बिचाैलियाका कारण तरकारीको मूल्य आकासियो
भैरहवा : रूपन्देहीमा बिचौलियाका कारण तरकारीको मूल्य अकासिएको छ । बिचौलियाले किसानहरूसँग सस्तो मूल्यमा तरकारी खरिद गरेर बजारका व्यापारीलाई महँगो मूल्यमा बिक्री गर्दा तरकारीको मूल्य आकासिएको हो ।
अहिले बजारमा पाइने सबैजसो हरियो तरकारी किसानले बिक्री गरेको मूल्यभन्दा दोब्बर÷तेब्बर मूल्यमा बिक्री भइरहेको छ । किसानको बारीमै पुगेर बिचौलियाहरूले तरकारी खरिद गरेर ल्याउँछन् भने केही किसानले सीधै बजारमा ल्याएर बिक्री गर्छन् । तर किसानले उत्पादन गरेर सस्तो मूल्यमा बिक्री गरेको तरकारी उपभोक्ताको भान्छामा पुग्दा दोब्बर÷तेब्बर महँगो भएको हुन्छ । लौका, घिरौंला, भिन्डी, बोडी, करेला, काँक्रा, चिचिन्डा, साग, धनियाँलगायत तरकारीको मूल्य ह्वात्तै आकासिएको छ ।
किसानहरूका अनुसार बिचौलियाले बारीमै पुगेर प्रतिकिलो लौका १५, घिरौला ३०, बोडी ४०, करेला ४०, चिचिन्डा ३०, टमाटर १५, बन्दा ५०, काउली ४०, खुर्सानी ५०, काँक्रा २०, धनियाँ २५० र फर्सी २० रुपैयाँ प्रतिकिलोमा खरिद गरेर ल्याउँछन् । यस्तै चाइनिज साग, फर्सीको मुन्टा र रायोको साग प्रतिमुठा १० रुपैयाँमा खरिद गरी ल्याउँछन् । खरिद गरेको तरकारी बिचौलियाले भैरहवा, बुटवललगायत थोक तथा खुद्रा बजारमा बिक्री गर्छन् ।
यसरी बिचौलियाले किसानबाट खरिद गरेको तरकारीमण्डी, खुद्रा व्यापारी हुँदै बल्ल उपभोक्तासम्म पुग्छ । किसानले १५ रुपैयाँ प्रतिकिलो बिक्री गरेको लौका उपभोक्ताको भान्छासम्म पुग्दा प्रतिकिलो ६० रुपैयाँ, घिरौला ८०, बोडी एक सय, करेला ८०, चिचिन्डा ८०, टमाटर ५०, बन्दा ९०, काउली एक सय, खुर्सानी एक सय, काँक्रा ४०, धनियाँ ४ सय ५०, फर्सी ५० रुपैयाँमा पुग्ने गरेको छ । यस्तै चाइनिज साग २०, फर्सीको मुन्टा २५ र रायोको साग २० रुपैयाँ छ ।
बजार अनुगमन गर्ने निकाय कमजोर भएपछि बजारमा बिचौलियाको बिगबिगी बढेको हो । जिल्लामा अनुगमन प्रायः शून्यजस्तै छ । बिचौलियाका कारण व्यवसायिक किसानले लागत उठाउन सकेका छैनन् । तिलोत्तमा नगरपालिकाको टिकुलीगढका किसान पन्नेलाल केवटले बाढीले तरकारी नष्ट गरिरहेका झन बेला बिचौलियाले गर्दा लागत जोगाउन समस्या भएको बताए । ‘सरकारले तरकारी संकलन केन्द्र व्यवस्थापन नगर्दा हामीले सधैं बिचौलियाको भर पर्नुपरेको छ । उनले भने, ‘उत्पादन हामी गर्छौं तर मूल्यचाहिँ उनीहरूले भनेको हुन्छ ।’
बजारमा तरकारीको भाउ आकासिँदै गर्दा त्यसको फाइदा सबै बिचौलिया र व्यापारीले लिएपछि किसानहरू पेसाप्रति नै अनिच्छुक देखिँदै गएका छन् । मेहनत र लागतअनुसार मुनाफा नपाउँदा कृषि पेसा नै संकटमा परेको सूर्यपुराका किसान राधेश्याम लोधले बताए । ‘भनेको मूल्यभन्दा आधा भाउ घटाएर नदिए व्यापारीले नउठाइदिने हुन कि भन्ने डर हुन्छ’, उनले भने, ‘त्यसैले उनीहरूकै दरमा बिक्री गर्न बाध्य छौं ।’ बारीबाट उपभोक्तासम्म पुग्दा दोब्बर÷तेब्बरको अन्तर हुँदासमेत नियमक निकाय भने मौन छ । जसले प्रतिदिन बिचौलिया हाबी हुँदै गएका छन् भने कालोबजारी मौलाउँदै गएको छ । जिल्ला बजार अनुगमन समिति रूपन्देहीका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले किसानहरू मर्कामा परेको आफूहरूलाई कुनै जानकारी नआएको बताए ।
‘किसान र उपभोक्ता कोही पनि मारमा पर्नु हुँदैन, कसैले जथाभावी मूल्य राखेर तरकारी बिक्री वितरण गरेको पाइए कारवाही गर्छौं’, उनले भने । नेपाल भारत सिमानाका बेलहियाबाट क्वारेन्टाइनमा जाँचसमेत नगराई सजिलै सस्तो मूल्यमा कम गुणस्तरको तरकारी भित्रिने गर्दा समेत नेपाली किसान मारमा छन् । देवदह नगरपालिकाका कृषि अधिकृत आश्विनिप्रसाद शर्माले क्वारेन्टाइनबाट गुणस्तरहीन तरकारीमा कडाइ नहुँदासम्म नेपाली उत्पादनले बजार पाउन कठिन रहेको बताए ।
हरियो तरकारीमा आत्मनिर्भर रूपन्देहीको ४ हजार १ सय ४७ हेक्टर क्षेत्रफलमा खेती गरिन्छ । करिब ५ सय व्यावसायिक तरकारी खेती गर्ने किसानहरू रहेको जिल्लामा वार्षिक एक लाख मेट्रिक टन बढी तरकारी उत्पादन हुने गर्छ । जिल्ला कृषि उपज तथा थोक केन्द्र, मायादेवी फलफूल तथा तरकारी बजार र अन्य ठुल्ठूला हाटबजारबाट उत्पादन भएका तरकारी देशका विभिन्न भागमा जाने गरेको छ ।