तरुण दल र प्रहरीको झडपले मनीषा कोइरालाको सम्बोधन राेकियाे
काठमाडौं : २२ दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसी समर्थकले शनिबार गरेको आन्दोलनमा अभिनेत्री मनीषा कोइरालासमेत सहभागी थिइन्। माइतीघर मण्डलाबाट सुरु भएको र्याली नयाँ बानेश्वरमा आएर कोणसभामा परिणत भएको थियो।
कोणसभालाई पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, लेखक खगेन्द्र संग्रौलाले सम्बोधन गरिसकेका थिए भने नागरिक अगुवा कृष्ण पहाडी सम्बोधन गर्दै थिए। त्यसपछि मात्र अभिनेत्री कोइरालाको सम्बोधन गर्ने कार्यक्रम तालिका थियो।
तर, नागरिक अगुवा पहाडीले सम्बोधन गर्दागर्दै कांग्रेस निकट युवा संगठन तरुण दलले निषेधित क्षेत्र तोडेपछि प्रहरीसँग झडप सुरु भयो। झडप उग्र बन्ने देखेपछि प्रहरीले भिड यिन्त्रण गर्न अश्रुग्यास प्रहार गर्यो।
तर अश्रुग्यास नियन्त्रण गर्न सक्ने मास्कसहित आन्दोलनमा पुगेका कांग्रेस कार्यकर्ताले प्रहरीले फालेको अश्रुग्यास सभास्थलमा फालेपछि ‘सोलिडारिटी फर डा.केसी अलायन्स’ नाम दिइएको सभा विथोलिएको थियो। सभा विथोलिएपछि मनीषा कोइरालाले सम्बोधन गर्न नपाएकी हुन्।
सभास्थलमा अश्रुग्यास प्रहार भएपछि अभिनेत्री कोइरालासहित आन्दोलनमा सहभागी भएका नागरिक अगुवा पहाडी, लेखक संग्रौला, पूर्व प्रधानन्यायाधीश कार्की आँसु पुछ्दै सभाबाट बाहिरिएका थिए।