युरियाको विकल्पमा एमोनियम सल्फेट
परासी : कृषि क्षेत्रमा ‘एमोनियम सल्फेट’ मलको माग बढ्दै गएको पाइएको छ।युरियाको विकल्पको रूपमा प्रयोग हुने यो मल पछिल्लो पटक किसानहरूले माग गर्ने क्रम बढेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाले जनाएको छ ।
नेपाल सरकारद्वारा अनुदानमा उपलब्ध गराइने युरियाभन्दा केही महँगो भए पनि यसको प्रयोगले उत्पादनमा वृद्धि हुन थालेपछि किसानहरूले माग गर्ने क्रम बढेको कर्पोरेसनको दाबी छ।सबैभन्दा बढी सुदूरपश्चिममा ‘एमोनियम सल्फेट’ को माग बढ्दै गएको र यसै वर्षदेखि रूपन्देही र पूर्वी तथा पश्चिम नवलपरासीका किसानहरूबाट समेत माग आउन थालेको क्षेत्रीय कार्यालयका विभागीय प्रबन्धक हरिचन्द्र श्रेष्ठले बताए ।
कर्पोरेसनको क्षेत्रीय कार्यालयले प्रदेश ५, ६ र ७ मा मल बिक्री गर्दै आएको छ।पहिला अनुदानमा उपलब्ध गराइएको युरियाबाहेकको मल लैजान किसानहरूले आनकानी गर्ने गरे पनि अहिले ‘एमोनियम सल्फेट’ माग गर्ने गरेका श्रेष्ठले बताए।‘एक पटक प्रयोग गरिसकेका किसानले अर्को पटक आउँदा ‘एमोनियम सल्फेट’ नै खोज्ने गरेका छन्’, उनले भने।यसको प्रयोगबाट उत्पादनमा हुने वृद्धिबारे धेरै किसानलाई जानकारी नभएकाले सहकारीमार्फत प्रयोग विधि र फाइदाबारे जानकारी दिन थालिएको उनले बताए।विधिअनुसार प्रयोग गरेर उत्पादनमा वृद्धि नभए किसानहरूलाई शतप्रतिशत क्षतिपूर्ति उपलब्ध गराइने उनले बताए ।
नेपाल सरकारले कुल मलमध्ये कृषि सामग्री कम्पनीमार्फत ७० प्रतिशत र कर्पोरेसनमार्फत ३० प्रतिशत अनुदानमा बिक्री गर्दै आएको छ।नेपालमा युरिया, डीएपी, पोटासलगायत गरी कुल सात लाख २५ हजार मेट्रिक टन मल आवश्यक छ तर जम्मा चार लाख २५ हजार मेट्रिक टन मात्र सरकारले उपलब्ध गराएको छ।तीन लाख मेट्रिक टन मल अझै पनि नेपालमा अपुग रहेको कर्पोरेसनले जनाएको छ।अपुग मलका कारण किसानहरूलाई समस्या नहोस् भनेर त्यसको विकल्पका रूपमा कर्पोरेसनले अनुदानबाहेकको मल ‘एमोनियम सल्फेट’, सिंगल सुपर फास्फोटको व्यवस्था गरेर किसानलाई उपलब्ध गराएको श्रेष्ठले बताए।सिंगल सुपर फास्फोट डीएपीको विकल्पको रूपमा रहेको छ।
‘सरकारले उपलब्ध गराएको मलले आवश्कताअनुसारको मागलाई थेग्न सक्दैन, जसका कारण भारतबाट गुणस्तरहीन मल प्रयोग गर्न किसान बाध्य छन्’, प्रबन्धक श्रेष्ठले भने, ‘मल अभाव हुँदा किसानले ५ देखि ६ हजारसम्म प्रतिक्विन्टल युरिया खरिद गरेर लैजाने गरेको बाध्यता छर्लंग छ, उक्त मूल्यसँग तुलना गर्दा ‘एमोनियम सल्फेट’ सस्तो छ।मल अभावमा समेत हामीले युरियाको विकल्प दिएर सहज रूपमा किसानलाई मल उपलब्ध गराएका छौं ।’ कर्पोरेसनले डिलर (मलखाद बिक्री गर्ने सहकारी संस्था) मार्फत किसानहरूलाई मल बिक्री गर्दै आएको छ।‘एक पटक प्रयोग गरेका किसानले केही महँगो भए पनि ‘एमोनियम सल्फेट’ नै खोज्ने गरेका छन्।‘एमोनियम सल्फेट’ प्रयोगपछि हुने उत्पादन वृद्धिबारे जानकारी दिनका लागि युरियासँगै थोरै मात्रमा उक्त मल लैजान किसानहरूलाई अभिप्रेरित गरिएको श्रेष्ठले बताए ।
कर्पोरेसनले डिलहरूलाई युरिया प्रतिक्विन्टल एक हजार चार सय ८२ मा बिक्री गर्दै आएको छ।त्यसैगरी ‘एमोनियम सल्फेट’ को मूल्य प्रतिक्विन्टल दुई हजार पाँच सय ९० रुपैयाँमा छ।डिलरहरूले दुवै मलमा ढुवानीबापतको रकम जोडेर प्रतिक्विन्टलमा दुई सय पचासदेखि तीन सय पचाससम्म बढी लिएर किसानहरूलाई बिक्री गर्दै आएका छन् ।
बालीका लागि नाइट्रोजनसँगै सल्फर, क्याल्सियम, जिंक, पोटास, फास्फोरस आवश्यक हुन्छ।तर युरियामा ४६ प्रतिशत नाइट्रोजन मात्र हुन्छ।‘एमोनियम सल्फेट’ मा नाइट्रोज र सल्फर दुवै उपलब्ध रहेको कर्पोरेसनले जनाएको छ।‘एमोनियम सल्फेट’ मा २१ प्रतिशत नाइट्रोजन र २४ प्रतिशत सल्फर मिसिएको छ।बालीका लागि सल्फर अति आवश्यक हुने प्रावविधिकहरूले जनाएका छन्।‘एमोनियम सल्फेट’मा सल्फरसमेत मिसिएको छ।त्यसैले ‘एमोनियम सल्फेट’ लैजाने किसानले छुट्टै सल्फर खरिद गर्नुनपर्ने भएकाले थप रकम बचत हुने र अनुपातमा युरियाभन्दा ‘एमोनियम सल्फेट’ महङो नहुने कर्पोरेसनले जनाएको छ ।