पानी पार्न तुलसीपुरका किसानले गरे भुमेबर्माको पूजा
तुलसीपुर : साउन पहिलो साता बित्न लाग्दा पनि वर्षात् नभएपछि यहाँका किसानले भुमेबर्माको पूजा गरेका छन्। तुलसीपुर क्षेत्रको सात गाउँले कुलोबाट सिँचाइ हुने किसानले शनिबार कुलोको मुहानमा गएर पूजा गरेका हुन्। तुलसीपुर उपमहानगरपालिका-३ का श्रीकुलामा पूजा गरेको सात गाउँले कुलो सिँचाइ आयोजनाका अध्यक्ष कुलप्रसाद कालाथोकीले जानकारी दिए।
उनले पानी नपरी खडेरीका कारण खेती हुन नसकेको भन्दै पूजाआजा गरेमा देवता खुशी भई पानी पार्छन् भन्ने जनविश्वासका कारण पूजा गरिएको बताए। सयौँको संख्यामा कुलोको मुहानमा पूजा गर्न पुगेका किसानले कुखुरा र बोकासमेत काटेर बलि दिए ।
समयमा पानी नपर्दा किसान निकै चिन्तित रहेका छन्। पानी नपर्दा तुलसीपुरको हजारौं बिगाह जमीन बाँझै रहेको छ। रासस