भारतले बाँध छेक्दा ९ गाउँँ डुबान खतरामा

भारतले बाँध छेक्दा ९ गाउँँ डुबान खतरामा

भगवानपुर (कपिलवस्तु) : लोहरौलीका किसान मोहम्मद सफिद पठान भगवान््पुरको खेतमा तेस्रो पटक रोपाइँ गर्दै छन् । पहिलो र दोस्रो पटक रोपाइँ गरेको धान खेती भारतले बनाएको महलीसागर बाँधका कारण नष्ट भयो । सामान्य वर्षा हुँदासमेत बाँधका कारण भगवानपुरको करिब एक हजार हेक्टर जमिन डुबानमा परिरहेको छ ।

पठानको ४० बिघा खेत छ । ‘तेस्रो पटक धान रोपाइँ चल्दै छ, वारिष (पानी) आयो भने यो बीउ पनि राम्रो हुँदैन होला’, उनले निरास हुँदै भने । असारको पहिलो साता नै किसानले खेतमा धान रोपिसकेका थिए । लगत्तै आएको वर्षाको पानी निकास भारतले रोकिदियो । भारतले पानीको निकास रोकेपछि भेल बनेको महलीसागरको खेत पुर्दै बस्तीमा समेत भेल आयो । भगवान्पुर गाउँँका घरमा दुई फिट पानी जमेको थियो । त्यसयता खेती पुरिएका कपिलवस्तुका नौ गाउँँका स्थानीयको खुसी हराएको छ । ‘वर्षैभरि खाने अन्न उत्पादन हुने खेत बालुवा र हिलोले पुरियो अब के फल्छ र खाने’, किसान नाश्रिव धोवीले भनिन् । उनको चार बिघा खेतको धान सबै नष्ट भएको छ । छिप्पिएको बीउ जुटाएर उनी दोस्रो पटक रोपाइँ गर्दै छिन् उनी ।

महलीसागरको यो समस्या पुरानो हो । कपिलवस्तुको यशोधरा गाउँपालिकाको सीमामा रहेको खेतीयोग्य जमिन नष्ट हुने गरी भारतले बाँध बाँधेसँगै काठको कजवे बनाएको छ । सो बाँधमा भारततर्फ जाने पानी रोक्न चार फिटको काठको ‘पटेरा’ राखेपछि भगवान्पुर बस्तीसँगै खेती डुबेको हो । नेपाल भारत सन्धिअनुसार पानीलाई प्राकृतिक रूपमै बग्न दिनुपर्ने छ । तर भारतले बहावलाई रोक्दै नेपालतर्फ डुबान गराएको छ । महलीसागरको समस्या ०५७ सालमा पनि बल्झिएको थियो । जतिबेला भारतले कच्ची बाँध बनाएको थियो । त्यही बाँधलाई करिब आठ वर्षअघि पक्की बाँध बनाएको छ । बाँध आसपासमा ड्याम बनाउने विषयमा नेपाल र भारत सरकारबीच कुराकानी भए पनि उक्त छलफल निष्कर्षमा नपुग्दा कपिलवस्तुको दक्षिणी नौ गाउँ डुबान खतरामा छन् ।

बाँधकै कारण खेतीयोग्य जमिन डुबानमा परेपछि गएको वर्ष किसानको टोली नयाँ दिल्लीसमेत पुगेको थियो । तत्कालीन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले बाँधको विषयमा छलफल गरेका थिए । ‘भारतको हेपाहा प्रवृत्तिले नेपाली भूभाग डुबान हुने गरी बाँध बाँधेर पानी छेकिएको छ’, उनले अन्नपूर्णसँग भने, ‘महलीसागरसँगै पूर्वदेखि पश्चिमसम्मका समस्या समाधानमा सरकारले चासो दिनुपर्छ ।’ महलीसागरलगायत अन्य जिल्लामा बनेका सीमा बाँधमा पानी रोक्न नपाइने नियमलाई भारतले अटेर गरेको पूर्वराजदूत उपाध्यायले बताए ।

महलीसागर बाँधमा पानी छेकिँदा कपिलवस्तुका भगवान्पुर, बैदौली, रंगपुर, भैसहिया, पर्डरिहवा, लोहरौली, पर्सैया, रोजाहपुर, बगाहालगायत गाउँ डुबानको खतरामा छन् । ‘दुई घण्टा मात्रै पाउनी आउँदा पनि खेत र एउटा गाउँ डुब्यो, रातभर पानी आए त बिजोग हुन्छ’, स्थानीय राधेश्याम पाठकले भने । उनले बाँधको समस्या समाधान गर्न केन्द्र सरकारसँग माग गरेका छन् । भारत सिद्धार्थनगर जिल्लाको क्षेत्रग्रामको डोहा गाउँ र नेपालको भगवान्पुर गाउँबीचमा बाँध निर्माण भएको छ । बाँधका कारण नेपाल–भारत सीमास्तम्भ ५५३ र ५५४ समेत डुबानमा छन् ।

७० वर्षीय छिदी कहार दैनिक डुबेको खेती हेर्न महलीसागर बाँध छेउ पुग्छन् । उनलाई बालीसँगै बस्तीको पनि चिन्ता छ । बाँधको सुरक्षामा रहेका एसएसबीलाई पटेरा निकाल्न उनले गाउँलेसँग मिलेर पटक–पटक आग्रह गरे । तर कुनै प्रतिक्रिया आएन । ‘माथिको आदेशअनुसार पटेरा राखिएको हो, आदेश नआई निकाल्न मिल्दैन’, एसएसबीको भनाइ उद्धृत गर्दै कहारले भने । महलीसागरका बाँधका १५ द्वारमा भारतले मेसिनले नै पानी छेक्ने योजना बनाएको थियो । तर नेपाली पक्षको विरोधपछि बाँध खुलै राखिएको थियो । यस वर्षको वर्षासँगै बाँधमा पटेरा राखेर पानी छेकिदिको छ । नेपालमा भएको डुबान हटाउन बाँध खुला गर्नुपर्ने कपिलवस्तुबाट निर्वाचित प्रदेश ५ सांसद विष्णु पन्थी बताउँछन् । ‘नेपाली जमिन र बस्ती सुरक्षित गर्न बाँधको अवरोध हटाउनै पर्छ’, त्यसो भएन भने पानी पर्नासाथ बस्ती डुब्नेछन्’, उनले भने ।

बाँधदेखि पूर्व र पश्चिमतर्फ सडकका नाममा अग्लो ड्याम बनाइएका कारण पानी भारततर्फ निकास हुँदैन । भारतीय डोहा गाउँमा हरियै धान हुँदा त्यही ड्यामका कारण नेपाली किसानको खेती डुबेको छ ।

डुबान क्षेत्र अवलोकनका लागि पुगेका नेकपा राष्ट्रियसभा प्रमुख सचेतक खिमलाल भट्टराईले नेपाल–भारत सम्बन्ध विकसित भइरहँदा यस्ता हेपाहपूर्ण कामले सम्बन्धमै असर पुग्ने बताए । ‘यो भारतले नेपाललाई हेपेर छेकिएको बाँध हो, सरकारले तत्काल कूटनीतिक रूपमा समस्या समाधान गर्नुपर्छ’, उनले भने ।

कपिलवस्तुकै बजाहा बाँध र नवलपरासीको गण्डकमा बाँधकै कारण हजारौं हेक्टर जमिन डुबानमा पर्दै आएको छ । बर्सेनि डुबान पर्दासमेत सरकारले समस्या समाधान गर्न सकेको छैन । भारतका लागि पूर्वराजदुत उपाध्यायले बाँधको विषयमा छुट्टै सहमति गरेर समस्या समाधान हुनुपर्ने बताए । महलीसागर बाँध कपिलवस्तुको सदरमुकाम तौलिहवादेखि ११ किलोमिटर दक्षिणमा पर्छ भने बजाहा बाँध महलीसागरभन्दा दुई किलोमिटर उत्तरमा छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.