बाढीले बाँध भत्किँदा विद्युत् आपूर्ति बन्द
त्रिपुराकोट (डोल्पा) : अविरल वर्षाका कारण छलगाड खोलामा आएको बाढीले छलगाड लघुजलविद्युत् आयोजनाको बाँध भत्काएपछि विद्युत् आपूर्ति पूरै बन्द भएको छ । एक्कासि आएको बढीले बाँध भत्काएपछि विद्युत् आपूर्ति बन्द भएको हो ।
त्रिपुरासुन्दरी नगरपालिका–१ लोकामा रहेको छलगाड लघुजलविद्युत् आयोजनाको बाँध अविरल वर्षाका कारण आएको बाढीले बाँध भत्काएपछि विद्युत् आपूर्ति बन्द भएको हो ।
बाढीले झन्डै ५० मिटरभन्दा बढी बाँधलाई कटान गरेको बताइएको छ । जम्मा ३५ किलोवाट क्षमता भएको लघुजलविद्युत् आयोजनाले नगरपालिका–१ का ३ सय ५० घरधुरीलाई विद्युत् आपूर्ति गर्दै आएको थियो । बाढीले झन्डै ३० लाख बराबरको क्षति पु¥याएको अनुमान गरिएको छ ।
विद्युत् आपूर्ति बन्द हुँदा त्रिपुरासुन्दरी नगरपालिकाका कार्यालय तथा गैरसरकारी कार्यालयको कामकाज प्रभावित बनेको छ । विद्युत् आपूर्ति बन्द भएपछि सामान्य कागजातको फोटोकपी तथा इमेल गर्नकै लागि सदरमुकाम दुनैमा जानुपर्ने अवस्था सिर्जना भएको स्थानीय हेमराज हमालले बताए ।
बाढीले क्षति ठूलै पुर्याएको र बाढीको बहावसमेत बढेकाले पनि तत्काल बाँध मर्मत तथा पुनर्निर्माण सम्भव नभएको त्रिपुरासुन्दरी नगरपालिकाका इन्जिनियर सन्त सार्कीले बताए । उनका अनुसार असोज नलागेसम्म पानीको बहाव नघट्ने र खोलामा बाँध बाँध्न पनि नसकिने भएकाले त्रिपुरासुन्दरी नगरपालिकाका बासिन्दा झन्डै ३ महिनासम्म अन्धकारमा बस्नुपर्ने सम्भावना रहेको प्राविधिकको ठम्याइ छ ।
बाढी बढेसँगै छलगाड नदीले आफ्नो धार परिवर्तन गरी खेतीयोग्य जमिनतर्फ कटान गर्न थालेपछि किसान चिन्तित बनेका छन् । छलगार्डको खोलामा हरेक वर्ष बाढी आउने गर्छ ।