नानीबाबुसँग जगमान गुरुङका मनका कुरा

नानीबाबुसँग जगमान गुरुङका मनका कुरा

मेरो जन्म साबिक लमजुङ हाल कास्कीको मादी गाउँपालिका याङ्जाकोटमा २००४ सालमा भयो। हाम्रो गाउँमा २०१२ सालसम्म स्कुल खुलेकै थिएनन्। बाजेको पालाको कुरा खासै थाहा भएन। बुवाको पालामा सामान्य पढेका बाहुनलाई गुरु थापेर घरकै पिँढीमा गुन्द्री ओछ्याएर पढ्ने चलन थियो। बाजेको पालामा पनि त्यस्तै चलन थियो होला भन्ने अनुमानसम्म गर्न सकिन्छ।

म पनि ६-७ वर्षको हुँदादेखि यस्तै गाउँले पाठशालामा पढ्न थालेँ। त्यहाँ सुरुमा कख, बाह्रखरी सिकाइन्थ्यो। त्यसपछि जोडिएका अक्षरको पालो आउँथ्यो। तिथि, नक्षत्र गन्न र बालक कुन नक्षत्रको कुन पाउमा जन्मिएको हो भन्ने सिकाएर नाउँ राख्नेसम्म बनाइन्थ्यो। दुर्गाकवच पढ्न लगाइन्थ्यो। वडादसंै र रामनवमीको समयमा चण्डी पढ्ने चलन थियो।

कपाली तमसुक, राजीनामा हुँदै राहदानी लेख्न सिकाइन्थ्यो। त्यसबेला अहिलेको जस्तो राहदानी बन्दैनथ्यो। कागजमा लेखिन्थ्यो। गाउँमा तालुकी प्रथा थियो। त्यतिबेला मुखियाहरू हुन्थे। लाहुरेले श्रीमतीसँगै लैजाँदा राहदानी चाहिन्नथ्यो। त्यसमा हुलिया खुलाएर लेख्ने चलन थियो। अहिलेको पञ्जिकाधिकारीको काम त्यसबेला मुखियाले गर्थे। यति सिकिसकेपछि पढाइ पूरा हुन्थ्यो।

२०१३ सालमा गाउँमा भारतीय सोल्जर बोर्डको प्राइमरी स्कुल खुल्यो। दाइहरू कोही २ कक्षामा त कोही ३ कक्षामा भर्ना भए। म १ कक्षामा भर्ना भएँ। शिशु कक्षालाई त्यसबेला शून्य कक्षा भन्ने चलन थियो। २०१८ सालामा कक्षा ६ मा भर्ना हुन म पोखरा आएँ। त्यहाँ दुईवटा हाइस्कुल खुलेका थिए। एउटा सोल्जर बोर्डको हाइस्कुल जहाँ भारतीय सेनाका छोराछोरी पढ्थे। अधिकांश गुरुङ मगर हुन्थे। अर्को सामुदायिक हिसाबले चलाइएको मल्टिपर्पोज हाइस्कुल जसमा सबै समुदायका छासमिस विद्यार्थी थिए। मेरा साथीहरू एक वर्षअघि नै आएका थिए। उनीहरूसँगै म पनि सोल्जर बोर्डको हाइस्कुलमा नै पढ्न थालेँ। एक्लो छोरो भएकाले बुवाआमालाई म घरमा नहुँदा समस्या पर्दोरहेछ।

पोखरामा हाम्रा इष्टमित्र, आफन्त कोही पनि थिएनन्। हामी भाडामा बस्थ्यौं। घरबाट सिन्की, दाल, चामल, घिउ, गुन्द्रुक ल्याउँथ्यौं। साग, दाउरा, नुन, तेल बजारमा किन्थ्यौं। स्कुलमा अनुशासन कडा थियो। कपडाको स्त्री, दाँत, जुत्तामोजा, नङ नियमित हेर्थे। पीटी खेलाउँथे। स्कुलमा फिस तिर्नु नपर्ने भएकाले सजिलो थियो। २०२२ सालमा मैले एसएलसी पास गरेँ।

 सातवटै प्रदेशको नाम जातीय आधारमा राखिनु हुँदैन भनेकाले र जातीयताको नारा लिएर सडकमा नकुदेकाले यतिबेला पोखराका गुरुङले मलाई पाखा लगाएका छन्।

ट्टीमा घर जाने चलन थियो। बुवाआमाले घाँस काट्न, दाउरा टिप्न जान मलाई रोक्नुहुन्नथ्यो। उहाँहरूलाई एक्लो छोरो कतै चोटपटक पो लागि हाल्छ कि भन्ने डर लाग्दो रहेछ। अरू सबै जना रमाइलो गर्दै जंगल गएको देख्दा मलाई इश्र्या लाग्थ्यो। मकै भाँचेर कोदो रोप्नुभन्दा अगाडि करिब १० दिनको म्याद हुन्छ। त्यसबेला बारीमा भैंसी चराउन लैजाने चलन थियो। बाले मलाई पठाउनुहुन्नथ्यो।

म बूढाबूढी भेला भएका ठाउँमा जान्थेँ। उनीहरूका कुरा सुन्थे। सिकार खेलेको, जाल खेलेको, रोदीमा गाएको, झगडा गरेको, मुद्दामामिला खेलेको कुरा सुन्न मजा लाग्थ्यो। अन्त जान नपाएपछि म यसमै रमाउन थालेको थिए। त्यो उमेरमा बूढापाकाको कुरा सुन्न पाउँदा मलाई जीवनभर काम लागेको छ।

एसएलसी दिएर फर्किएपछि मात्रै मलाई बाले बाहिर काममा पठाउन थाल्नुभयो। साउनमा धानमा पानी लगाउन पठाउनुहुन्थ्यो। आमाले खाजाको लागि पुवा, सिराम्ला, चेप्टे रोटी बनाइदिनुहुन्थ्यो। लाहुरेहरूले ल्याएको थर्मसमा चिया हालेर झोला ठीक पारी दिनुहुन्थ्यो। हातमा खाजाको झोला, छाता, कोदाली र खुर्पेटो बोकेर म खेतमा जान्थेँ। खेतका गराहरू माटोले टाल्नु पथ्र्यो कतै स्याउलासमेत लगाएर माटो हाल्नु पथ्र्यो। मादीको तीरमा रहेको खेत सजिलो थियो। गरै पिच्छे पानी उम्रिने भएकाले खासै गाह्रो थिएन।

काम सकेपछि कटेराको डिलमा बसेर खाजा खान्थे। त्यहाँबाट हार लगाएजस्तो देखिने खेतका कान्लाहरूको दृश्यले मन लोभ्याउँछ। कलकल बगिरहेको देखिने मादीको सेतो पानी, सुसाएको आवाज, हिमाल र लेकको दृश्य हेरेर आनन्द लाग्थ्यो। त्यसरी आनन्दसँग बस्दा पनि मैले त्यसलाई शब्दमा अभिव्यक्त गर्न जानिनँ। मेरो मन कवि मन रहेनछ।

पृथ्वीनारायण क्याम्पसमा आईए पढ्न थालेँ। परीक्षा सकिएर रिजल्ट आउन एक वर्ष लाग्ने भएकाले गण्डकी हुलाक नियन्त्रण कार्यालयमा प्रशासनिक मुखियाको जागिर खान थालेँ। एक सय ३५ रुपैयाँ तलब थियो। गुरुङ समुदायमा लाहुर जाने चलन थियो। क्रमशः मलाया, इन्डियन लाहुरे, आसाम राइफल रोजाइमा पर्थे। त्यसबेला गुरुङ समुदायमा नेपालमा जागिर खाने मान्छेलाई छोरी दिनसमेत गाह्रो मान्थे।

मलाई लाहुर जान मन लागेन। बुवाले पनि पठाउन मन गर्नु भएन। बीएको परीक्षा दिएपछि वाणिज्य संकायमा हेड असिस्टेन्टको रूपमा जागिर खान थाले। त्यसबेला विकेन्द्रीकरणको नाराअनुसार त्रिभुवन विश्वविद्यालयको वाणिज्य संकायको डिन कार्यालय पोखरामा सरेको थियो। शाखा अधिकृत हुँदै कामु उपप्रशासक भएँ। पछि स्थायी जाँच दिँदा फेल भएपछि फेरि सहायक प्रशासकको रूपमा झर्न पर्‍यो। त्यसबेला मानविकी संकायको डिन पार्थिवेश्वर तिमिल्सिना हुनुहुन्थ्यो। म स्थानीय भएकाले उहाँलाई सहयोग गर्थें। उहाँले काठमाडौं जान सल्लाह दिनुभयो। उहाँका साथी डोरबहादुर विष्ट नेपाल एसियाली अनुसन्धान केन्द्रमा हुनुहुन्थ्यो।

विष्टले भन्नुभयो, ‘गुरुङजी यहाँ तपाईंको आवश्यकता भएर ल्याइएको होइन, तपाईं धुरन्धर विद्वान भनेर पनि होइन। एउटा पिछडिएको वर्गको मान्छेले आफ्नो योग्यता, क्षमता बढाउनु पनि अनुसन्धान नै हो।’ यो कुराले मेरा आँखा खुल्दै गए।

म २०३५ सालमा मात्रै एमएमा भर्ना भएँ। त्यसबेला नोट परम्परा थियो। अघिल्लो कक्षाको नोट पढ्ने। मैले यति धेरै मेहनत गरेँ कि सबै विषयको नोट आफैं बनाएँ। धेरै किताबहरू पढेँ। एउटै प्रश्नको जवाफ ४५ मिनेटमा र १५ मिनेटमा लेख्न मिल्ने खालको नोट बनाएर पढेँ। परीक्षाको तयारी गर्दा म भुइँमा सुत्थेँ। परीक्षा सकिएको दिन एक्लै हिँड्न नसक्ने भएको थिएँ। घर पुगेपछि माकुराले जालो लगाएको देखेँ।

हाम्रो पालामा राविसेको कार्यक्रम सकिएको थियो। टर्म पेपर लेख्नुपथ्र्यो। भिलेज प्रोफाइल लेख्दा ९६ अंक आएछ। ‘नेपालको एकीकरणमा गुरुङको भूमिका’ शीर्षकमा तीन महिनामै थेसिस बुझाए। ८६ अंक आयो। प्रथम        श्रेणीमा प्रथम भएछु। महेन्द्र विद्याभूषण ‘ख’ र गोकुलचन्द स्वर्णपदक प्राप्त गरेँ। थेसिस पोखराबाट छापियो। विद्यार्थीकालमा जुन मेहनतले पढेँ त्यसैले आजसम्म पनि काम गरिरहेको छ। ‘जग बलियो भयो भने घर बलियो हुन्छ’ भन्ने उखान पढाइमा पनि काम लाग्दो रहेछ।

भोलि गर्छु भन्दाभन्दै रावणले लंकादेखि स्वर्गसम्म जाने सिँढी बनाउन नसके जस्तै मैले ६३ वर्षको उमेरमा मात्रै पीएचडी गरेँ। यो काम ढिलो भएकाले मेरो प्राध्यापक हुने अवसर गुम्यो। यसबाट बेलामा काम गर्न नसक्दा हुने धोका र आँट गर्दा पाको उमेरमा पनि पीएचडी गर्न सकिने कुरा सिक्न सकिन्छ। हिजोआज छोराछोरी पढाउन सहर लैजानुपर्छ भन्ने लहर चलेको छ। सानैमा सहर पसेका नानीहरूले आफ्नो संस्कार, संस्कृतिबारे बुझ्न पाउँदैनन्। गाउँमा पढेका नानीहरू पनि उत्तिकै प्रतिूपर्धा गर्न सक्ने भएका छन्।

म लाहुर गएर धेरै पैसा कमाउन नसके पनि संस्कृति र राष्ट्रियताको क्षेत्रमा केही गर्न सकेझैं लाग्छ। म जातीयताको धरातलमा कहिल्यै फसिनँ। यही असार महिनाभित्रै चारवटा पुरस्कार थाप्दैछु। लाहुर गएको भए, राष्ट्रियताको क्षेत्रमा नलागेको भए बाहुनहरूले यसरी कहाँ पुरस्कार दिन्थे र १ पहिचान भनेको जातीयता हुन सक्दैन। हामीले जहिले पनि साझा पहिचान खोज्नुपर्छ। दुई चार अक्षर पढ्दैमा केही कुरा जान्दैमा व्यक्तिगत स्वार्थको पछि कुद्नु हुँदैन।

हिजोआज सातै प्रदेशको नाम जातीय आधारमा राख्नु हुँदैन भनेकाले र जातीयताको नारा लिएर सडकमा नकुदेकाले पोखराका गुरुङले मलाई पाखा लगाएका छन्। म भाइबहिनीलाई स्वदेशमै बसेर संघर्ष गर्न, आफैं मेहनत गरेर पढ्न, जातीय स्वार्थभन्दा माथि उठेर राष्ट्र हितमा लाग्न सल्लाह दिन्छु। (संस्कृतिविद् डा. गुरुङसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित।)   
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.