गोरखा दरबारमा सिमेन्टको जग

गोरखा दरबारमा सिमेन्टको जग

गोरखा : ४ सय वर्ष पुरानो गोरखा दरबार पुनर्निर्माण गर्न पुरातत्व विभागले बढीमा १ सय वर्ष टिक्ने सिमेन्टको जग बनाएको छ । जगमा सिमेन्ट प्रयोग भएपछि गोरखा दरबार तथा गोरखाकाली मन्दिर दर्शन गर्न आउने भक्तजनहरूले आलोचना गर्न थालेका छन् ।

‘चार सय वर्ष पुरानो गोरखा दरबार भत्काएर मुस्किलले एक सय वर्ष टिक्ने सिमेन्ट प्रयोग गरिएको छ’, गोरखकाली मन्दिरका पुजारी शारदाप्रसाद भट्टराईले भने, ‘दरबार प्रशासनले किन टुलुटुलु हेरेर बसेको होला ? ’ डिजाइनअनुसार नै गरेको भए पनि डिजाइन गलत हुन सक्ने उनले तर्क गरे ।

प्राचीन दरबारहरू पटकपटक बनाइरहने खालको नहुने भन्दै गोरखकाली दर्शन गर्न दाङबाट आइपुगेका रमण पौडेलले झारा टार्ने खालको काम गर्नबाट रोक्नुपर्ने तर्क गरे । ‘दरबार भन्ने कुरा व्यक्तिको घरजस्तो होइन नि’, उनले भने, ‘पहिलेका दरबारहरू चार सय, पाँच सय वर्ष टिक्ने गरी जेजे प्रयोग गरेर बनाइन्थ्यो, त्यही प्रयोग गरेर बनाउनुपर्छ ।’ पुनर्निर्माणका लागि धेरै समय लागे पनि बलियो संरचनाका लागि सम्झौता गर्न नहुने उनले तर्क गरे ।

पुनर्निर्माणका लागि दरबार भत्काउने क्रममा शंकास्पद ठूला खाल्डाहरू भेटेपछि निर्माण कम्पनीले रड र सिमेन्ट प्रयोग गरी जग ढलान गरेको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ । ‘जगमा खाल्डाखुल्डी भेटिएपछि ठेकेदारले रड, सिमेन्ट र रासयनिक सामग्री प्रयोग गरी ढलान गरेको हो’, अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले भने, ‘सिमेन्ट प्रयोग किन गरिएको भनेर हामीले सोधेका पनि थियौं । उपचार गरिएको सिमेन्ट हो । यहाँभन्दा माथि प्रयोग हुदैन भनेर जवाफ दिए ।’ सबै काम विभागले गर्ने हुँदा आफूहरूलाई केही थाहा नहुने उनले बताए ।

विसं १६८६ मा निर्माण गरिएको गोरखा दरबार ०७२ सालको भूकम्पले भत्किएको थियो । भत्किएको तीन वर्षपछि पुरातŒव विभागले पुनर्निर्माणको काम सुरु गरेको छ । ४ करोड ३७ लाख रुपैयाँको लागतमा दरबार पुनर्निर्माण गर्न लागिएको सूचना अधिकारी कट्टेलले जानकारी दिए । पचली, शिवाको जेभी निर्माण कम्पनीले दरबार पुनर्निर्माणको काम थालेको उनले जानकारी दिए ।

तर दरबार पुनर्निर्माणको काम भने तीन सातादेखि ठप्प छ । जग पुरेर काम रोकेको दरबार हेरचाह अड्डाले जानकारी दियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.