त्रिशूलीमा खस्यो कार : बाढी छिचोल्दै निस्किए दुईजना, अर्का एक गम्भीर
त्रिशूली : शुक्रबार दिउँसो त्रिशूलीमा एउटा कार खसेको छ । धादिङतर्फबाट चितवन जाँदै गरेको कालो रङको कार गलौदी नजिकैको सडकबाट त्रिशूलीमा खसेको हो ।
कारभन्दा पछाडिको गाडीमा चितवन जाँदै गरेका अन्नपूर्णकर्मी यम विरहीका अनुसार अगाडि रहेको ट्रकले मोड्ने क्रममा ब्रेक लगाउँदा कार सीधै त्रिशूलीमा खसेको थियो।
'कारभन्दा अगाडि रहेको ट्रकले अचानक ब्रेक लगाउँदा कारले ब्रेक नलगाई मोड्ने क्रममा त्रिशूलीमा खसेको हो’, प्रत्यक्षदर्शी अन्नपूर्णकर्मी विरहीले घटनास्थलबाट भने, ‘कार त्रिशूलीमा डुबेको पाँच मिनेटमा दुईजना पौडिएर निस्किए ।’
अर्का एकजनालाई भने नेपाली सेनाको सहयोगमा पौडिएर निस्किएका दुईजनाले नै गाडीबाट निकालेका छन् । दुईजना सामान्य घाइते छन् भने एकजनालाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ ।
‘बाढी आएर डरलाग्दो बनेको त्रिशूलीमा खसेको कारबाट चालक र अर्का एक यात्रु हिम्मत जुटाएर कारबाट निस्किएका थिए । नेपाली सेनाको टोलीले डोरी दिएपछि बाढीमा उत्तानो परेको कारलाई पल्टाएर दुईजनाले अड्किएका अर्का एकजनालाई कारबाट निकालेका हुन् । ’
कारको नम्बर र कारमा सवार व्यक्तिबारे भने केही खुलेको छैन । अन्तिममा निकालिएका युवाले भने धेरै पानी खान पुग्दा उनको अवस्था जटिल रहेको छ।
प्रतिक्रिया दिनुहोस !