एयरपोर्टमा द्वन्द्वका टनेल

एयरपोर्टमा द्वन्द्वका टनेल

रोल्पा : रोल्पाको एक मात्र विमानस्थल अलपत्र परेको छ । २०४५ सालसम्म सेनाको ट्विनटर जहाजले उडान भर्दै आएको थियो । त्यसयता वडाचौर विमानस्थल बन्द अवस्थामा छ ।

विमानस्थलमा जहाजको नभई दशबर्से द्वन्द्वको ‘डोब’ देख्न सकिन्छ । जहाज अवतरण गरिँदै आएको चौरभरी द्वन्द्वकालीन बंकर र टनेल बनाइएको अवशेष अहिले पनि छन् । द्वन्द्वकालीन समयको उत्तराद्र्धमा तत्कालीन विद्रोही नेकपा माओवादीले जिल्लाका खुलाचौर र अग्ला डाँडामा सयौं बंकर र टनेल निर्माण गर्न लगाएका थिए ।

उतिबेला नै विमानस्थलको खुलाचौरमा पनि बंकर र टनेल निर्माण गरिएको हो । सुनछहरी गाउँपालिका–४ सिउरीबासी एवं पत्रकार हर्क घर्ती मगर भन्छन्, ‘एयरपोर्टमा अंग्रेजी सी, ओ, एल र प्लस आकारका बंकर बनाइएको अहिले पनि देख्न सकिन्छ ।’ लामा लामा सुरुङ पनि खनिएको छ । बंकर र टनेलमा अहिले हरियो दुबो उम्रिएको छ । टाढैबाट देख्न सकिने एयरपोर्ट पुग्दा द्वन्द्वकालीन झल्को दिन्छ । स्थानीयका अनुसार द्वन्द्वताका एयरपोर्टमा ‘दुस्मनको हेलिकोप्टर र फौज’ उत्रिन सक्ने भन्दै काठको लिंगो गाड्नसमेत पठाएका थिए । काठको लिंगो ठडिएकाले हेलिकोप्टर बस्न नसक्ने र टनेलबाट फौजी प्रतिरोध गर्ने प्रयोजनले यस्तो संरचना बनाएको तत्कालीन विद्रोही एक नेताले बताए ।

विमानस्थल सञ्चालनका लागि जनताले पटकपटक माग गर्दै आए पनि नेता र सरकारी तवरबाट सुनुवाइ हुन सकेको छैन । नेताले चुनावका बेला विमानस्थल सञ्चालनको एजेन्डा नबनाएका पनि होइनन् । तर एजेन्डा चुनावी नारामै सीमित भयो । सदरमुकाम लिबाङबाट ३५ किलोमिटरको दूरीमा रहेको विमानस्थल दुई वर्षअघि उपराष्ट्रपति नन्दबहादुर पुनले सुलिचौर–गाम सडकको उद्घाटन गर्न आएका बेला अवलोकनसमेत गरे ।

राष्ट्रपति पुनसँगै त्यसबेलाकी सभामुख ओनसरी घर्ती, हालका सभामुख कृष्णबहादुर महरा, ऊर्जामन्त्री वर्षमान पुनले बडाचौर विमानस्थलमा हेलिकोप्टर अवतरण गरी अवलोकन गरेका थिए । सरकारका विशिष्ट पदमा भएकाहरूले अवलोकनपश्चात् सञ्चालनमा पहल गर्ने बताएपछि गाउँले हौसिएका थिए । अवलोकनपश्चात् उपराष्ट्रपति पुनले अलपत्र विमानस्थल पुनः सञ्चालनमा ल्याउने बचनसमेत दिएका गाउँले अझै स्मरण गर्छन् ।

‘उपराष्ट्रपति पुनले अर्थमन्त्री रहेका बेला तत्काल दुई करोड छुट्याएर अलपत्र विमानस्थल मर्मत र संरक्षण गर्न निर्देशनसमेत दिएका थिए’, एयरपोर्ट सञ्चालनको पहल गर्दै आएका राप्रपा नेता अमरबहादुर थापा बताउँछन् । विमानस्थलमा उम्रिएका बुट्यान बिरुवा उनकै पहलमा फडानी पनि गरिएको छ । ‘मेरो व्यक्तिगत पहलमा भए पनि ट्विनटर जहाज अवतरण गराएर नेता र सरकारलाई चुनौती दिने सोचमा छु’, अमरबहादुर जोसिँदै भन्छन्, ‘जिल्लामा एउटा विमानस्थल हुनैपर्छ ।’

२०४५ सालसम्म तत्कालीन शाही नेपाल वायु सेवा निगमका ट्विनटर विमानले यहाँ उडान भर्दै आएका थिए । राप्रपा नेता थापाका अनुसार ०३५ सालमा विमानस्थल निर्माण भएको हो । पञ्चायतकालमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका बालाराम घर्तीमगरले विमानस्थल उद्घाटन गरेका थिए ।

डोल्पाको डुनै–रोल्पाको बडाचौर–पोखरा र काठमाडौं सातामा एकपटक उडान हुँदै आए पनि बहुदलपश्चात् विमानस्थल बन्द भएको हो । सशस्त्र द्वन्द्वले यहाँका भौतिक संरचना भत्किएका छन्, कार्यालय भवनहरू भग्नावशेष बनेका छन् । पूर्वपश्चिम राजमार्ग भालुबाङदेखि लिबाङसम्म सडक जोडिएपछि र सरकारी बेवास्ताका कारण विमानस्थल बौरिन नसकेको हो ।

माओवादीका तत्कालीन नेता लोकेन्द्र विष्ट मगर पर्यटन मन्त्री छँदा विमानस्थल बन्ने निकै चर्चासमेत चलेको थियो । नेताहरूले सदरमुकाम नजिकका स्थानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनको पहलसमेत थालेका थिए । पूर्वीरोल्पालीले अलपत्र विमानस्थल सुचारु गर्न पहल नगरेको र नयाँ विमानस्थलको खोजी भएको भन्दै विरोधसमेत जनाएका थिए । त्यसपछि विमानस्थलको चर्चा सेलाएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.