करारका १३ हजार कर्मचारीको भविष्य अन्योलमा

करारका १३ हजार कर्मचारीको भविष्य अन्योलमा

काठमाडौंः कुमार राउतले असार महिना यता आफनै कार्यालयमा हाजिर गर्न पाएका छैनन् । महिला आयोगमा कार्यरत उनी नियमित कार्यालय गए पनि काम नगरि फर्किरहेका छन् । १७ वर्ष सवारी चालक बनेर जिम्मेवारी निर्वाह गरेपछि कामको मूल्याङकन गर्ने बेलामा जागिरबाटै हटाउन लागिँदा उनको मन अमिलो भएको छ । 

‘मैले धेरै हाकिमलाई गाडीबाट घर र कार्यालय गराएँ, तर मेरो पीर मर्का बुझने अहिले कोही भएन’, उनले गुनासो गरे । चिनजानका आधारमा आयोगकै पदाधिकारीमार्फत् जागिर पाएका उनी अहिले दुःखले पाएको जागिर गुमाउनुपर्दा उनलाई निकै पीडा भइरहेको छ ।

परिवारमा एक्लो आम्दानीको स्रोत बनेका राउत जागिर नहुँदा भोली के गरेर परिवार पाल्ने भन्नेमा रात दिन छटपटिरहेका छन् । निर्मला भुलेलले पनि कार्यालयमा हाजिर गर्न पाएकी छैनन् । मुद्रण विभागमा कार्यालय सहयोगीको रुपमा गरेकी भुजेल सामान्य चिनचानको आधारमा जागिर पाएकी थिइन् । 

कार्यालयको टेबुल पुछ्ने, चियाले सत्कार गर्ने, कार्यालय चिटिक्क गदै बित्यो ९ बर्ष । ‘असार लागेपछि हाजिर गर्न दिइएको छैन । अब विदा गर्ने सुरसार गरिँदैछ भन्ने सुनेकी छु’, उनले भनिन्, ‘वर्षाैँदेखि खाइरहेको जागिर एक्कासी छाड्नु पर्ला भन्ने सोचेकी पनि थिइनँ, अब परिवारको खर्च कसरी धान्ने ?’

कुमार र निर्मलाझैँ १३ हजार ७ सय ७३ जना करारमा कार्यरत कर्मचारीको अवस्था उस्तै छ । सरकारले एकाएक विदा गर्न लागेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले ८ दिनयता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिइरहेका छन् । तर तल्लो तहको कर्मचारी भएकैले उनीहरुको आवाजसमेत सरकारले सुनिरहेको छैन । आन्दोलनका संयोजक भूपाल रसाइलीले सरकारले अहिलेसम्म वार्ता र छलफलमा नबोलाएको बताए । 

संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयसहित विभिन्न मन्त्रालय र विभाग तथा आयोगका करारमा कार्यरत कार्यालय सहयोगी, सवारी चालक, माली, हुलाकी र अधिकृतसम्मकालाई बिदा गर्न लागिएको हो ।

करारवालाको अवधि तीन महिना थपियो

यसैबीच सरकारले सचिवस्तरीय बैठक गरी सोमबार करारका कर्मचारीको तीन महिना समय अवधि थप गरेको छ । करार कर्मचारी आन्दोलनका संयोजक भुपाल रसाइलीले सरकारले सोमबार तीन महिना समय अवधि थप गर्ने निर्णय गरेपछि आन्दोलनका कार्यक्रम स्थगित गरेको अन्नपूर्णलाई जानकारी दिए । त्यसपछि पनि उचित रुपमा व्यवस्थापन नगरिए कडा आन्दोलन थाल्ने उनले बताए ।

लामो समय कार्यरत करार कर्मचारीको रोजीरोटी खोस्न नपाइने भन्दै उनीहरुले आन्दोलन गरेका हुन् । प्रक्रिया पुर्‍याएर स्थायी गर्नुपर्ने र रोजीरोटी खोस्न नपाइने उनीहरुको माग छ । आन्दोलनका संयोजक भुपाल रसाइलीले हिजो मन्त्रालय र कार्यालय सञ्चालनमा सहयोग पु¥याउन भने करारका कर्मचारी भर्ना गर्ने अनि अहिले एक्कासी बिदा गर्न खोज्नु अन्याय भएको बताए । ‘कि त हामीलाई गरिरहेकै दिनुपर्छ, नत्र उचित विकल्प दिनुपर्छ’, उनले अन्नपूर्णसँग भने ।

सरकारले प्रशासनिक पुनर्संरचना अन्तर्गत विभिन्न मन्त्रालय, विभाग, आयोग कुनै समायोजन र कतिपय खारेजमा परेपछि करार दरवन्दीमा कार्यरत कर्मचारीहरु मारमा परेका हुन् ।

प्रशासनिक पुनःसंरचनामा स्थायि कर्मचारी स्थानीय तहसम्म खटाउने काम भएपनि करारका कर्मचारी अहिले अलपत्र परेका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिव सुरेश अधिकारी मन्त्रालय विभाग, आयोगहरु गाभिने र खारेजमा परेपछि करारका कर्मचारीहरु कामविहीन भएको बताउँछन् । उनीहरुका लागि सरकारले तलब विनियोजन नगरेको उनले बताए । करारका धेरै दरबन्दी काटिएकाले अब यसरी कर्मचारी भर्ना पनि नगरिने उनले बताए ।

निजामती ऐन अनुसार ०५५ सालयता श्रेणीविहीन तहमा स्थायी पदपूर्ति गरिँदै आएकोमा २०६२ ÷०६३ साल यता स्थायी पदपूर्ति गर्नुको साटो करारमा भर्ना लिन थालिएको हो । 

‘स्थायी दरवन्दीबाट पूर्ति हुन नसकेका पदहरु करारबाट पूर्ति गर्ने व्यवस्था अहिले पनि छ । तर हिजो करारका कर्मचारी धेरै भएकाले अहिले व्यवस्थापनमा समस्या परेको हो’, सह–सचिव सुरेश अधिकारीले अन्नपूर्णसँग भने । लामो समय काम लिइसकेपछि त्यतिकै करारका कर्मचारी हटाउनु अन्याय भएकाले सरकारले केही व्यवस्था गर्नुपर्ने अधिकारी बताउँछन् । 

आधिकारीक टे«ड युनियनले पनि अहिले उनीहरुको आन्दोलनलाई साथ दिएको छ । लामो समय काम गरेका करारका कर्मचारीलाई विशेष व्यवस्थाको व्यवस्था गरी खुसी साथ विदा गर्न सरकारलाई दवाव दिने पक्षमा युनियन उभिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.