वनको जग्गा मिचेर होटल

वनको जग्गा मिचेर होटल

पोखरा : डेढ अर्ब रुपैयाँ लगानीमा सराङकोटमा बनेको अन्नपूर्ण भ्यु होटल सराङकोटले सरकारी वन र पर्तीसमेत गरी ९ रोपनी जमिन मिचेको भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले होटलले बदमासी ठहर गरेपछि कारबाही प्रक्रिया अघि बढेको छ । जिल्ला प्रशासन कार्यालयमा सीडीओ तारानाथ अधिकारीको अध्यक्षतामा बुधबार बसेको बैठकले वन मिचेर बनेको होटलको भाग भत्काउने प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

पोखरा–लेखनाथ महानगरपालिका अमिनहरूले बिहीबार उक्त होटलले मिचेको जमिन नापजाँच गरेका छन् । उनीहरूले वन तथा अरू सार्वजनिक जमिन मिचिएको ठाउँमा चिनो लगाए । होटल सञ्चालकमध्येका एक तीर्थराज अधिकारीले ९ रोपनी नभई १० आनामा होटलको बिल्डिङको केही भाग परेको स्विकारे । उक्त भागसमेत गाविसबाट लिजमा लिइएको उनको भनाइ थियो । ‘मन्त्रिपरिषद्बाटै निर्णय गराएर लिज अनुमति लिने प्रक्रियामै थियौं’, उनले भने ।

होटललाई कारबाहीको जिम्मेवारी पोखरा–लेखनाथ महानगरलाई दिने निर्णय बैठकले गरेको थियो । अख्तियार, महानगर, वन, नापी, मालपोत, नेपाल प्रहरी, सशस्त्र प्रहरी र हेभी इक्विपमेन्ट कार्यालय प्रमुख र प्रतिनिधिको बैठकले उक्त निर्णय गरेको हो । यसअघि नै सीडिओ अधिकारीले अतिक्रमण गरी बनेका संरचना हटाउन आदेश गरी असार ५ गते होटललाई पत्राचार गरेका थिए । ‘त्यो आदेश पालना नभएकाले अब हामीले नै हटाउनुपर्ने भयो’, सीडीओ अधिकारीले अन्नपूर्णसँग भने ।

होटेलको १८ वटा कोठा, पालेघर, पार्किङ, ट्रान्समिटर जेनेरेटर मेसिन घर, कम्पाउन्ड वाल, स्टेडियमलगायतले वन क्षेत्र मिचेको अख्तियारको ठहर छ । त्यस्तो ठहरसहित सार्वजनिक सम्पत्ति खाली गरी सार्वजनिक गर्न अख्तियारले जिल्ला प्रशासन कास्कीलाई जेठ २४ गते पत्राचार गरेको थियो । त्यही एजेन्डामा बुधबार प्रशासनमा बसेको बैठकले अख्तियारको निर्देशन कार्यान्यन गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासनले यसअघि नै होटललाई सार्वजनिक जमिन र वन अतिक्रमण गरी बनेका संरचना भत्काउन ३५ दिने म्यादसहितको पत्र पठाउँदा पनि अटेरी भएको जनाएको छ । ‘हेभी इक्विपमेन्ट कार्यालयका उपकरण प्रयोग गरी संरचना भत्काउने र लागेको खर्च स्वयं होटलबाट असुली गर्ने निर्णय भएको छ’, बैठकका एक सहभागीले भने । निर्माण लगभग पूरा भइसके पनि सञ्चालनमा भने आइसकेको छैन ।

होटलले वनको जग्गा ४ रोपनी ३ आना, बाटोको ३ रोपनी १० आनालगायत जमिन मिचेको अख्तियारको ठहर छ । तत्कालीन सराङकोट गाविसका सचिव र राजनीतिक दलका स्थानीय प्रतिनिधिले कानुनविपरीत होटललाई वनको जमिन लिजमा दिएको अख्तियारको भनाइ छ । ‘कानुनविपरीत होटल अन्नपूर्ण भ्युलाई भवन निर्माणको अनुमतिले सरकारी वनको जग्गा अतिक्रमण भएको छ’, अख्तियारले जिल्ला प्रशासनलाई लेखेको पत्रमा उल्लेख छ, ‘वन कित्ता नं २५८ र २६३ को जग्गामध्येबाट ५ रोपनी जग्गा होटेलले प्रयोग गर्ने र त्यसबापत गाविसले वार्षिक २ लाख ५० हजार भाडा लिने गरी २०६८ कात्तिक २९ मा सम्झौता छ ।’ होटल सञ्चालकमध्येका एक त्रिपाठीले कित्ता नं २६३ को ३२६ वर्गमिटरमा होटलको बिल्डिङको केही भाग परेको स्विकारे ।

वन र वनसँग जोडिएको जग्गा भाडामा दिने कानुनी हैसियत गाविससँग नभएको अख्तियारको ठहर छ । वन क्षेत्रसँग जोेडिएका पर्ती जग्गा पनि राष्ट्रिय वनकै हुने व्यवस्था वन ऐन २०४९ को दफा २ (ङ) ले गरेको छ । होटलले वन र बाटो मिचेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला वन कार्यालयमा उजुरी परेको थियो ।

होटल सञ्चालक त्रिपाठीले भने स्थानीयलाई समेत खानेपानी उपलब्ध गराउन बोरिङ गरिएको हुँदा त्यो होटलको सम्पत्ति नहुने र त्यसलाई मिचेको भन्न नमिल्ने सुनाए । उनले भने, ‘स्टेडियम पनि स्थानीय युवाका लागि बनाएका हौं, होटलको होइन ।’ १० आनामा वनको मिचिएको बाहेक अरू असत्य रहेको उनको भनाइ थियो । उक्त होटलमा पूर्वजापानी नागरिक ताकासी मियाहारा, तीर्थराज त्रिपाठी र जापानीहरूको लगानी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.