नानीबाबुसँग कृष्ण धराबासीका मनका कुरा

नानीबाबुसँग कृष्ण धराबासीका मनका कुरा

बाल्यकालको कुन स्मृति पहिलो हो भन्ने कुराले सबैलाई सताइरहन्छ, सायद। मेरो पहिलो स्मृतिको रुपमा आमाको काखमा बसेर हलुंगेको बटुकामा मासु खाएको सम्झिन्छु। त्यसबेला मेरा आँखाले देखेसम्म आकाश सेतै थियो। पछि आमाले भन्नुभयो, ‘तँलाइ अढाइ बर्षको हुँदा भाकल पुरा गर्न पाथिभरा लगिएको थियो। जताततै हिउँले ढाकेको थियो। बलि दिइएको मासु तँलाई त्यहीँ खुवाइएको थियो।’ मलाई त्यसअघि र धेरै पछिसम्मको घटना याद छैन।

पाँचथर अमरपुरको फलाँटेमा हाम्रो ६ जनाको परिवार थियो। बुवा शारिरीक रुपमा अशक्त हुनुहुन्थ्यो। तै पनि आमा र बुवा दुवै आआफ्नै काममा निस्किनुहुन्थ्यो। ठुली दिदी वस्तुभाउ लिएर जङ्गल जान्थिन्। म घरैमा बहिनीहरु हेरेर बस्थे। हामी तामाङ गाउँका केटाकेटीसँग भेला भएर बिहे गरी खेल्थ्यौं।

म स्थायी बेहुलो थिएँ। बेहुली चाहीँ आलोपालो गरेर बनाउँथे। हामी भाँडाकुटी पनि खेल्थ्यौं। माटाको खानेकुरा बनाएर खाएझैँ गथ्र्यौं। जन्ती र घरगाउँले दुई पक्ष बन्थ्यौं। बिहे सकेपछि बेहुला र बेहुलीलाई बाख्राको खोरमा सुताउँथे। नबोलाउन्जेल सुतिरहनुपर्ने। खोरमा उपियाँले शरीर ढाक्थ्यो। कथि चिल्थ्यो कति ! हरेक दिन बिहे हुने भएकाले उपियाँको टोकाइमा दिनहुँ परिन्थ्यो। मसँगै घरमा पनि उपियाँ जाँदा रहेछन्। कहाँबाट उपियाँ आए भनेर बुवा आमा गन्गनाइरहनु हुन्थ्यो।

म सानैदेखि चञ्चले स्वभावको थिएँ। धेरै बोलिरहन्थें। कथाहरु बनाउने र सुनाउने गर्थें। सबैजना ध्यान दिएर सुन्थे। हाम्रो पालासम्म गाउँमा धुलौटो नै चल्तीमा थियो। काठको कालो पाटीमा धुलो छरेर बाँसको कलमले लेख्ने चलन थियो। साउँ अक्षर चिनेपछि मात्रै पहाडे कागजमा लेख्ने गर्थे। मेट्दै, लेख्दै गरेर घर गर्दा पुरै जीउ माटाले ढाकिएको हुन्थ्यो। त्यसबेला धारो पनि कहाँ थियो र। दश–पन्ध्र दिनमा आमाले फुर्सद हुँदा नुहाइदिनुहुन्थ्यो। कति धुलो खाइयो होला !

मैले २०३७ सालदेखि निरन्तर मधुपर्कमा रचना पठाएँ। बल्ल बल्ल २०५० सालदेखि छापिन थाल्यो। यसले मलाई लेखिरहन उर्जा दियो।

मेरा अन्तरे हजुरबुवाका छोरा साहिँला काकाले मधेशबाट डोकामा रेडियो बोकाएर ल्याउनुभयो। त्यसबेला रेडियो असाध्यै ठुलो हुन्थ्यो। उहाँहरुको घर हाम्रो मुलघर भन्दा पनि तल थियो। काकाले हाम्रै घरमा रेडियो बिसाउनु भयो। रेडियो घन्किन थालेपछि सारा गाउँले आश्चर्य मान्दै भेला भए। म र मेरा साथीहरुले पनि रेडियोका वरिपरी घुम्न थाल्यौं।

अर्कोदिन साथीहरुसँग रेडियो बारे छलफल भयो। सबैको जिज्ञासा थियो ‘रेडियोमा मान्छे कसरी बोल्छन्।’ मैले उनीहरुलाई भने, ‘सबै जना सुतिसकेपछि म मात्र हेरिरहेको थिएँ। रेडियोबाट ससाना मान्छेहरु निस्किए। त्यसपछि खाना खाएर भित्र पसे। मलाई हेप्यौ भने तिमीहरुले रेडियो सुन्न पाउँदैनौं नि।’ त्यसपछि साथीहरुले मेरो चाकडी गर्न थाले। गाउँलेहरु रेडियो नभनेर ‘रेडुइ’ भन्थे।

एक दिन आमाको कतै जानु रहेछ। दिदीलाई वस्तु चराउन पठाउनु भयो र मैले चाहिँ बहिनीहरु हेरेर बस्न पर्ने भयो। म त्यसबेला पाँच, छ वर्षको मात्र थिएँ। म पनि बहिनीहरु छाडेर दिदीसँगै खोला तिर लागें। दिदीले फर्काउँदा पनि मानिन। वस्तु जंगलमा छाडेर तमोर नदी किनारमा खेल्न पाइन्थ्यो। तातो बालुवामा सुत्न पाइन्थ्यो। आमा घरमा आइपुग्दा बहिनीहरुको बिजोक रहेछ। कुकुर घरभित्र पसेर ठेकाभाडा लडाइदिएछ।

हामी बेलुका वस्तु लिएर फर्किदा घरमा रुवाबासी रहेछ। आमाले हामी दुवैलाई पिँडुला फर्किने गरि पिट्नुभयो। त्यसपछि हामी दिदीभाइ मतानमा चढेर लुक्यौं। साँझ छिप्पिँदा पनि हामी नफर्किएपछि खोजतलास सुरु भयो। आमाले चिच्याएर बोलाउँदा पनि हामी बोलेनौं। आमाको हल्लाखल्ला सुनेर छिमेकी, लगायत हाम्रो मुलघरमा मान्छे पनि भेला भए। कोही खोल्सातिर खोज्न थाले। एकैछिनमा एकजना हामीलाई खोज्दै मतानमै चढे। हामी भेटिएपछि सबैजना खुसी भए। आमालाई गाली गरेझैं गरे।

म हजुरबुवाको सबैभन्दा जेठो नाती। हाम्रा घरमा सधैं धानको भात खान पुग्दैनथ्यो। मुलघरमा डेढ, दुई सय मुरी धान हुन्थ्यो। सधैँ मिठो मिठो पाक्थ्यो। मुलघरमा तीन थरी भात पाक्थ्यो। हजुरबुवा, हजुरआमा र सानो भाइलाई धानको भात, लोग्ने मान्छेका लागि मिसाएको भात र बुहारीहरुका लागि ढिँडो।

एकदिन हामी सबै बिउँझिदा घाम निकै माथी आइसकेछ। आमाले आज आमै घरमा धानको भात खान जाने भन्नुभयो। म हतारहतार दौरा लगाएर मुख पनि नधोइकन ओराले लागें। त्यसबेला कट्टु लगाउने चलन थिएन। म भाइसँग खेल्न थालें। भात खाने बेला भयो तर भाइलाई मात्रै खान दिए। म अररो हुँदै उकालो लागें र आमालाई सुनाएँ। घरमा भात खाएर आटमा बसेका बेला छिमेकीका गोरु हामै्र घरको बाटो भएर चराउन लगे। एउटा गोरुको पुछार छोटो थियो। त्यो देखेर एकाएक मेरो मुखबाट ‘डाको न बोलायो लिँडो पुच्छर डोलायो’ भन्ने वाक्य निस्केछ। बाआमा दुवै मुर्छा परीपरी हाँस्नु भयो।

बुवाले त्यसैदिन हजुरआमालाई सुनाउनु भएछ। भोलीपल्टै मलाई खाना खाने गरि मुल घरमा बोलाइयो। हजुरआमाले भातमा घिउ, दुधको तर, मालभोग केरा मुछेर भाइ र मलाई खुवाउनु भयो। त्यो स्वाद मेरा मुखमा आज पर्यन्त ताजै छ।

हाम्रो बारीमा उब्जिएको अन्नले दुईचार महिना पनि खान पुग्दैनथ्यो। २०२४ सालमा हाम्रो परिवार धानको भात अघाउँजी खानकै लागि बसाइँ हिँडयो। ददी, म बहिनीहरु क्रमशः ११, सात, पाँच र तीन वर्षका मात्रै थियौं। हामीसँग भरियाहरु पनि थिए। मुलघरको खेरै कुकुरले पनि हामीलाई पछ्यायो। त्यो रात हामी हेवा खोलाको बगरमा बास बस्यौं। फुको चिउरा, घिउ र सख्खर खाएर सुत्यौं। भोलीपल्ट बिहान कुकुरले खोलो तर्न सकेन। खोला पारी पट्टी तल र माथी गरिरह्यो। धेरै माथी पुगेर हेर्दा पनि तल माथि गरिरहेकै थियो। यो घटनाले हामी केटाकेटीको मनमा ठुलो चोट पा¥यो। हामीलाई हजुरबा हजुरआमाको भन्दा खैरे कुकुरको माया बढी लाग्यो।

हाम्रो परिवार कुम्ला कुटुरा बोकेर बसाइँ हिँडेको देखेपछि इलामको साङ्रुम्बामा मावलीहरु छक्क परे। मावलीमा बास बसेर भोलीपल्ट बुवा र म झापा तर्फ हिँडयौं। बाटोमा मैले पहिलो पटक मोटरमा चढ्ने मौका पनि पाएँ। सनिश्चरे बजारमा बाक्लै घर देख्दा मलाई अचम्म लागेको थियो। हामी एउटा चिया पसलमा बस्यौं। साहुजीले प्लेटमा राता, खिरिला रोटी जस्ता चिज ल्याएर मेरा अघि राखिदिए। म स्वाद मान्दै खान थालें। पहाडमा धएँराको फुल खाए भन्दा पनि मिठो लाग्यो। पछि थाहा पाउँदा जुलबी रहेछ। त्यसैदिन दुइवटा नाङ्ला माथि चढेर कुदेको देख्दा पनि मलाई अनौठो लागेको थियो। त्यो त साइकल पो रहेछ।

हाम्रो भविष्य बाल्यकालको संगतले पनि निर्धारण गर्दो रहेछ। म पहाडमै भएको भए मेरो भविश्य कस्तो हुन्थ्यो होला अनुमान पनि गर्न सक्दिन। शनिश्चरेमा बस्न थालेपछि म निकै बिग्रिएको थिएँ। खैनी, चुरोट खाने गलत केटाहरुको संगतमा थिएँ। घरमा एक छिन पनि बस्दिनथे। शनिश्चरे माविमा कक्षा तीनमा पढ्दादेखि म एक जना सुकिला साथी तर्फ आकर्षित भएँ। उनी थिए डा. शंकर उप्रेतीका छोरा सञ्जिव उप्रेती। उनी त्रिभुवन विश्वविद्यालयको प्राध्यापक भए। उनै सञ्जीव र डाक्टर बाको परिवारको संगतले नै म पनि आजको अवस्थामा आइपुगें।

म आधासरो सञ्जिवकै घरमा बस्थे। त्यहाँ हामी साहित्यिक किताब पढ्थ्यौं। काटुनका किताबमा घोत्लिन्थ्यौं। रातो गाता भएका तिलस्मी किताबमा रमाउँथ्यौं। आतंक, राक्षस राज्य, रत्न भवन जस्ता किताब कक्षा ६ मै पढ्ने मौका पायौं। यो पढ्ने बानीले मलाई लेखनमा ल्यायो। अहिले मेरा २८ वटा किताब छापिएका छन्। मेरो राधा उपन्यासले साहित्य विधा तर्फ दिइने ठूलो पुरस्कार मदन पुरस्कार समेत पायो। यो अंग्रेजी भाषामा समेत अनुवाद भएको छ। कृषि विकास बंैकको जागिरबाट अवकाश लिएपछि हाल मेरो पेशा लेखन नै भएको छ। लेखकस्वले खान पुग्ने भएको छ।

हाम्रा आआफ्नै रुची हुन्छन्। तिनको विकासमा निरन्तर लागिरहनुपर्छ। निराशा सबैको ठुलो शत्रु रहेछ। आफ्नो रुचीको काममा दत्तचित्त भएर लाग्नुपर्नेरहेछ। निरन्तरताले एकदिन अवस्य सफलता हात पार्न सजिलो हुँदो रहेछ। मैले २०३७ सालदेखि निरन्तर मधुपर्कमा रचना पठाएँ। बल्ल बल्ल २०५० सालदेखि छापिन थाल्यो। यस कुराले मलाई लेखिरहन उर्जा दियो।


(साहित्यकार धरावासीसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.