सुनसान बने पर्यटकीय बस्ती
ताप्लेजुङ : ताप्लेजुङका उच्च हिमाली क्षेत्रका पर्यटकीय बस्ती सुनसान बनेका छन् । पर्यटकीय सिजन सकिनुका साथै जाडो बढेपछि स्थानीयले गाउँ छाड्न थालेका कारण बस्ती सुनसान बनेका हुन् । पुस दोस्रो सातासम्म पर्यटकको बाक्लो चहलपहल रहेका लेलेप, घुन्सा खम्वाचेनका होटल सुनसान छन्् । अधिकांश स्थानीय बाहिर गएको र बाहिरका नयाँ मान्छे आउन छाडेपछि गाउँ सुनसान भएको लेलेपका छेतेन शेर्पाले बताए । चिसो छल्नका लागि यो बेला धेरैले गाउँ छाडिसकेको उनको भनाइ छ ।
‘चिसो सुरु भएको र पर्यटकीय सिजनसमेत सकिएकाले अधिकांशले गाउँ छाडिसकेका छन्’, उनले भने, ‘कोही छाड्ने तर्खरमा छन् ।’विगतमा गाउँ नै रित्याएर बाहिरिने स्थानीय यसपटक भने केही घरमै बसेको उनको भनाइ छ । यसपटक चिसो कम भएकाले केहीले गाउँ नछाडेका हुन् ।
घुन्साका होटल व्यवसायी अहिले भारतका दार्जिलिङ, सिक्किमसहित काठमाडौं, फुङलिङ बजारलगायत अन्यत्र गइसकेका छन् । उच्च हिमाली क्षेत्रमा चिसो अत्यधिक हुने भएकाले जाडो छल्नका लागि बाहिर जानुपर्ने बाध्यता हिमाली क्षेत्रका बासिन्दाको छ । जाडो छल्न ओलाङचुङगोलाको याङमाका बासिन्दा पनि बाहिर गएका छन् ।
जाडो छल्नका लागि धेरैजसो स्थानीय काठमाडौं जाने गरेको फक्ताङलुङ गाउँपालिकाका प्रवक्तासमेत रहेका ओलाङचुङगोलाका छेतेन शेर्पाले बताए । ‘धेरैजसोका आफन्त काठमाडौंमा रहेकाले उनीहरू उतै जाने गरेका हुन्’, उनले भने । कोही तीर्थयात्राका लागि सिक्किमको तातोपानीसमेत जाने लेलेपका तेन्जिङ वालुङले बताए । ‘सिक्किमको तातोपानीमा गएर नुहाउँदा रोग काट्ने विश्वास छ’, उनले भने ।
‘चिसो सुरु भएको र पर्यटकीय सिजनसमेत सकिएकाले अधिकांशले गाउँ छाडिसकेका छन् । कोही छाड्ने तर्खरमा छन् ।’ छेतेन शेर्पा, लेलेप
अत्यधिक चिसो हुने भएकाले यहाँका बासिन्दा बाह्रै महिना गाउँमा बसोबास गर्न सक्दैनन् । तर, विगतका वर्षहरूमा सेताम्मे हुने अधिकांश हिमाली क्षेत्रमा यसपटक हिउँ नपरेको छेतेनको भनाइ छ । ‘पुस दोस्रो सातादेखि हिउँ पर्न थाल्नुपर्ने हो’, उनले भने, ‘यसपटक तुसारो मात्र परेको पर्यै छ ।’
तुलनात्मक रूपमा यसपटक चिसो कम रहेको उनले सुनाए । पर्यटकीय र जडीबुटी पाइने क्षेत्र भएकाले यहाँका अधिकांश स्थानीय पर्यटन तथा अन्य व्यवसायमा आबद्ध छन् । हिउँदमा काम नहुने भएकाले परिवार सबै भेटघाट गरी विभिन्न ठाउँमा घुम्न जाने गरेको वालुङको भनाइ छ । उनका अनुसार बाहिर गएकाहरू ग्याल्बो ल्होसार मनाउने गरी मात्रै गाउँ फर्किन्छन् । ‘ल्होसार गाउँमै मनाउने परम्परा रहेकाले फागुन पहिलो सातादेखि फेरि गाउँमै चहलपहल बढ्छ’, उनले भने ।
प्रतिक्रिया दिनुहोस !