ठेकेदारहरू भन्छन्  : समय घर्केपछि ठेक्का लगाउनु गलत

ठेकेदारहरू भन्छन्  : समय घर्केपछि ठेक्का लगाउनु गलत

ललितपुर : गोदावरी नगरपालिकाको ठेचो निवासी लक्ष्मी माली आफ्नो घरअगाडि बुङबुङती उड्ने धुलोले हैरान छिन्। भ्याएसम्म सडकमा बेलाबेला पानी छ्याप्छिन् तर एकैछिनमा पानी सुक्छ र पहिलेभन्दा पनि धेरै धुलो उड्छ। लक्ष्मीजस्तै सुनाकोठी, ठेचो, चापागाउँ, बज्रबाराही क्षेत्रका बासिन्दा समयमा सडक निर्माण नहुँदा आक्रोशित छन्।

स्थानीय तहमा जनप्रतिनिधि आएको वर्षदिन भइसके पनि कुनै काम समयमा नभएको मालीको गुनासो छ। ‘मेयरसँग धेरै पटक कुरा राख्यौं तर कुनै काम भएन।’ स्थानीयको चर्को विरोधपछि सडकका खाल्डाखुल्डी भने टालिएको उनले बताइन्।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन भन्छन्, ‘ठेकेदारहरूलाइ समयमा सडक निर्माण सक्न दबाब दिइरहेको छु।’ दबाब दिए पनि उनीहरूले टेरपुच्छर नलगाएको उनकै गुनासो छ। उनले कुनै पनि हालतमा जेठ १५ भित्र यो सडक कालोपत्रे गराउने घोषणा गरेका थिए। ‘धुलो हिलो भयो भनेर दिनहुँ जनताको गुनासो सुन्नुपर्छ, दिक्क भइसकेँ’, उनले भने।

‘ठेकेदार टेरपुच्छर लाउँदैनन्’

सडक निर्माणको ठेक्का लिएका ठेकेदारहरू भने आफ्नो कुनै गल्ती नभएको दाबी गर्छन्। चापागाउँ चौकीदेखि बसपार्कसम्म सडक निर्माणको जिम्मा लिएको एससी कन्स्ट्र«क्सनका सञ्चालक भगीरथ तिमल्सिना समय घर्केपछि ठेक्का लगाउनु नै गलत भएको बताउँछन्। ‘राज्यको नीति नै गलत छ’, उनले भने। माघ फागुनमा खोल्नुपर्ने ठेक्का वैशाख जेठमा खोलेर काम गर्न नमिल्ने उनको तर्क छ। ‘पिच गरेपछि एक वर्ष टिक्नुपर्छ, नत्र दुःख गरेर लिएको काममा ठूलो घाटा लाग्छ’, उनले भने।

उनले गत वैशाखमा ६१ लाख रुपैयाँमा ठेक्का लिएको र करिब ५ लाख त खाल्डा पुर्दा नै सकिएको बताए। ठेकेदारहरू सो क्षेत्रमा काम गर्न विभिन्न अवरोध आएको बताउँछन्। सडक छेउका घर भत्काउने, नाली बनाउने काम बाँकी रहेकाले पनि सडक कालोपत्रे गर्न ढिलाइ भएको हो। उनले भने, ‘केही दिन पूर्ण रूपमा सवारी बन्द गराउनुपर्ने हुन्छ।’ पानी नपरे केही दिनमा काम सकिने उनको भनाइ छ।


ठेकेदारहरूका अनुसार माघ फागुनमा खोल्नु पर्ने टेन्डर वैशाख जेठमा खोल्ने सरकारी नीति नै गलत छ।
 

ठेचो हेल्थपोस्टदेखि ठेचोसम्म निर्माणको जिम्मा लिएको देउकी निर्माण सेवाका सञ्चालक बद्री ढकालले सो सडक निर्माणको अन्तिम अवधि वैशाख रहेको स्वीकार गरे। काम गर्न पूर्ण तयारी अवस्थामा रहेको बताउँदै उनले वर्षा बन्द भएर सुक्खा हुनासाथ कालोपत्रे गर्ने बताए। उनले भने, ‘अस्फाल्ट महँगो हुन्छ, १ घनमिटरको २२ हजार रुपैयाँ पर्छ। एक गाडी अस्फाल्टको १ लाख देखि १ लाख ७० रुपैयाँसम्म पर्ने हुन्छ।’ यति महँगो सामान प्रयोग गरेर पानी परिरहेका बेला कालोपत्रे गरे चाँडै उप्किने र उप्किए कारवाहीमा पर्ने उनले बताए।

ढकालले ४० लाख रुपैयाँमा गत जेठमा सम्झौता गरेका थिए। सडकका नाली र खाडलले काम गर्न नपाएको उनको भनाइ छ। काम गर्न अनुकूल वातावरण नमिलेको बताउँदै उनले भने, ‘ठेकेदारको मात्र गल्ती होइन।’ ललितपुरका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले समयमा काम नगर्ने ठेकेदारलाई कारवाहीको दायरामा ल्याउनु पर्ने बताए। उनले भने, ‘जसले टेन्डर दिएको हो उसैले कारवाही गर्नुपर्छ।’

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.