुग्दा रोल्पामा खासखास परिर्वतन कस्ता देखिए ? रोल्पामा विद्रोहको झिल्को अझै बाँकी छ ? माओवादी र एमाले ‘मर्ज’ भएपछि बनेको ‘विशाल’ पार्टीबाट रोल्पाका मानिस सन्तुष्ट छन् कि छैनन् ? युद्धले परिर्वतनको आशा त बाँड्यो। तर ‘युद्ध’ को थालनी गर्ने महत्वपूर्ण केन्द्र रोल्पा वर्तमान समयको आँखामा कस्तो देखिन्छ ?
हैरान र विरक्त विम्ब
छापामारले छोडेपछिको रोल्पाको हिले सडकमा दुई वर्षका तिम्ल्याहा नानीहरू काँधमा बोकेर हिँडिरहेकी थिइन्- ललिता विष्ट, ३४। उनका अनुहार र आँखामा बिछट्टै पीडा देखिन्थ्यो। लाग्यो, यो पीडा र थकानले उनलाई ‘जनयुद्ध’ देखि बरोबर पछ्याइरहेको छ।
गएको शनिबार सुनछहरी गाउँपालिकाको केन्द्र पोबाङमा आयोजित ‘एकदिने रोल्पा कला उत्सव’ मा सहभागी हुन ठनबाङबाट दुई घन्टा टाढाको हिले बाटो भएर उनी कार्यक्रम स्थलतिर लम्किरहेकी थिइन्।
‘यहाँ आउने पत्रकारहेरूले पैसा दिन्छन् भन्ने सुनेर आएकी’, ललिताले भनिन्, ‘सातजना छोराछोरी छन्, खुवाउन, पाल्न हैरान छ।’ उनलाई एक दिनअघि कसैले सुनाइदिएको थियो- कार्यक्रममा गए पैसा पाइन्छ।
कुनै चरनमा फुलेका रंगीचंगी फूल झैं सजिएको छ उनको अनुहार। तर मलिन छ अनुहार। हरियो धोती, नीलो पटुका, गुलाबी रङको पछ्यौरा टाउकोमा बाँधेकी थिइन्। पहेंलो रङको पोते घाँटीमा झुन्डिएको थियो। निधारमा रातो टीका र नाकमा बुलाकी लगाएकी उनी घन्टौंको हिँडाइपछि फतक्कै गलेकी थिइन्। ललिता भुईंमा टुसुक्क बस्नेबित्तिकै दुई-दुई वर्षका रातो टिर्सट र नीलो ट्राउजर लगाएका दुई छोरा दूध खान उनको छातीमा टाँस्सिए। अर्को छोरा आमाको छातीमा टाँस्सिने दुईलाई हेर्दै थिए। छोराहरू छातीमा झुन्डिएपछि फतक्कै गलेकी ललिताको मुहारमा खुसी दौडिएको थियो। भर्खरै चलेको हावाले पसिनाले लुछुप्पै भिजेको उनको ज्यान ओभानो बनाइदियो।
उनले तीन छोराको नाम राखेकी छिन्- ब्रह्मा, विष्णु र महेश्वर। हुन त उनी भर्खरै ३४ वर्ष पुगिन्। तर उनका सात सन्तान छन्। चार छोरीपछि तिम्ल्याहा छोरा। तिम्ल्याहा छोरा जन्मिएपछि उनको दैनिकी पूरै फेरियो। दिनैभर छोराहरूको स्याहारमा व्यस्त हुनुपर्यो।
सुनछहरी गाउँपालिका ठनबाङकी किसान हुन् ललिता। ललिताका श्रीमान् पनि अहिले किसान हुन्। युद्धका बेला श्रीमान्लाई माओवादीले अपहरण गरेको थियो। अपहरणमुक्त भएर घर फर्केका बेला सेनाले लिवाङ लिएर गयो। सेनाबाट पनि फुत्केपछि उनी मजदुरी गर्न भारत पुगे। श्रीमान् मजदुरी गर्न गए पनि उनले कमाएको पैसाले सात सन्तानसहितको परिवारलाई खान पुग्दैन।
युद्धपछि बालविवाह, जाँडरक्सी र छुवाछूत ब्युँतिए। नियन्त्रण गर्न कोही अघि सरेका छैनन्। राम्रा परिवर्तन सबै उल्टिए।
राजनीतिक परिवर्तनपछि पनि आम मान्छेको जीवनस्तर उस्तै छ भन्ने उदाहरण हुन् ललिता। राजनीतिक परिवर्तनबाट उनी आशावादी छैनन् भन्ने उनको दिक्दारीमा भेटिन्थ्यो, ‘अब मैले खेतीकिसानी गरेर के कमाउने, बच्चालाई के खुवाउने ? हेर्नुस्न, दुःखी, गरिबलाई जो आए पनि केही हुँदैन। न माओवादीले केही गरे, न अरूले। हामी दुःखीलाई सधैं उस्तै।’
दुःख, गरिबी र द्वन्द्वले थिलथिलो भएका ललिताजस्ता रोल्पाका महिला चौरभरि छरिएका थिए।
युद्धोत्तर बिम्ब
वरिपरिका पहाडबाट बहेर सोझै आइपुगेको हावा पोबाङ (सुनछहरी गाउँपालिका केन्द्र) को अति सानो बजारमा ठोक्किन्छ। त्यहाँ हावा र पानी एकसाथ मिसिन्छन्। सल्लीपिरको माला लगाएका पाहुनाहरू (रोल्पा नगरपालिकाका मेयर, सुनछहरी गाउँपालिका अध्यक्ष, लेखक, विश्लेषक इत्यादि) यताउता हल्लिँदै, मर्किंदै ‘रोल्पादेखि रोल्पासम्म’ नामक कार्यक्रममा बहस गरिरहेका छन्। जनयुद्धमा प्रत्यक्ष संलग्न (लडाइँमा एउटा आँखा गुमाएका, युद्धमै दुईजना दिदी पनि गुमाएका) सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुन भन्दै थिए, ‘मलाई त सबै घटना सपनाजस्ता लाग्छन्। सपना हो कि विपनाजस्तो पो भयो। जीवनमा कहिल्यै पनि नदेखेको घटना देख्नुपर्यो। त्यसबेला धेरैथोक भए।’
यस्तै ‘धेरैथोक’ को कथाहरूको संकलन बोकेर बसेको छ रोल्पा। त्यसो त कथाहरू सिर्जना हुनुभन्दा पहिला रोल्पा देशको नजरमै थिएन। ‘उसबेला रोल्पालीलाई डोल्पाली भन्ने गरिन्थ्यो। रोल्पा भनेर सरुवा भएको कर्मचारी डोल्पा पुग्थ्यो। किनभने रोल्पा सिनमै थिएन’, आशबहादुर भन्छन्।
समय फेरियो। रोल्पा सिनमा आउन थाल्यो। ‘जनयुद्ध’ र ‘रोल्पा’ पर्याय बने। जनयुद्धले चिनाएको अर्को गाउँ हो- जेलबाङ।
जिल्लाकै दुर्गम मानिने सुनछहरी गाउँपालिकामा पर्छ, जेलबाङ। साबिकको जेलबाङ गाविसबाट मात्रै ७३ जनाले ज्यान गुमाएका छन्, विद्रोही पक्षबाट १० र राज्य पक्षबाट ६३। ‘जनयुद्ध’ कालमा रोल्पाबाट ९६९ जनाले ज्यान गुमाएका छन् भने ३३ जना अझै बेपत्ता छन्। ३२३ महिलाले श्रीमान् गुमाएका छन्। ८६ बालबालिका टुहुरा छन्।
‘जे व्यवस्था आए पनि हाम्रो पीडामा मलम लागेको छैन’, पत्रकार, विश्लेषक खेम बुढा भन्दै थिए।
सशस्त्र संघर्षमा रोल्पाले भोगेको पीडा अन्य जिल्लाको भन्दा कहालीलाग्दो छ। ०५२ फागुन १ गतेबाट सुरु सशस्त्र द्वन्द्वको उद्गम नै थियो आखिर। यो युद्धको जग भने २०१० को दशकमै बनाइएको थियो।
सत्तामा पुगेपछि रोल्पालाई फर्केर पनि नहेरेकोमा मानिस निकै रिसाएका छन्। विद्रोहको आगो निभिसकेको छैन।
खगुलाल गुरुङ र मोहनविक्रम सिंह थबाङ पुगेर २०१३ सालमै कम्युनिस्ट पार्टी गठन गरे। त्यसको परिणाम ०३६ को जनमतसंग्रहमा देखियो। सिंगो थबाङ नै पञ्चायतविरुद्ध उभियो। प्रक्रियास्वरूप सरकारले थबाङमा मेजर सैनिक अपरेसन गर्यो। थबाङ पञ्चायतविरोधी किल्लाका रूपमा चर्चामा मात्र रह्यो।
‘त्यसपछि थबाङ क्रान्तिको बिम्ब भएर साहित्यका विभिन्न विधामा उनिन थाल्यो’, रोल्पाकै लेखक नवीन विभास भन्छन्, ‘थबाङ कहिले गीत÷कविता भएर आयो त कहिले कथा भएर। माओवादीले नेपालमा जनयुद्ध थालेपछि भने रोल्पाका धेरै गाउँ ‘नयाँ थबाङ’ भएर उदाए।’
थबाङसहित सिंगो रोल्पालाई नै माओवादीले आफ्नो आधार क्षेत्र बनायो। औपचारिक रूपमा माओवादीले ‘जनयुद्ध’ थाल्नुअघि नै रोल्पामा माओवादी-सरकार झडप सुरु भइसकेका थिए। सरकारले माओवादीविरुद्ध चलाएका किलोसेरा-टु र रोमियो अपरेसन रोल्पालीले अहिले पनि भुलेका छैनन्।
लेफ्ट मुभमेन्टका लेखकले त्यही बिम्बलाई साहित्यमा उतारे। युद्धपछि रोल्पालाई नेपाली साहित्यमा युद्धको बिम्ब यसैकारण बनाइयो। अहिले परिवर्तनका छिटफुट रङहरू रोल्पामा देखिन थालेका छन्।
विगतको त्रासदी
हालसम्म बिजुली नपुगेको पोबाङ ठूला डा“डा र पहराबीच कतै हराएजस्तो लाग्छ। देशले त पूरै का“चुली फेरिसक्यो भन्ने सुनिन्छ। रेल र समृद्धिका भाषण चलिरहेकै छन् (कम्तीमा नेताको भाषणमा)। तर रोल्पाजस्ता विकट गाउँ अझै अ“ध्यारोमै छन््। अब सहर पसेको, सत्तामा पुगेको माओवादीलाई रोल्पा, अझ विकट पोबाङजस्ता गाउँको दुःख र अभावबारे टाउको दुखाएर के फाइदा ? सत्तामा पुगेका नेताले बिर्से पनि रोल्पाले भने विगत त्रासदी बिर्सिसकेको छैन।
कवि विष्णु सन्यास सम्झिन्छन्, ‘उसबेला मरेका मानिसको अन्तिम संस्कार गर्न पनि डराउँथे मान्छेहरू। किरिया बसेका मानिसलाई माओवादीले मार्छन् रे भन्ने सुनेकाले मानिसहरू डराइडराई किरिया बस्थे।’
रोल्पामा अवस्था कस्तोसम्म भयो भने राति वास बस्न पनि दसतिर ठाउँ परिर्वतन गर्नुपथ्र्यो। ‘मानिसहरू रातको समयमा बढी त्रसित हुन्थे, सुत्नु कि जागै बस्नु भन्ने हुन्थ्यो। स्वंयमलाई, केटाकेटीलाई, श्रीमतीलाई केही हुने हो कि भनी त्रसित हुन्थे पुरुषहरू’, टाढाटाढाका अत्यासलाग्दा भीर देखाउँदै सन्यास भन्छन्, ‘असारको समयमा पानी झमझम परिरहेको हुन्थ्यो। सेना आउने खबर पाएपछि सबै गाउँले वास खोज्दै जंगलतिर दौडन्थ्यौैं। महिला बालबच्चा च्यापेरै रूख चढ्थे र अनिँदै रात बिताउँथे। आकाशमा हेलिकप्टर उडेको देखियो भने मानिसहरू खोल्सा वा डाँडातिर कुद्थे र रुखले छेलिएर बस्थे।’
यी सबै सुन्दा लाग्छ, कवि सन्यासका आँखामा युद्धका स्मृतिहरू ताजा भएर आइरहेका थिए।
रोल्पाबाटै युद्ध किन ?
रोल्पाबाट युद्ध थालिए पनि माओवादी पार्टीको नेतृत्वमा बाहिरी जिल्लाका नेता थिए। तर के रोल्पाको बिम्ब ‘युद्ध’ मात्रै हो ? विद्रोहको बिम्बले मात्रै यहाँको बिम्ब बोल्दैन भन्छन् खेम बुढा। राजनीतिक सचेतताका साथ युद्ध हुने भए प्रचण्डको सहर चितवन वा बाबुरामको गाउँ गोरखाबाटै युद्ध थालनी हुन्थ्यो। खेम भन्छन्, ‘बाबुरामले पीएचडी गर्दै गर्दा यहाँका बाआमा बारीमा भोकै काम गर्दै थिए।’
बुढाको एउटै मत छ- मगर भूमि भएरै यहाँबाट युद्ध सहज भयो। ‘मगरमा युनिटी हुन्छ। रोल्पामा ४४ प्रतिशत मगर छन्। माओवादी नेतृत्व पनि यहाँ केन्द्रित भयो। एक ढिक्का भएको समुदायलाई परिचालन गर्न पनि सजिलो भयो।’
‘उसबेला बर्बादीको अवस्था थियो। कलम उठाउनुपर्ने विद्यार्थीका हात बन्दुकको ट्रिगरमा पुगे’, पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह विक भन्छन्, ‘युद्ध नभएको भए रोल्पा चिनिँदैनथ्यो। थुपै्र पीडा छ। थुप्रै सन्तान मरेका छन् यहाँका। मगरले मात्रै युद्ध गर्यौं भनेर हुँदैन। थुपै्र दलितले पनि रगत बगाएका छन् यहाँ।’
‘जनयुद्ध’ ले के दियो ?
रोल्पाको आँखाबाट हेर्दा सत्तामा सधैं ‘रोल्पाली’ छन्। उपराष्ट्रपति नन्दकिशोर पुन, पूर्वसभामुख ओनसरी घर्ती, सभामुख कृष्णबहादुर महरा, ऊर्जामन्त्री वर्षमान पुन रोल्पाकै हुन्। ‘परिवर्तनले केही नेतालाई सत्तारोहण गरायो। युद्ध लड्ने यहाँका मानिस जस्ताको त्यस्तै छन्’, खेम बुढा भन्छन्, ‘हामी हिजो पनि मकैको ढिँडो खान्थ्यौं, अहिले पनि त्यही खान्छौं।’
नेताहरू सत्तामा पुग्नुले पोबाङवासी खासै खुसी छैनन्। जीवनमा कुनै परिर्वतन नहुनुले उनीहरूलाई खुब चिमोटेको छ। अहिले सत्तामा बसेका नेताप्रति रोल्पाले गर्व गर्न सक्दैन।
‘रोल्पाले पाउनुभन्दा धेरै गुमाएको छ। व्यवस्था परिर्वतनमा हामीले ठूलो बलिदान गर्यौं। नेपाल यो ठाउँमा आउनुमा रोल्पाको ठूलो भूमिका छ’, आशबहादुर भन्छन्, ‘तर अहिले निराशा छ रोल्पामा।’
पार्टी ‘मर्ज’ भएकोमा आफ्ना सपना अलपत्र पारेर पार्टी र नेताहरूले सत्तातिर मात्रै आँखा सोझ्याएकोमा यहाँका माओवादी कार्यकर्ता खिन्न छन्।
सडक सञ्जाल
‘आफ्नो आधार क्षेत्रमा माओवादीले केही राम्रो काम गरेका छैनन् त ? ’द्वन्द्वकालमा लिवाङ पुगेका बेला लेखक गोविन्द वर्तमानले रोल्पा जिल्ला पञ्चायतका पूर्वसभापति पृथ्वीप्रसाद रोकामगरसँग सोधे। मगरले भनेका रहेछन्, ‘तिनीहरूले गोरेटो बाटो र सडक बनाएका छन् तर बाटोघाटो आफैंलाई चाहिने भएकाले बनाएका हुन्। यातायात सुविधा नभएका गरिब गाउँलेहरूको मायाले बनाएका होइनन् (गोविन्द वर्तमान÷सोह्र साँझहरू)।’
युद्धको चरम चपेटामा परेको रोल्पामा युद्धले ल्याएको खास परिर्वतन सडक विस्तार हो भन्छन् पोबाङवासी।
माओवादीले युद्धकालमा दक्षिणी रोल्पाको नुवागाउँ र उत्तरी रोल्पाको थबाङ (९५ किलोमिटर) जोड्ने सडक ‘सहिदमार्ग’ नाम दिएर खन्न सुरु गरेको थियो। यसैगरी गाउँगाउँमा पनि सडक खन्ने अभियान चलाएको थियो।
‘भौतिक विकास निकै राम्ररी भयो’, आशबहादुर भन्छन्, ‘दुर्गम गाउँहरूमा बाटो खन्ने काम हामीले युद्धकालमा गर्यौं।’
त्यसबेला अँध्यारा बस्तीलाई सडक सन्जालले जोड्यो। युद्धकालमा ३६ माध्यमिक विद्यालय थिए, अहिले ६५ पुग्यो। सडक सञ्जालसँगै यहाँ शिक्षाको पहुँचमा पनि विस्तार भइरहेको छ। ‘युद्धको सकारात्मक र खास परिर्वतन सडक सञ्जाल विस्तार र शिक्षामा पहुँच हो’, पुन भन्छन्।
सांस्कृतिक परिर्वतन
जनसरकार गठन गरेको माओवादीले गाउँमा ‘थुप्रै’ परिर्वतन गरे। ती परिवर्तन सकारात्मक थिए भन्छन्, सचेत रोल्पाली। तर अहिले अवस्था नितान्त भिन्न छ। सांस्कृतिक परिर्वतनका सबै बिम्ब भत्किएका छन्। यहाँ तीन मुख्य परिर्वतनको कुरा गरिन्छ- बालविवाहविरुद्ध अभियान, मदिरा नियन्त्रण र छुवाछूतविरुद्ध अभियान।
युद्ध प्रभावित क्षेत्रमा पहिले सुरक्षाफौजले बलात्कार गर्ने वा माओवादीले युद्धमा लैजाने भयले केटीहरूको विवाह बाल्यकालमै गरिन्थ्यो। माओवादी युद्धले ल्याएको सकारात्मक परिर्वतन बालविवाहमा रोक थियो। तर अहिले अवस्था ठीक उल्टो छ। ‘युद्धपछि बालविवाह ब्युँतियो। नियन्त्रण गर्न कोही अघि सरेका छैनन्’, खेम बुढा भन्छन्।
जाँडरक्सी नियन्त्रण पनि दिगो हुन सकेन। अहिले त्यसविरुद्ध कुनै पनि चेतावनी जारी गरिँदैन। बुढा भन्छन्, ‘युद्धको बेला जाँडरक्सी ब्यान्ड थियो तर अहिले थुप्रै व्यापारीसँग रक्सीको डिलर छ।’
जातका आधारमा हुने छुवाछूत द्वन्द्वको समयमा केही कम भएको थियो। दलितमा पनि पूर्ण आत्मविश्वास पलाएको थियो। ‘तर अहिले फेरि अवस्था उल्टो भइदियो। माओवादी जनयुद्धमा दलितलाई अरू जातिको घर पस्न कुनै समस्या थिएन तर अहिले फेरि समस्या पुरानै छ’, बुढा भन्छन्, ‘राम्रा परिवर्तन सबै उल्टिए।’
युद्धका बेला अलिअलि पैसा हुने रोल्पालीहरू अरब, मलेसिया जान्थे। पैसा नहुनेहरू भारत जान्थे। ‘पहिले एकजना अरब जान्थ्यो, अरबबाट फर्केपछि अरबेको छोरो भनिन्थ्यो। अब गाउँ नै रित्तो बनाएर अधिकांश युवा अरब पुगेका छन्। अब सबै अरबे’, बुढा भन्छन्।
यस्तो किन भयो ? किनभने परिवर्तन समाजभित्रैबाट स्वतस्फूर्त जन्मिएको थिएन। सबै अभियान ‘जबर्जस्ती’ लादिएका थिए। त्यसैले ती दिगो हुन सकेनन्।
वर्तमानको बिम्ब
जेलबाङमा थियो जलजला कम्युन। थबाङमा अजम्बरी कम्युन। युद्धकालका बिम्ब थिए यी। अहिले कहाँ छन् ? माओवादीको पाठ्यक्रम पढाइ हुने जनवादी स्कुल छैनन्। जनसरकार छैन। क्रान्तिका बिम्ब क्रमशः भत्किँदै छन्।
त्यसो त जनयुद्धका सर्वोच्च कमान्डर प्रचण्ड नेतृत्वको माओवादी पार्टी नै छैन। क्रान्तिका कमान्डर अब ‘कमान्डर’ रहेनन्। रोल्पाली जनता आपूm भ्रममा परेको अनुभूति गरिरहेका छन्।
‘राजनीतिक, सामाजिक परिवर्तन खासै आएको छैन’, विष्णु सन्यासले सुनाए।
विद्रोह जिउँदो छ
केन्द्रमा माओवादी र एमाले एक भएर ‘नेकपा’ बनेको खबर उसबेला युद्धलाई सघाउने रोल्पाका आम सर्वसाधारणलाई थाहै छैन। स्थानीय नेता भन्छन्, ‘रोल्पासँग विद्रोहीपन अझै बाँँकी छ। केन्द्रका नेतासँग पूर्वमाओवादी सन्तुष्ट छैनन्। चेतना बढ्दै गएपछि फेरि पहिले झैं विद्रोह हुनेछ रोल्पामा।’
‘सत्तामा पुगेपछि रोल्पालाई फर्केर पनि नहेरेकोमा मानिस निकै रिसाएका छन्। विद्रोहको आगो निभिसकेको छैन’, पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह विक भन्छन्, ‘नेकपा माओवादी ‘विप्लव’ समूहको प्रभाव बढिरहेकै छ।’
मानसिंहका अनुसार रोल्पामा विप्लव समूहमा तीन हजारदेखि ३५ सय कार्यकर्ता संगठित छन्। उनीहरूले अरू धेरैलाई संगठित गरिरहेका छन्।
खेम बुढा रोल्पाका नागरिकमा राज्यविरोधी मनोविज्ञान विकास भइरहेको ठान्छन्। ‘त्यसलाई राज्यले सम्बोधन गर्न सक्दैन’, बुढाको निष्कर्ष छ।
अबको विरासत
रोल्पामा माओवादी मुभमेन्टको विर्सजनपछि नयाँ ढंगबाट क्रान्ति हुनुपर्छ भन्ने एकाथरी छन् भने ‘अब क्रान्ति यत्ति हो, समृद्धिमा जानुपर्छ’ भन्ने पनि छन्।
अहिले माओवादी ‘जनयुद्ध’ को विरासत नै धरापमा परेको छ। यसको विरासत बोक्न एमालेमा विलय भएको ‘प्रचण्ड-माओवादी’ मौन छ।
‘रोल्पा बिम्ब लामो संघर्षबाट निर्माण भएको हो’, रोल्पालाई माओवादी आन्दोलनको बिम्ब बनाएर ‘रोल्पा सुइना’ कथासंग्रह बजारमा ल्याएका कथाकार नवीन विभास प्रश्न गर्छन्, ‘अब क्रान्तिको त्यो बिम्ब रोल्पालाई जोगाउने कसरी ? संरक्षण गर्छ कसले ? ’
गएको जेठ २१, २२ र २३ गते रोल्पामा ‘बृहत् साहित्य सम्मेलन’ भएको थियो। पाहुनाका रूपमा गृहजिल्ला रोल्पा पुगे, सिँचाइ तथा ऊर्जामन्त्री वर्षमान पुन। मन्त्री पुनकै गृहगाउँ माडीचौरमा सम्पन्न ‘युद्ध साहित्य’ विषयक बहसमा उनी पनि सामेल भए।
बहस सहजीकरण गरिरहेका वीरेन्द्र शाहीले मन्त्री पुनलाई सोधे, ‘माओवादी आन्दोलन हाँकेको युवा नेता अहिले मन्त्री पनि हुनुहुन्छ। भन्दिनुस्, माओवादी मुभमेन्टका विरासत संरक्षण गर्ने के योजना छ ? ’
मन्त्री पुनको जवाफ थियो, ‘अब त्यो विरासत र बिम्ब जोगाउने काम प्रज्ञा प्रतिष्ठानजस्ता सरकारी संस्थाले गर्छन्।’
उग्र कम्युनिस्टको बिम्ब बनेर उदाएको रोल्पामा पुरानो विरासत जोखिममा छ। जनयुद्धबाट आएको शक्ति आफ्नो पुरानो विरासतप्रति मौन छ। त्यो विरासत धान्ने शक्ति दृश्यमा छैन। विरासत खतरामा छ।