प्रदूषित सवारीलाई अब पूर्ण रोक
काठमाडौं : मापदण्डभन्दा बढी धुवाँ फाल्ने प्रदूषित चारपांग्रे सवारीसाधनलाई मंगलबारदेखि गुड्न रोक लगाइएको छ। वायु प्रदूषणको मुख्य कारण सवारी प्रदूषण नै रहेको अध्ययनले देखाएपछि यातयात व्यवस्था विभागले महानगर र उपमहानगरपालिकामा प्रदूषित सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाएको हो।
२०७४ फागुन १० गते विभागले सूचना प्रकाशन गरी प्रदूषण मापदण्डभित्र नपर्ने सवारी सञ्चालनमा रोक लगाइने जनाएको थियो। प्रदूषित गाडीलाई सडकमा बन्देज लगाउन २०७५ साल वैशाख १ गते मिति तय भए पनि प्रदूषण परीक्षण मेसिन आपूर्ति प्रक्रियामा केही ढिलाइ भएकाले साउन १ गतेदेखि लागू गर्ने संशोधित मिति तय भएको थियो। विभागले डिजेल सवारीको प्रदूषण जाँच गर्न २० वटा स्मोक मिटर र पेट्रोल सवारीको प्रदूषण जाँच गर्न २० वटा ग्यास एनालाइजर मेसिन खरिद गरी देशभरका १४ कार्यालयसहित भरतपुर, डडेलधुरा, सुर्खेत, विराटनगर, उपत्यकाको सल्लाघारीमा वितरण गरिसकेको छ।
मंगलबारदेखि एक महिनासम्म सवारीले मर्मत गरी जाँच गर्ने, हरियो स्टिकर टाँस्ने समय छुट दिएको विभागका प्रवक्ता तुलसीराम अर्यालले बताए। मर्मतबिना जथाभावी सवारी गुड्ने र प्रदूषण मापदण्डको बेवास्ता गर्ने सवारीलाई कडाइका साथ सडकमा पूर्ण बन्देज लगाइएको उनले बताए। प्रदूषित सवारी सडकमा गुडेमा ट्राफिक प्रहरीले पक्राउ गरी जरिवाना गराउने र मर्मत गरेर प्रदूषण मापदण्ड पुरा गर्नुपर्ने व्यवस्था छ।
वायुमा पीएम १ र २.५ माइक्रोनभन्दा साना धुलोका कण बढी हुनु नै सवारी प्रदूषण रहेको वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले बताए। वायु प्रदूषणमा सबैभन्दा बढी ३८ प्रतिशत सवारीको धूवाँ रहेको उनको भनाइ छ। कृषिक्षेत्रबाट हुने प्रदूषण १८ प्रतिशत, उद्योग–कलकारखानाबाट ११ प्रतिशत र ३३ प्रतिशत अन्यत्रबाट हुने गरेको छ। प्रदूषण मापदण्ड पूरा गर्न सवारीले पेट्रोल गाडीका लागि ४ दशमलव ५ प्रतिशत कार्बन मनोअक्साइड र हाइड्रोकार्बन बढीमा १ हजार पीपीएम (पार्ट पर मिलियन)भन्दा कम हुनुपर्छ।
डिजेल गाडीको हकमा धुवाँको घनत्व अधिकतम ६५ प्रतिशत एचएसयू (हारट्रिज स्मोक युनिट) हुनुपर्छ।
डिजेल गाडीको हकमा धुवाँको घनत्व अधिकतम ६५ प्रतिशत एचएसयू (हारट्रिज स्मोक युनिट) हुनुपर्छ। यो मापदण्ड पूरा गरे मात्र सवारीसाधनले वातावरणअनुकूल मानेर हरियो स्टिकर पाउनेछन्। मसिना धुवाँ सीधै फोक्सो हुँदै रक्तनलीसम्म पुग्ने भएकाले स्वास्थ्यमा गम्भीर असर गर्ने स्वास्थ्यकर्मीको भनाइ छ।
सामान्य रूघाखोकीबाहेक फोक्सोमा दाग देखिने, सुन्निने र संक्रमणसम्म हुनुको कारण प्रदूषित वायु नै भएको उनीहरू बताउँछन्। यसले आँखा चिलाउने, छालाको एलर्जी हुने, सास फेर्न गाह्रो हुने, छाती भारी हुने र मुटुको रोगसमेत बढाउने गरेको छ। हाल नेपालमा ३० लाखभन्दा बढी सवारीसाधन भित्रिएका छन्। यीमध्ये १२ लाख बढी काठमाडौंको सडकमा गुड्ने गरेको विभागको तथ्यांक छ। विभागले २०५३ कात्तिक १५ गतेदेखि सिंहदरबार, एयरपोर्ट, दरबारमार्ग, ठमेल र उपत्यकाका दरबारस्क्वायर क्षेत्रमा गुड्ने गाडीलाई प्रदूषण मापन गरी ग्रिन स्टिकर वितरण गर्दै आएको थियो।
विभागले २१ वर्षदेखि सीमित क्षेत्रका लागि मात्र हरियो स्टिकर अनिवार्य गरे पनि हाल देशैभर अनिवार्य गरेको हो। सवारी प्रदूषण परीक्षण प्रभावकारी नहुँदा सडकमा सवार ७० प्रतिशतभन्दा बढी सवारीसाधन प्रदूषित रहेको सवारी परीक्षण कार्यालय टेकुका प्रमुख रामचन्द्र पौडेलले बताए। यसले गर्दा ग्रिन स्टीकरको प्रभाव न्यून भएको थियो। तर कडाइका साथ लागू गरे प्रदूषणमा कमी आउने उनको भनाइ छ।