महँगो मल लैजान बाध्य बनाउँदै साल्ट ट्रेडिङ
परासी : साल्ट ट्रेडिङ लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाले पश्चिम नवलपरासीका किसानहरूलाई महँगो मल लैजान बाध्य बनाएको छ । महँगो मल नलैजाने डिलर (मल खाद बिक्री वितरण गर्ने सहकारी संस्था) हरूलाई अनुदानको मल (युरिया) समेत नदिएपछि त्यसको प्रत्यक्ष मार किसानलाई परेको छ । अन्य मलभन्दा धान खेतका लागि अहिले किसानहरूले युरियाको माग बढी गर्ने गरेका छन् । युरियाभन्दा प्रतिक्विन्टल एक हजार एक सय रुपैयाँ बढी मूल्य पर्ने ‘एमोनियम सल्फेट’ नामक मल ले डिलहरूमार्फत किसानहरूलाई बाध्य बनाएर बिक्री गर्दै आएको छ । कर्पोरेसनले युरिया मलको कृत्रिम अभाव देखाएर किसानहरूलाई महँगो मल बिक्री गर्न थालेको हो । पर्याप्त युरिया नदिएपछि किसानहरू महँगो मल खरिद गर्न बाध्य छन् ।
युरिया मल खरिद गर्न आएका सहकारी संस्थाहरूलाई कर्पोरेसनले १० प्रतिशत ‘एमोनियम सल्फेट’ लैजानुपर्ने बाध्यकारी नियम बनाएर बलजफ्ती भिडाउने गरेको व्यवस्थापकहरूको गुनासो छ । कर्पोरेसनले उपलब्ध गराउने युरिया मलमा समेत धुलो मिसिएकाले खेतमा छर्दा समस्या हुने गरेको किसानहरूको गुनासो छ ।
पाल्ही बहुमुखी सहकारी संस्थाका व्यवस्थापक मुनलाल यादवले एक सय ५० क्विन्टल युरिया मल खरिद गर्दा कर्पोरेसनले १५ क्विन्टल ‘एमोनियम सल्फेट’ लैजान बाध्य बनाएको बताए । ‘किसानहरूले महँगो मल किन्न मान्दैनन्, युरिया मात्र लैजान्छुभन्दा कर्पोरेसनले १० प्रतिशत अर्को मल नलगे कुनै पनि पाउँदैनौ भन्दै जबर्जस्ती भिडाए ।’ यादवले गुनासो गरे । त्यसरी ल्याएको मल किसानहरूलाई ५० केजी युरियामा ४, ५ केजीका दरले दिने गरेको उनले बताए ।
कर्पोरेसनले डिलरलाई बिक्री गर्ने युरिया मलको मूल्य प्रतिक्विन्टल एक हजार तीन सय ७५ रुपैयाँ छ । कर्पोरेसनले नाफा कमाउने उद्देश्यले आफैंले खरिद गरेर बिक्री गर्ने ‘एमोनियम सल्फेट’ भने प्रति क्विन्टल दुई हजार पाँच सय ९० रहेको छ । कर्पोरेसनमार्फत सहकारीहरूले ढुवानी खर्च जोडेर किसानहरूलाई मल बिक्री गर्ने गरेका छन् । जसअनुसार किसानहरूले युरियाको प्रतिक्विन्टल एक हजार ६ सय १० देखि एक हजार ७ सयसम्म खरिद गरेर लैजाने गरेका छन् । त्यसैगरी ‘एमोनियम सल्फेट’ प्रतिक्विन्टल दुई हजार ८ सयमा किसानहरूलाई बिक्री गर्ने गरिएको छ । किसानको मागलाई पूरा गर्न सरकारले ३० प्रतिशत कर्पोरेसन र ७० प्रतिशत कृषि सामग्री कम्पनीलाई मल बिक्रीको जिम्मेवारी दिइएको छ ।
मल लिन सहकारी संस्थामा पुगेका पाल्हीनन्दन गाउँपालिकाका किसान रामनरेश गुप्ताले ५० केजी युरिया मल किन्दा ४ केजी अर्कै मल दिएको बताए । ‘मैले ५० केजी युरियाबापत लाग्ने रकम मात्र लिएर गएको थिएँ । अर्को मल नलगे दिन्न भनेपछि सापट खोजेर लैजान बाध्य भएँ ।’ गुप्ताले गुनासो गरे ।
परासी आदर्श बहुमुखी सहकारी संस्थाका व्यवस्थापक सञ्जय सिंहले किसानहरू दिनहुँ मलका लागि आउने गरेको बताए । मल नपुगेर कर्पोरेसन जाँदा अर्को मल नलगे कुनै पनि नपाइने बताएपछि आफूले पनि कुल युरिया खरिद वापतको १० प्रतिशत अर्को मल ल्याएको सिंहले बताए । महँगो मल दिँदा किसानहरू लैजान्न भन्दै झगडा गर्छन्, हामीलाई नै उल्टै कमिसन खाएर अर्कै मल दिएको भन्दै आरोप लगाउने गरेका छन्’, सिंहले भने । कृषि सामग्री कम्पनीले पनि पर्याप्त मल नदिँदा समस्या भएको सिंहको गुनासो छ ।
कर्पोरेसनको क्षेत्रीय कार्यालयले प्रदेश ५, कर्णाली र ७ मा मल बिक्री गर्दै आएको छ । कर्पोरेसनका क्षेत्रीय कार्यालय सहायक प्रबन्धक ईश्वर आचार्यले युरिया मलको अभाव हुन नदिन ‘एमोनियम सल्फेट’ नामक मल बिक्री गरेको बताए । उनले केही महँगो भए पनि युरियाभन्दा ‘एमोनियम सल्फेट’ मल राम्रो भएको दाबी गरे । ‘सबैलाई मल पुगोस् भनेर अनुदानको मल कन्ट्रोल गरेका हौं, त्यसैले १० प्रतिशत ‘एमोनियम सल्फेट’ दिनुपरेको हो ।’ आचार्यले भने, ‘जबर्जस्ती भने गरेका छैनौं ।’ ‘एमोनियम सल्फेट’ मलबारे किसानहरू अनभिज्ञ रहेकाले उनीहरूले लैजान नमानेको आचार्यको तर्क छ । कृषि सामग्री कम्पनीका एक अधिकृतका अनुसार गैरअनुदानको मल बिक्री गर्ने निर्देशिकामा नभए पनि कर्पोरेसनले नाफा कमाउने उद्देश्यले किसानलाई महँगोमा मल बिक्री गरेको बताए ।