सुत्केरी भैसीलाई भत्ता !
म्याग्दी : मंगला गाउँपालिकाले सुत्केरी भैंसी पाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ । सुत्केरी अवस्थाका गाईभैंसीको स्याहारसुसार र आहारामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहारा सुत्केरी भत्ता वितरण गरिने भएको हो ।
यसवर्ष १९ भैंसीपालक कृषकलाई तीन हजारका दरले सुत्केरी भत्ता उपलब्ध गराइएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख दीर्घबहादुर खड्काले जानकारी दिए । कुहुँका आठ, बाबियाचौरका एक र बरंजाका १० कृषकलाई सुत्केरी भैंसीको आहाराका लागि भत्ता उपलब्ध गराइएको हो ।
व्यावसायिक पशुपालनतर्फ आकर्षित गरी दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले आगामी वर्षमा समेत कार्यक्रमलाई निरन्तरता दिइने खड्काले बताए । घाँसपातबाहेक अन्य पोषणयुक्त खानेकुरा नदिँदा पशुुको आयु कम हुने, विभिन्न रोगले सताउने, बिरामी हुने र दूध उत्पादन घट्ने समस्या छ ।
मंगला गाउँपालिकाले पाँचजना व्यावसायिक बाख्रापालक कृषकलाई एक लाखका दरले अनुदान उपलब्ध गराएको छ । हिदीका देवेन शर्मा, बमबहादुर पुन, थाइवाङका विश्वास पौडेल, कुहुँका रणबहादुर खत्री र बरंजाका पूर्ण आचार्यले बाख्रापालन व्यवसाय विस्तार र खोर सुधारका लागि अनुदान पाएका हुन् ।
कुहुँका योगेन्द जुक्जाली, अर्मन धाराका वीरबहादुर खड्का, हिदीका बेलबहादुर विक, पखेरका डेकबहादुर थापा र भाइवाङकी थीरमति शर्माले उन्नत जातको बोका खरिद गर्न १५ हजारका दरले अनुदान पाएका हुन् ।
रासस