असारमा मात्रै ३६ प्रतिशत काम
गुलरिया : बर्दियाका विकासे अड्डाहरूले असार महिनामा मात्रै ३६ प्रतिशत काम सकेका छन्। कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत अख्तियारी दिएको वित्तीय समानीकरण तथा ससर्त अनुदानतर्फको पुँजीगत तथा चालु खर्चको करोडौं रुपैयाँ असार महिनामै खर्च भएको हो। नेपाल सरकार र वैदेशिक खर्चबाहेक पुँजीगततर्फ कुल खर्चको ३६ प्रतिशत रकम असार महिनामै खर्च भएको छ।
बर्दियामा आर्थिक वर्ष ०७४÷७५ मा पुँजीगततर्फ २ अर्ब ४६ करोड ९९ लाख ८२ हजार ८ सय रुपैयाँ र चालुतर्फ ६ अर्ब ७ करोड ८३ लाख २५ हजार ५ सय २३ रुपैयाँ अख्तियारी आएको प्रमुख कोष नियन्त्रक प्रेमचन्द्र भुसालले बताए। असारमा मात्र सरकार र वैदेशिकबाहेक पुँजीगततर्फ ८६ करोड ५ लाख ८८ हजार ९ सय रुपैयाँ खर्च भएको छ। जुन कुल खर्चको ३६ प्रतिशत हो।
असारमा चालुतर्फ ३७ करोड ७० लाख ५९ हजार ४ सय रुपैयाँ खर्च भएको छ। सडक, भवन निर्माण, सिँचाइ, तटबन्धलगायत भौतिक पूर्वाधारमा पुँजीगत तथा कार्यालय सञ्चालनमा चालुतर्फका रकम खर्च भएका हुन्। वैदेशिक अनुदानतर्फको रकम कुल पुँजीगत खर्चको १७ प्रतिशत खर्च भएको छ।
बर्दियाको कुल बजेटमध्ये आव ०७३/७४ मा चालुतर्फ ९३ र पुँजीगततर्फ ९५ प्रतिशत रकम खर्च भएको थियो। आव ०७४÷७५ मा चालुतर्फ ९४ प्रतिशत र पुँजीगततर्फ ९३ प्रतिशत रकम खर्च भएको छ।
स्थानीय तहमा वित्तीय समानीकरण र ससर्त अनुदानतर्फ ३ अर्ब ३१ करोड १२ लाख ६४ हजार वार्षिक बजेटमध्ये ३ अर्ब २४ करोड ८२ लाख ८२ हजार ९ सय रुपैयाँ खर्च भएको छ। बर्दियाका ६ नगर र २ गाउँपालिका गरी ८ स्थानीय तहमध्ये गुलरिया नगरपालिकाले कम बजेट खर्च गरेको छ।
गुलरिया नगरले अनुदानतर्फको ५१ करोड १६ लाख १८ हजार रुपैयाँमध्ये ४९ करोड ५४ लाख ३९ हजार ७ सय रुपैयाँ मात्र खर्च गरेको छ। त्यस्तै ठाकुरबाबा नगरपालिकाको ८४ लाख २४ हजार ४ सय रुपैयाँ, बारबर्दिया नगरपालिकाको ६५ लाख ४१ हजार १ सय रुपैयाँ, राजापुर नगरपालिकाको ६५ लाख २२ हजार ४ सय रुपैयाँ खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।
गत आवमा ३९ करोड ६४ लाख ४ हजार ९ सय रुपैयाँ राजस्व असुली भएको कोष नियन्त्रक भुसालले बताए। उनले भने, ‘आव ०७३÷७४ मा ३३ करोड २६ लाख ७ हजार ९ सय रुपैयाँ राजस्व असुली भएको थियो। गत वर्षको तुलनामा १६ प्रतिशतले राजस्व वृद्धि भएको उनले बताए। जिल्लामा सबैभन्दा बढी क्रमशः कोलेनिका, मालपोत, बर्दिया राष्ट्रिय निकुञ्ज, राजापुर भन्सार कार्यालयले बढी राजस्व असुली गरेका छन्।
३० प्रतिशत बजेट खर्च भएन
सन्धिखर्क। अर्घाखाँचीका स्थानीय तहले पुँजीगततर्फको ७० प्रतिशत मात्रै बजेट खर्चिएका छन्। ६ स्थानीय तहमध्ये छत्रदेव गाउँपालिकाले चालुमा ९८.१८ प्रतिशत,, पुँजीगतमा ६९.४३ खर्च गरेको छ।
यस्तै सन्धिखर्क नगरपालिकाले ८८.४७ चालुमा तथा पुँजीगतमा शतप्रतिशत खर्च गरेको कोलेनिकाका कोष नियन्त्रक कमल पन्थीले जानकारी दिए। मालारानी गाउँपालिकाले चालुतर्फ ९६.६९ प्रतिशत खर्च गरेको छ भने पुँजीगततर्फ ६७.४७ प्रतिशत खर्च गरेको जनाइएको छ।
शीतगंगा नगरपालिकाले चालुतर्फ ९७.३३ प्रतिशत र पुँजीगत तर्फ ६७.४७ प्रतिशत खर्च भएको पन्थीको भनाइ छ। भूमिकास्थान नगरपालिकाले चालुमा ९३.३२, पुँजीगतमा ६७.४७ प्रतिशत खर्च गरेको छ भने पाणिनी गाउँपालिकाले चालुतर्फ ९२.८० र पुँजीगततर्फ ६९.४३ प्रतिशत खर्च गरेको पौडेलले जानकारी दिए।
जिल्लामा कुल चार अर्बको चालु बजेट रहेकोमा तीन अर्ब ७२ लाख खर्च भएको र पुँजीगततर्फ एक अर्ब ४९ लाखमध्ये एक अर्ब ३४ लाख खर्च भएको पौडेलको भनाइ छ।
सहरी विकास कार्यक्रमअन्तर्गत बर्दयामा निर्माणाधीन ढल। अन्नपूर्ण