महाकालीपरिका गाउँ बाढीको जोखिममा
महेन्द्रनगर : करिब साढे दुई दशकअघि महाकाली नदीमा निर्माण गरिएको तटबन्ध कमजोर बन्दै जान थालेपछि महाकालीपारिको बस्ती नै उच्च जोखिममा परेको छ।
महाकाली नदीले केही वर्षयता तटबन्धमा क्षति पुर्याउन थालेपछि बस्ती उच्च जोखिममा परेको हो। ०७० सालमा महाकाली नदीमा आएको बाढीले तटबन्धको विभिन्न स्थानमा क्षति पुर्याएको थियो। त्यसयता हरेक वर्ष कमजोर स्थानमा नदीले कटान गर्न थालेको स्थानीय बताउँछन्। तटबन्धमा लगाइएको जालीसमेत खिया लागेर नदीले बगाइसकेको छ भने ढुंगासमेत बगाइसकेको छ।
‘जति जति नदीले कटान गर्दै छ, त्यति त्यति हरेक वर्ष खतरासमेत बढ्दो छ’, स्थानीय पदमराज भट्टले भने, ‘सरकारले महाकालीपारिको बस्ती जोगाउन तत्काल यो तटबन्ध पुनर्निर्माण थाल्नु जरुरी देखिन्छ।’ साविकको दोधारा–चाँदनी क्षेत्रको बयलबन्द क्षेत्रमा तटबन्ध भत्किएर महाकाली नदी गाउँ पसेको थियो। त्यसयता हरेक बर्खामा विभिन्न स्थानमा पानीको उच्च बहावले तटबन्धलाई क्षति पुर्याइरहेको छ।
दुई दशकअघि जापान सहयोग नियोग जाइकाले बयलबन्ददेखि कुतियाकवरसम्म करिब २३ किलोमिटर लामो तटबन्ध निर्माण गरेको हो। उक्त तटबन्ध निर्माणपछि मात्रै साविकको दोधारा–चाँदनी क्षेत्रमा मानिसको बस्ती बाक्लो भएको थियो।
‘जाइकाले बनाएको यो तटबन्ध निकै कमजोर भइसकेको अवस्थामा छ’, महाकाली नगरपालिकाका उपमेयर चिनी गिरीले भनिन्, ‘केही वर्षदेखि महाकाली नदीमा आउने बाढीका कारण तटबन्ध ठाउँ–ठाउँमा भत्किन थालेको छ।’
तटबन्ध निर्माण भएपछि मात्रै यहाँ पक्की घर र मानिसको बाक्लो बसाइ भएको उनले बताइन्। तटबन्ध कमजोर हँुदा महाकाली नदीको भंगालो नै दोधारा–चाँदनी पस्ने खतराले स्थानीय त्रसित छन्।
तटबन्ध भत्किने क्रम बढेसँगै दोधारा–चाँदनी क्षेत्रमा समेत बाढीको जोखिम बढ्दै जान थालेको छ। ‘यो तटबन्ध निकै जीर्ण भइसक्यो, अब यसको सरकारले तत्काल पुनर्निर्माण थाल्नुपर्छ’, महाकाली नगरपालिका— १ का अध्यक्ष अर्जुनदत्त भट्टले भने, ‘सरकारले टुक्रे बजेट विनियोजन गरेर हुँदैन, यसमा एकैचोटि बलियो गरी तटबन्ध पुनर्निर्माण थाल्नुपर्छ।’ सरकारले चालु आर्थिक वर्षको बजेटमा तटबन्ध पुनर्निर्माणका लागि कुनै बजेट विनियोजन नगरेको उनले बताए।
स्थानीय जनप्रतिनिधि स्थानीय स्तरमा उक्त तटबन्ध पुनर्निर्माण गर्न नसकिने हुँदा संघीय सरकारले नै यसको पुनर्निर्माण थाल्नुपर्ने बताउँछन्। ‘हामीले पटक–पटक प्रदेश र संघीय सरकारका प्रतिनिधिलाई घच्घच्याइसकेका छौं’, वडा नम्बर ७ का अध्यक्ष ज्ञानेन्द्र बयकले भने।
साविकको दोधारा–चाँदनी क्षेत्र एकातर्फ महाकाली नदीको उच्च जोखिममा छ भने अर्काेतर्फ जोगबुढा नदीले समेत त्यत्तिकै असर पुर्याइरहेको छ। जोगबुढा नदी नियन्त्रणका लागि समेत सरकारको ध्यान जानुपर्ने स्थानीयको माग छ।
जोगबुढामा पनि साढे २ दशकअघि निर्माण भएको तटबन्ध निकै कमजोर भइसकेको छ। ‘सामान्यतया ग्याबिन जाली राखेर निर्माण गरिएको तटबन्धको आयु नै १०÷१५ वर्षको हुन्छ’, जनताको तटबन्ध कार्यालयका प्रमुख प्रचण्डदेव विष्टले भने, ‘यो तटबन्धसमेत त्यही प्रविधिमा बनेको, थियो, अहिले यो निर्माण भएकै २० वर्ष बढी भइसक्यो।’ उनले तटबन्ध निकै कमजोर भइसकेकाले उच्च जोखिमसमेत बढ्दै गएको बताए।
‘तटबन्धका जाली बगिसके भने जालीभित्रका ढुंगासमेत छैनन्’, उनले भने, ‘महाकाली ०७० सालकै जस्तो आयो भने निकै खतरा हुने अवस्था छ।’ उनले विभाग र केन्द्रमा तटबन्धको पुनर्निर्माणका लागि पटक–पटक ध्यानाकर्षण गराइसकेको बताए। जनताको तटबन्ध कार्यक्रमले पनि १२ वर्षे गुरुयोजना बनाएर पुनर्निर्माणको खाका विभागमा बुझाइसकेको छ।
आर्थिक वर्ष ०७४÷७५ मा बढी क्षति भएको झोलुंगेपुलदेखि उत्तर र दक्षिणी क्षेत्रमा गरी २ हजार १ सय ५० मिटर तटबन्ध पुनर्निर्माण थालिएको हो। गत आर्थिक वर्षमै सक्नुपर्ने भए पनि उक्त काम यस वर्ष पनि सम्पन्न हुन सकेन।
अहिले चालु आर्थिक वर्षमा सोही काम निरन्तरताबाहेक तटबन्धको पुनर्निर्माणका लागि थप बजेट तथा कार्यक्रम नरहेको जनताको तटबन्ध कार्यालयले जनाएको छ। २६ करोड लागतमा उक्त तटबन्धमा पहिलो चरणमा काम सुरु भएको थियो।