गोठमा सुतिरहेका तीनको पहिरोले पुरिएर मृत्यु
रोल्पा : गोठमा सुतिरहेका तीन जनाको पहिरोले पुरिएर मृत्यु भएको छ । पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिका–८ अरेश फुल्धाराका तीन जनाकाे आइतबार राति पहिरोमा पुरिएर मृत्यु भएको हो ।
आफन्तले सोमबार बिहान ११ बजेतिर मात्र उनीहरु पुरिएको थाहा पाएका थिए । पुरिएर मृत्यु हुनेमा १८ वर्षीय हुमबहादुर घर्ती, १६ वर्षीया ओवी घर्ती र १६ वर्षीया चमेली पुन रहेका छन् । घरदेखि टाढा रहेको गोठमा उनीहरु साँझपख वस्तुभाउ हेर्न गएका थिए । माथिबाट खसेको पहिरोले हस्ते पुनको गोठको पर्खाल भत्किएको हो ।
भत्किएको पर्खालले पुरिएर तीनै जनाको मृत्यु भएको स्थानीय एवं मृतक ओवीका काका लंक घर्तीले जानकारी दिए । गोठमा पुगेका उनीहरु बिहान अवेरसम्म घर नआएपछि चमेलीकी माइली दिदी दुवी घर्ती गोठमा पुगेकी थिइन् । पहिरोले पुरिएको देखेपछि घरपरिवार र छिमेकीलाई दुवीले नै खबर गरेकी थिइन् ।
गाउँले घटनास्थल पुग्दा पहिरोले च्यापिएको अवस्थामा देखेको स्थानीय समाजसेवी लंकले भने, ‘जीवितै छन् कि भन्ने आशाले उद्दार गर्न खोजियो । तर, सबै मृत भेटिए ।’ हुमबहादुर र ओवी चमेलीको गोठमा साथीका रुपमा गएका थिए ।
राति अविरल परेको वर्षाले पहिरो खसेको गाउँलेको अनुमान छ । गोठमा रहेको एउटा गाईको पनि पुरिएर मृत्यु भएको छ । घटनाबारे गाउँलेले इलाका प्रहरी कार्यालय सुलिचौरलाई खबर गरेका थिए ।
खबर पाएलगत्तै दिउँसोपख प्रहरी निरीक्षक सुरेन्द्र धमलाको नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले वताए । लासको मुचुल्का तयार पारेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।
सदरमुकाम लिबाङदेखि दुर्गममा रहेको घटनास्थलबाट सोमबार रातिसम्म शव अस्पताल ल्याउन सकिने छ । मृतकका आमा बुबा, परिवार र छिमेकी शोकमा डुवेका छन् । खिमबहादुर घर्तीकी दुई बहिनी छोरी मध्ये जेठी ओवीको मृत्युले परिवार शोकमा छ । हुमबहादुरको मृत्युले बुबा मनबहादुरको परिवार विक्षिप्त बनेको छ ।
मनबहादुरका तीनभाइ छोरा मध्ये मृत्यु हुने हुमबहादुर कान्छो छोरा हुन् । हस्ते पुनका चार छोरी मध्ये मृतक चमेली साइली छोरी हुन् । तीन साताअघि दक्षिणी रोल्पाको रुन्टीगढी गाउँपालिकाको सैबाङमा पनि पहिरोले घर भत्किदा १८ दिनकी सुत्केरीसहित तीनको मृत्यु भएको थियो ।