एक तिहाइ महिला २० वर्ष नपुग्दै गर्भवती

एक तिहाइ महिला २० वर्ष नपुग्दै गर्भवती

बेंसीसहर : समाजमा ‘बिहेवारी २० वर्ष पारि’ भन्ने चलन अझै छ । कानुनले समेत २० वर्ष नपुग्दै विवाह गर्न बर्जित गरे पनि लमजुङका अधिकांश युवतीको २० वर्ष उमेर नपुग्दै विवाह हुने गरेको एक तथ्यांकले देखाएको छ ।

लमजुङ जिल्ला सामुदायिक अस्पतालमा प्रसूति गराउन आउनेमध्ये ३१ प्रतिशत युवती २० वर्षमुनिका रहेको पाइएको तथ्यांकले देखाएको छ । २० वर्षभन्दा कम उमेरमा गर्भवती भएका युवतीको विवाह भने १६ देखि १८ वर्षमा भएको पाइएको जिल्ला सामुदायिक अस्पतालको अनुमान छ ।

यो तथ्यांकले जिल्ला जनस्वास्थ्य कार्यालयमातहतका स्वास्थ्य संस्था तथा जिल्ला सामुदायिक अस्पतालले मातृ शिशु सुरक्षा कार्यक्रमअन्तर्गत गाउँ–गाउँमा चलाएको सचेतनामूलक कार्यक्रममाथि प्रश्न चिह्न खडा गरेको छ । उमेर नपुगी विवाह गर्ने दर बढ्नुले जनचेतना अभाव र आमा सुरक्षा कार्यक्रमका लागि चुनौतीको विषय बनेको छ । कलिलो उमेरमा गरिने विवाहले महिलाको स्वास्थ्यमा पनि असर पार्ने हुँदा यसतर्फ सचेत गराउन स्वास्थ्य शिक्षाबारे विद्यालय तहमै बढी जानकारी गराउनुपर्ने जिल्ला सामुदायिक अस्पताल लमजुङकी स्त्रीरोग विशेषज्ञ डा. सिर्जना हमाल बताउँछिन् ।

अस्पतालमा प्रसूति सेवाका लागि आउने महिलाहरूको तथ्यांकमा १४ वर्ष उमेरका किशोरी पनि भेटिने गरेको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत युवाराज देवकोटाले बताए । देवकोटाले स्वास्थ्यको दृष्टिले चिन्ताजनक विषय भएकाले उनीहरूलाई सम्झाइबुझाइ पठाउने गरिएको बताए ।

विशेष गरी ग्रामीण क्षेत्रका दलित र जनजाति समुदायका महिलाहरूले सानै उमेरमा बिहे गर्ने र छिट्टै गर्भवती हुने स्वास्थ्यकर्मी बताउँछन् । २० देखि ३५ वर्ष उमेरसम्म मात्र गर्भवती हुँदा स्वास्थ्य राम्रो हुने अस्पतालकी नर्सिङ प्रमुख राममाया ठकुरी बताउँछिन् । २० वर्षभन्दा कम र ३५ वर्षभन्दा माथिको उमेरमा गभर्वती हुँदा पाठेघर खस्ने, विभिन्न रोगको संक्रमण तथा मृत्युको जोखिम धेरै हुने नर्सिङ प्रमुख ठकुरीको भनाइ छ । जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिकामा गरी ६ सय ६९ जना महिला स्वास्थ्य स्वयंसेवीकाहरूबाट आमा सुरक्षा कार्यक्रम सञ्चालन भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङका सुरक्षित मातृशिशु कार्यक्रम फोकल पर्सन अम्बिका केसीले बताइन् ।

ग्रामीण तहसम्म मातृशिशु कार्यक्रमलाई सञ्चालन गरेसँगै पछिल्लो समय स्वास्थ्य संस्थामा गर्भ परीक्षण तथा प्रसूति सेवा लिनेको संख्यामा पनि वृद्धि हुँदै गएको फोकल पर्सन केसीको भनाइ छ । कम उमेरमा गर्भवती हुँदा स्वास्थ्यमा गम्भीर समस्यासमेत पर्ने भएकाले सचेतना बढाउन महिला स्वास्थ्य स्वयंसेविकाको सहयोग लिइएको जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख केशवप्रसाद चापागाईंले बताए ।

जिल्ला सामुदायिक अस्पताल लमजुङमा आर्थिक वर्ष ०७४/७५ मा १ हजार १ सय ९० जनाले अस्पतालबाट प्रसूति सेवा लिएकोमा २० वर्ष मुनिका ३ सय ६३ जना छन् । त्यस्तै आव ०७३/७४ मा १ हजार २ सय २ जनाले प्रसूति सेवा लिएकामा २ सय २५ जना २० वर्ष मुनिका थिए । आव ०७२/७३ मा १ हजार २ सय २५ जनाले प्रसूति सेवा लिइएकोमा २ सय ५६ जना २० वर्षमुनिका रहेको अस्पतालको तथ्यांकमा छ ।

लमजुङमा आव ०७३/७४ मा ४१ प्रतिशत महिलाले स्वास्थ्यसंस्थामा प्रसूति गराएका छन् जसमध्ये करिब ३० प्रतिशतले जिल्ला सामुदायिक अस्पतालबाट सेवा लिएका जिल्ला सामुदायिक अस्पतालका इमर्जेन्सी अफिसर गणेश गुरुङले बताए । लमजुङ, मनाङ, तनहुँ र गोरखा क्षेत्रमा पायक पर्ने अधिकांश महिला स्वास्थ्य संस्थाबाट सेवा लिने गरेको अस्पतालले जनाएको छ ।

महिलाहरूकै अगुवाइमा निगरानी समूह पनि बनाई सचेतनाका कार्यक्रम अघि बढाइए पनि कम उमेरमा विवाह गरी गर्भवती हुने, घरमै प्रसूति हुनेजस्ता कार्यमा भने अझै न्यूनीकरण हुन नसक्नु सरोकारवाला निकायलाई चिन्ताको विषय बनेको तत्कालीन महिला तथा बालबालिका कार्यालय लमजुङकी महिला विकास निरीक्षक सीतादेवी गैरे बताउँछिन् ।

नेपालको तथ्यांक अनुसार सरदर विवाहको औसत उमेर किशोरमा २१.५ वर्ष र किशोरीमा १७. ५ वर्ष छ । राष्ट्रसंघीय जनसंख्या कोषले १० देखि १९ वर्षका उमेर समूहकालाई किशोर किशोरीका रूपमा परिभाषित गरेको छ । दैनिक विश्वमा १ करोड ८० लाख युवती प्रजननका लागि सहभागी हुने भए पनि उनीहरूमा प्रजननबारे वास्तविक ज्ञानको अभाव देखिएको छ ।

कम उमेरमै सन्तान जन्माएका युवती । नवीनराज कुइँकेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.