करवृद्धिको विरोध

करवृद्धिको विरोध

वीरगन्ज : पर्साको वीरगन्ज महानगरपालिकाले नगरवासीको जीवनयापनमै असर पर्ने गरी कर बढाएको भन्दै उद्योगी÷व्यापारी आन्दोलित भएका छन्। महानगरपालिकाले घरजग्गा, सम्पत्ति, सवारी साधन, व्यापार÷व्यवसाय, जन्म, मृत्यु र विवाहदर्तालगायत शीर्षकमा अत्यधिक कर बढाएको भन्दै वीरगन्ज उद्योग वाणिज्य संघ विरोधमा उत्रिएको हो।

वीरगन्जमा शनिबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष ओमप्रकाश शर्माले करवृद्धिको विरोधमा आइतबारदेखि सडकमा उत्रिने जानकारी गराए। आइतबार बिहान वीरगन्जको घण्टाघर चोकबाट नगर क्षेत्रमा विरोध ¥याली प्रदर्शन गरिने अध्यक्ष शर्माले बताए। ‘आइतबार करवृद्धिको विरोधमा बृहत् ¥याली प्रदर्शन गर्छौं’, उनले भने, ‘त्यसपछि पनि करवृद्धिको निर्णय खारेज गरिएन भने फेरि बैठक बसेर अझ सशक्त आन्दोलनका कार्यक्रम ल्याउँछौं।’

महानगरपालिकाले उद्योगी÷व्यापारी, मजदुर, नागरिक सबैलाई आहत हुने गरी करको दायरा र दर आफूखुसी वृद्धि गरेको आरोप उनले लगाए। नगरवासीको आर्थिक अवस्थालाई ध्यान दिएर आर्थिक राहत महसुस हुने गरी करको दर निर्धारण गर्नुपर्नेमा मेयर विजय सरावगीले पार्टीका कार्यकर्ता र कुण्डलेमुण्डले पाल्न ढाड सेक्ने गरी कर बढाएको आरोप उनले लगाए।

उनका अनुसार विगतमा मालपोत कार्यालयको रजिस्ट्रेसन प्रयोजनका लागि निर्धारण गरिएको न्यूनतम मूल्यांकनलाई आधार मानेर महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर लिँदै आएको थियो। तर, चालू आर्थिक वर्षदेखि मालपोतको मूल्यांकन किताबलाई पाखा लगाई महानगरपालिकाले आफूखुसी घरजग्गा र सम्पत्तिको मूल्यांकन तोकेर करको दर बढाएको उनले बताए।

‘मालपोत कार्यालयले १ करोड ८० लाख न्यूनतम मूल्यांकन गरेको जग्गालाई महानगरपालिकाले ६ देखि ६ करोडसम्म तोेकेको छ’, उनले भने, ‘पोहोर साल जग्गाको कर १३ हजार तिरेकाहरूले यसपालि ९३ हजार रुपैयाँ कर महानगरपालिकालाई तिर्नुपर्ने बाध्यता छ।’ विगतमा व्यवसाय करको अधिकतम सीमा १० हजार रुपैयाँ रहेकोमा यसपालि महानगरपालिकाले २ लाख तोकेको उनको भनाइ छ। होटल व्यवसायमा करको अधिकतम सीमा ५० हजार मात्र रहेकोमा यो वर्षदेखि भने १ लाख २५ हजार रुपैयाँ तोकिएको उल्लेख गर्दै उनले भने, ‘यति मात्र होइन, यहाँको उद्योग÷व्यापारलाई धराशायी बनाउने गरी महानगरपालिकाले प्रदूषण एवं सडक सुधारका नाममा मालवाहक सवारी साधन, भारतबाट वीरगन्जमा प्रवेश गर्ने भन्सार नाकामा नै महँगो कर असुल्न थालेको छ।’

जनताको ढाड सेक्ने गरी कर बढाइएको भन्दै वीरगन्ज उद्योग वाणिज्य संघ आन्दोलित।

उनका अनुसार यसअघि कर तिर्नै नपर्ने औद्योगिक उत्पादन सिमेन्ट, फलामे छड इत्यादिमा महानगरपालिकाले नयाँ नियम लगाएर चर्को रकम असुली गर्न थालेको छ। कवाडीजन्य वस्तुमा लाग्ने गरेको कर खारेज भइसके पनि महानगरपालिकाले फेरि लागू गरेको छ।

पेट्रोल र डिजेलमा पनि प्रतिलिटर २५ पैसा कर महानगरपालिकाले लागू गरेको सुनाउँदै उनले भने, ‘विगतमा जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्तामा अति न्यून रहेको शुल्कमा यो आर्थिक वर्षदेखि भने २ सय प्रतिशतसम्म वृद्धि गरिएको छ।’

सबैभन्दा बढी कर तिर्ने उद्योगी÷व्यापारी नै भए पनि महानगरपालिकाले आर्थिक ऐन बनाउने क्रममा संघसँग परामर्श नगरेको जनाइएको छ। ‘करको दायरा र दर वृद्धिको निर्णय खारेज हुनुपर्छ’, उनले भने, ‘मेयर सरावगीले आफूलाई सर्वज्ञाता र शक्तिशाली ठानेका छन् तर समयमै हाम्रो माग सम्बोधन भएन भने त्यसको मूल्य छिट्टै चुकाउनुपर्छ।’

पत्रकार सम्मेलनमा अध्यक्ष शर्मासँगै वरिष्ठ उपाध्यक्ष गोपाल केडिया, उपाध्यक्ष सुबोध गुप्ता, निवर्तमान अध्यक्ष प्रदीप केडिया, होटल व्यवसायी संघका पदाधिकारीलगायत उद्योगी/व्यापारीको सहभागिता थियो।

०००

वीरगन्जमा पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मालगायत उद्योगी÷व्यापारी। क्रान्ति शाह


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.