हरिणको मासुसहित दुई पक्राउ
दमक : मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित दही खोलाबाट प्रहरीले जंगली हरिणको मासु सहित दुईजनालाई पक्राउ गरेको छ। विशेष सुराकीको आधारमा अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको टोलीले को १ ज २४८५ नम्बरको म्याजिक भ्यानमा जंगली हरिणको शिकार गरी टुक्रा पारेर राखेको अवस्थामा २५ किलो मासु बरामद गरेको हो।
हरिणको मासुसहित म्याजिकका चालक सुन्दर-हरैचा नगरपालिका-२ घर भई ईटहरी उप-महानगरपालिका ४ बस्ने २१ वर्षीय अजय चौधरी र मोरङ ग्रामथान गाउँपालिका-७ बस्ने ३६ वर्षीय मोहनप्रसाद सुबेदीलाई पक्राउ गरेको अस्थायी प्रहरी चौकी कानेपोखरीले जनाएको छ।
दुवैजनालाई थप अनुसन्धानका लागि इलाका बन कार्यालय कानेपोखरीको जिम्मा लगाएको प्रहरी चौकी कानेपोखरीले जनाएको छ। कानेपोखरीको चारकोषे जंगलमा शिकार गर्न प्रतिबन्ध छ।