जिप दुर्घटनामा सातको मृत्यु, चार गम्भीर घाइते
रुकुमकोट : रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ मा बुधबार अपरान्ह जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते छन् ।
जिल्लाको सदरमुकाम रुकुमकोटबाट सोही गाउँपालिकाको धौलापैरातर्फ जाँदै गरेको लु१ज २५७३ नम्बरको जिप मध्यपहाडी लोकमार्गअन्तर्गत धारपानीमा दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा रुकुमपूर्व भुमे गाउँपालिका–४ का २८ वर्षका अर्जुन विक, पुथा उत्तरगंगा गाउँपालिका–१४ की ३२ वर्षकी सलिना बर्मा, सोही गाउँपालिका–१ का ३५ वर्षका कुमार पुन र ३१ वर्षका बुद्धिराज पुन, सोही गाउँपालिका–२ का २२ वर्षका किरण पुन, वडा नं. १२ की ३१ वर्षकी तिर्सना तुलाचन तथा कोहलपुर बाँकेकी २२ वर्षकी ललिता परियार रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा परेका जिप चालकसहित चार जनाको अवस्था गम्भीर छ । घाइतेलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।
सदरमुकाम रुकुमकोटबाट काम सकेर स्थानीय घरतर्फ फर्किंदै गर्दा दुर्घटना भएको थियो । केही दिनदेखि निरन्तर परिरहेको वर्षाका कारण बाटो चिप्लो भई दुर्घटना भएको अनुमान गरिएको छ । जिप सडकबाट करीब दुई सय मिटर तल खसेको थियो । जिपमा ड्राइभरसहित जम्मा ११ सवार थिए ।
दुर्घटनालगत्तै प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलसहित स्थानीय उद्धारमा खटेका थिए । मृतकमध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने बाँकी तीनको जिल्ला जनस्वास्थ्य कार्यालयमा उपचारका क्रममा मृत्यु भएको थियो ।