मल पाउन गाह्रो

मल पाउन गाह्रो

 सिरहा : औरही गाउँपालिका–१ दरहिया गाउँका दिनेश यादव मंगलबार एक बोरा डीएपी (रासायनिक मल) लिन ४० किलोमिटर टाढा लहान बजार आए । भारतबाट मलखाद ल्याउन भारतीय प्रहरीले रोक लगाएपछि यादव लहान आएका हुन् ।

१० बिघा जग्गामा धान खेती गरेका उनलाई एक बोरा मलले पुग्दैन तर त्योभन्दा बढी मल कृषि सामग्री कम्पनीले दिने गरेको छैन । नागरिकता देखाएपछि प्रतिव्यक्ति एक बोरा मल कम्पनीले उपलब्ध गराउँछ ।

लहान नगरपालिका–२२ सिसवनीका सञ्जीव चौधरीले तीन दिन धाउँदा एक बोरा मल पाए । उनका अनुसार धान रोपाइँ भइरहेकै बेला मल अभाव हुँदा किसान मर्कामा परेका छन् । उनीहरूजस्तै बिहानदेखि लाइनमा बसेर रामबहादुर सिंह, बेचनीदेवी साफी, देवसुनैर साफी, रामकुमार यादवलगायतले एक÷एक बोरा मल लिएका छन् ।

कृषि सामग्री कम्पनी शाखा प्रमुख चन्द्रप्रसाद चौलागाईंका अनुसार सहकारी संस्थालाई मलखाद दिइन्छ, त्यसपछि किसानले त्यहाँबाट किन्छन् । ‘प्रत्येक किसानलाई बोराका बोरा मल दिने प्रावधान छैन’, उनले भने, ‘सहकारीमार्फत गाउँ–गाउँमा खाद पठाउने गरेका छौं ।’ केन्द्रबाट पर्याप्त मलखाद नपठाइएको उनले जानकारी दिए । ‘सिरहामा कम्तीमा २० हजार बोरा डीएपी मल आवश्यक छ’, उनले भने, ‘तर, यहाँ अहिलेसम्म ५ हजार बोरा मात्र आएको थियो, ४ हजार बोरा बेचिसकेका छौं । बाँकी स्टकमा छ ।’

उनका अनुसार युरिया पर्याप्त छ । धान रोपाइँका बेला डीएपी मल चाहिन्छ । ‘केन्द्रले समयमा मलखाद नपठाएपछि हामीले किसानलाई उपलब्ध गराउन सकेनौं’, उनले भने, ‘हामीले यहाँका सयवटा सहकारीलाई मल उपलब्ध गराउँदै आएका छौं ।’ उनका अनुसार सहकारीले ५ प्रतिशत नाफा लिएर किसानलाई बेच्न गरेका छन् । ‘सहकारीले कसरी मल बेच्छन् ? त्यसको अनुगमन गर्ने निकाय जिल्ला प्रशासन कार्यालय हो’, उनले भने, ‘सहकारीले बढी मूल्य लिएर बेच्ने गरेको सुनिन्छ, त्यसको अनुगमन जरुरी छ ।’

बजारमा मल किन्दा महँगो पर्ने गरेको किसान रामबहादुर सिंहको गुनासो छ । ‘भारतबाट मलखाद आउन दिएको भए सस्तो हुन्थ्यो’, उनले भने, ‘कम्पनीबाट सहकारीमार्फत गाउँ–गाउँ मल जान्छ तर बिचौलियाले किसानलाई महँगोमा बेच्ने गरेका छन् ।’ कृषि सामग्री कम्पनीमा २ हजार १ सय ८८ पर्ने मल किसानकहाँ पुग्दा बोराको ३ हजार रुपैयाँसम्म पुग्ने गरेको उनले सुनाए ।

‘समयमा पानी पर्दा गत वर्ष हामीले राम्रो उब्जनी हुने आशा गरेका थियौं’, सखुवानन्कारकट्टी गाउँपालिका–३ महदेवाका रामकुमार यादवले भने, ‘अहिले पानी पर्दैन, मलखाद पनि अभाव छ । रोपेको धान पनि जोगाउन धौधौ भयो ।’

विद्युतीय मोटरबाट पानी चलाएर धान पटाउने गरेको उनको भनाइ छ । ‘गाउँ–गाउँमा सरकार भन्छ तर किसानलाई कुनै सहुलियत भएको अनुभूति भएको छैन्’, उनले भने, ‘किसानलाई कहिले उँभो लाग्ने खोइ ? ’

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.