भक्तपुर- पोखरा सिधा बस सेवा सुरु
भक्तपुर : भक्तपुरबाट पोखरासम्मका लागि सिधा बस सेवा सञ्चालन भएको छ। सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले शुक्रबार बिहान बस सेवा शुभारम्भ गरेका हुन्। सूर्यविनायक क्षेत्रलाई नगरपालिकाले पर्यटकीय गन्तव्य क्षेत्रका रुपमा घोषणा गर्न लागेको जानकारी दिँदै प्रमुख थापाले पर्यटन विकासको मुख्य आधार बनाउने कार्यक्रम अगाडि ल्याइरहेको बेलामा पर्यटक बस सेवा सञ्चालनले थप मद्दत पुग्ने बताएका हुन्।
भक्तपुरबाट पर्यटकलाई बन्दीपुर र पोखरा लैजाने तथा पोखराबाट पर्यटकलाई भक्तपुर ल्याउने गरी साझेदारी कार्यक्रम सञ्चालन गर्न सकिने उनको भनाई छ । उनले नगरपालिका पर्यटन व्यवसायीसँग पर्यटन विकासको मामिलामा हातेमालो गरेर अगाडि जान तयार रहेको पनि जानकारी दिए।
सेवा उद्घाटनलगत्तै स्वदेशी तथा विदेशी यात्रु बोकेर पोखराका लागि बा १ प १३६३ नंको पहिलो बस सूर्यविनायकबाट गुडेको थियो । ब्यास ट्राभल एण्ड टुर प्रालिले पहिलोपटक भक्तपुरबाट पोखरा सिधा सेवा सञ्चालन गरेको हो।
दैनिक बिहान ६ः३० बजे सूर्यविनायकबाट पोखराका लागि बस गुड्ने र सोही समयमा पोखराबाट अर्को बस भक्तपुरका लागि गुड्ने प्रालिका निर्देशक दीपक भट्टराईले जानकारी दिए। भक्तपुरबाट पोखराका लागि दुई वटा बस सञ्चालनमा ल्याएको बताउँदै उहाँले यात्रुको संख्या बढेमा अरु बस थप गर्दै लैजाने जानकारी दिए।
बसभित्रै शौचालय, वाइफाइ लगायतका सुविधा सम्पन्न बसले प्रतियात्रु आठ सयको टिकट निर्धारण गरेको छ। बस सूर्यविनायकबाट छुटेर यात्रु लिँदै कोटेश्वर, बानेश्वर, माइतीघर, ठमेल, सोह्रखुट्टे, कलंकीहुँदै पोखरा जानेछ । रासस
प्रतिक्रिया दिनुहोस !