माथिल्लो तामाकोसी आज रातिबाट पुनः सञ्चालन हुने

माथिल्लो तामाकोसी आज रातिबाट पुनः सञ्चालन हुने

दोलखा : ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना मंगलबार रातिबाट पुनः सञ्चालनमा आउने भएको छ। असोज १२ गतेको पहिरोले क्षतिग्रस्त संरचनाको मर्मतको काम अन्तिम चरणमा पुगेकाले पुनः सञ्चालनमा आउन लागेको हो। 

तत्कालका लागि कम क्षति भएकालाई ममर्त गरी विद्युत उत्पादन सुरु हुन लागेको आयोजनाले जनाएको छ। कम क्षति भएको बायाँतर्फको डिस्याण्डर र भूमिगत कल्भर्ट पुनः निर्माण गरेर विद्युतगृह सञ्चालनमा ल्याउन लागिएको विद्युत् केन्द्रका प्रबन्धक पूर्ण गोपाल रञ्जितले बताए। बायाँतिरको डिस्याण्डर र भूमिगत कल्भर्ट पुनः निर्माणको काम अन्तिम चरणमा पुगेको छ। विद्युतको माग धान्नका लागि माथिल्लो तामाकोसीको मर्मत चाँडो पूरा गर्न र पुनः सञ्चालनमा ल्याउनका लागि अपर तामाकोसी हाइड्रोपावर कम्पनीका सम्पूर्ण टिम लामाबगरमै खटिँदै आएको पनि उनले बताए। 

कम्पनीले पछिल्लो पटक पुस १० गते विद्युत उत्पादन गर्ने लक्ष्य बनाएको थियो। ‘विद्युत उत्पादनका लागि करिब अन्तिम अवस्थामा पुगेकाले मंगलबार बिहानबाट बाँधमा पानी जम्मा गर्न सुरु भइसकेको छ।’ मर्मत भइसकेको एउटा डिस्याण्डरमा पानी भरेर सकेसम्म लक्षित मितिभन्दा अघि नै विद्युत उत्पादन सुरु गर्ने योजना बनाएको प्रबन्धक रञ्जितले बताए। एक दिनअघि विद्युत उत्पादन गर्दा पनि देशमा ठूलो राहत हुने भएकाले प्रयासरत रहेको पनि उनको भनाइ छ।

आपतकालीन अवस्थामा रोल्वालिङ खोला जलविद्युत् आयोजनाकै निर्माण कम्पनी हाई हिमाल कन्स्ट्रक्सनमार्फत सफा गर्ने र मर्मतको काम जारी छ। बढी क्षति भएको र सुरक्षा कक्ष भवनका लागि भने सार्वजनिक खरिद ऐनअन्तर्गत नयाँ ठेक्का लगाउने तयारी छ। नयाँ ठेक्का लगाउँदा पनि वर्षाअघि जेठ महिनाको अन्तिम हप्तासम्ममा काम पूरा गर्ने गरी तयारी भएको उनले बताए।

बायाँ पोखरी मर्मतपछि नदी प्रवाह (आरओआर) प्रणालीबाट खोलामा पानी उपलब्ध भएसम्म बिजुली उत्पादन गर्ने तयारी छ। माथिल्लो तामाकोसीको दुईवटा पोखरीमध्ये दायाँतर्फको ४० प्रतिशत क्षति भएको छ भने बायाँतर्फको २० प्रतिशत क्षति छ। दुईवटै पोखरी सञ्चालनमा आउँदा बाँधमा पानी जम्मा गरेर आवश्यक समय साँझ र बिहान ४५६ मेगावाट नै उत्पादन गर्न सकिन्थ्यो। 

तर एउटा मात्रै पोखरी चल्ने हुँदा अधिकतम दुई सय मेगावाटसम्म विद्युत उत्पादन गर्न सकिने अनुमान गरिएको छ। नदीमा आएको पानी सिधै पोखरीमा हाल्दा अहिले १७० मेगावाट र अति सुक्खा समयमा ९० मेगावाटसम्म मात्रै उत्पादन हुने अनुमान छ। 

पहिरोले माथिबाट १० मिटर अग्लो ढुंगा झरेर बसेको थियो। ढुंगा र लेदो सबै सफा भइसकेको छ। पहिरो र बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक विवरणअनुसार एक अर्ब ८० करोड रुपैयाँको बीमा दाबी गरिएको अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रबन्धक पूर्ण गोपाल रञ्जितले बताए। माथिल्लो तामाकोसीको बीमा राष्ट्रिय बीमा कम्पनीमा गरिएको छ। विद्युत उत्पादन बन्द भएको समयमा विद्युत गृहभित्रका मर्मत गरेको छ भने पहिरोले क्षतिग्रस्त सिंगटीको ४६ नं. टावरको समेत मर्मत पूरा गरेको छ। बाढी पहिरोले क्षतिग्रस्त संरचनाको प्राविधिक अध्ययन र सुपरीवेक्षणका लागि एनईए इन्जिनियरिङ कम्पनीलाई जिम्मा दिएको छ। उसैको सिफारिसका आधारमा कम्पनीले पुनः निर्माणको काम गर्नेछ।

जलविद्युत केन्द्रको अनुमानभन्दा बढी क्षति भएको र काब्रेभीरमा सडकसमेत क्षति भएपछि माथिल्लो तामाकोसी पुनः सञ्चालनमा ढिलाइ भएको हो। अब कम क्षति भएको बायाँतर्फको पोखरी र कल्भर्टमा कंक्रेटिङको काम करिब पूरा भएको छ। अत्यधिक चिसोका कारण कंक्रिटमा पछिल्लो समय केही ढिला भएको हो। बालुवा थिग्राउने पाखरीको पानी भरिने सतह १९ सय ८७ मिटर उचाइसम्म हो। तर माथिबाट ठूलो ढुंगा आएर पोखरीमा खस्दा १९ सय ८३ मिटरसम्म क्षति भएकाले सफा गर्न नै समय लागेको हो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.