त्रिशूलीमा कार खस्दा एकको मृत्यु, दुई सामान्य घाइते
धादिङ : पृथ्वी राजमार्गको नौबीसे–मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जहरेखेतबाट त्रिशुली नदीमा कार खस्दा एकजनाको मृत्यु भएको छ । घटनामा अन्य २ जना सामान्य घाइते भएका छन् ।
काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको वा १४ च ३७५८ नम्बरको कार अगाडिको ट्रकलाई ओभरटेक गर्ने क्रममा तीव्र गतिका कारण त्रिशुलीमा खस्न पुगेको थियो ।
कारमा सवार ३ जनामध्ये २ जना पौडी खेलेर बाहिर निक्लन सफल भएका थिए । पौडी खेलेर बाहिर निक्लने ललितपुर इमाडोलका शैलेन्द राउत र चालक रामेछापका सानुवावु सुनुवार रहेका छन् ।
उनीहरु बाहिर निक्लेपछि कारमा बाँकी रहेका अर्का एक जनालाई पनि प्रहरी र नेपाली सेनाको सहयोगमा बाहिर निकालिएको थियो । तर गजुरी अस्पतालमा उपचार गर्दा गर्दै उनको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की बैदामका मधुकर सुवेदी रहेको इलाका प्रहरी कार्यलय गजुरीका प्रमुख प्रहरी निरीक्षक सन्जय तिमिल्सेनाले जानकारी दिए ।