सरकारी कार्यालयमा छैन पार्किङ
बिर्तामोड : सवारी साधन लिएर जिल्ला प्रशासन कार्यालय झापा गए ५ सय मिटर अगाडिको सडकछेउ पार्किङ गर्नुपर्र्छ । कार्यालय अगाडि सेवाग्राहीले सवारी साधन पार्किङ गर्लान् कि भनेर प्रहरी नै खटिएका छन् । दायाँ–बायाँ ‘नो पार्किङ’ लेखिएका बोर्ड राखिएका छन्, जसका कारण सेवाग्राही ५ सय मिटर परबाट पैदलै प्रशासन कार्यालय पुग्नुपर्छ ।
मालपोत, वन, आन्तरिक राजस्व, भूमिसुधार र निर्वाचन कार्यालयमा पनि सेवाग्राहीका लागि पार्किङ सुविधा छैन । बजारबाट कार्यालय क्षेत्रतर्फ जाने सडकका दायाँ–बायाँ अव्यवस्थित रूपमा पार्किङ गरिने हुँदा दैनिकजसो अस्तव्यस्त बन्ने गरेको छ ।
केही सेवाग्राहीले सवारी साधन जिसस, शिक्षा, सिँचाइ र अदालतको गेट खुला हुने भएकाले त्यही कार्यालय परिसरमा राख्छन् । यी स्थान पनि भरिएपछि मुख्य सडकका दायाँ–बायाँ क्षेत्रमा सवारी साधन राख्न सुरु हुन्छ । सबैभन्दा बढी चाप हुने सरकारी कार्यालयमै पार्किङ नहुँदा सेवाग्राहीलाई सास्ती हुने गरेको छ ।
पार्किङ निषेधित क्षेत्र तोकिएका कार्यालय अगाडि दुवैतर्फ सडकमै पार्किङ गर्नुपर्ने समस्या छ । मालपोत, प्रशासन र राजस्वमा आउने ठूला व्यवसायीसँग पालेको चिनजान भएकाले सोझै प्रवेश गर्न दिने तर अरूलाई भित्र पार्किङमा निषेध गर्ने परिपाटी पनि रहेको जनाइएको छ । ‘करिब एक किलोमिटर पर सवारी साधन राखेर कार्यालय आउनुपर्छ, कहिले हेलमेट चोरिएको हुन्छ त कहिले लुकिङ ग्लास नै फुटाएको हुन्छ, सवारी पनि सुरक्षित हुँदैन’, मालपोत कार्यालयमा भेटिएका बुधबारेका खगेन्द्र निरौलाले भने, ‘पार्किङ व्यवस्थापनमा सरकारी अड्डाले चासो दिएको देखिँदैन ।’
करिब एक वर्षअघि सवारी साधन व्यवस्थित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले व्यवस्थापनसमेत गर्दै आएको थियो । तर, अहिले जनशक्ति अभावमा त्यहाँ परिचालन नगरिएको ट्राफिकले जनाएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पार्किङ मिलाउन नगरपालिकासँग छलफल गरी नजिकै भएका खाली जग्गा सदुपयोग गरिने बताए । भने, ‘सेवाग्राहीले सास्ती भोगेको हामीले पनि बुझेका कारण चाँडो समस्याको निकास खाज्दै छौं ।’
ट्राफिक नराख्नु र कार्यालयहरूले सेवाग्राहीका लागि पार्किङको व्यवस्थापन नगर्दा सदरमुकाम अस्तव्यस्त बन्न थालेकोमा कसैले चासो नदेखाएको सेवाग्राहीको गुनासो छ । जिल्ला प्रशासनमा भेटिएका बिर्तामोडका राजु सुब्बाले भने, ‘मुख्य कार्यालय यहीं छ, दैनिक सयौं सेवाग्राही आउने कार्यालयमा पनि पार्किङको सुविधा छैन ।’ काम नसकिउन्जेल मोटरसाइकल हरायो कि छँदै छ भन्ने तनाव हुने गरेको उनले सुनाए ।
भद्रपुर नगरपालिकाले जिल्ला हुलाक कार्यालय जाने सडकछेउ पार्किङको व्यवस्था मिलाए पनि स्थान पर्याप्त नभएको चन्द्रगढी बजारका सन्तोष बरालले बताए । नगरपालिकाले पार्किङको ठेक्कासमेत लगाएको र ठेकेदारका कर्मचारीले भने जताततै राखिएका सवारी साधनबाट रकम असुल्ने गरेको सेवाग्राही गुनासो गर्छन् । नगरपालिकाले यसतर्फ ध्यान नदिएको भद्रपुरका महिम शेखले बताए ।