वितण्डा मच्चाउँदै महाकाली, बाढीको डरले जाग्राम

वितण्डा मच्चाउँदै महाकाली, बाढीको डरले जाग्राम

महेन्द्रनगर : एकपटक पुरै बस्ती बगाएको मकाकालीले कञ्चनपुरको भीमदत्त नगरपालिका- ११ भुजेलास्थित महाकाली टोलमा फेरि तटबन्ध बगाउन थालेपछि स्थानीय त्रसित बनेका छन्। महाकाली नदी नियन्त्रणका लागि सो क्षेत्रमा निर्माण गरिएको तटबन्ध नदीले कटानी गर्न थालेको छ।

गत सातादेखि तीब्ररुपमा नदीले तटबन्ध कटानी गरिरहेको स्थानीयले बताएका छन्।निरन्तर वर्षा भइरहेकाले महाकाली नदीमा पानीको बहाव बढेको छ। नदीले कटानी गर्न थालेपछि स्थानीय आफै तारजालीमा ढुंगा भरेर कटानी नियन्त्रणमा जुटेका छन्। 'हामी आफै तारजालीमा ढुंगा भरेर नियन्त्रणको प्रयासमा लागेका छौं' स्थानीय राधिका नेपालीले भनिन्, 'समयमा ठेकेदारले तटबन्ध निर्माण नगरिदिँदा यो अवस्था भएको छ। तारजालीमा भरेका ढुंगा बाढीले बगाएको छ भने केही स्थानमा स्परहरु समेत बगाइसकेको छ।'

महाकालीको सो क्षेत्रमा गत आर्थिक वर्षमा सक्ने गरी महाकाली टोल क्षेत्रमा तटबन्ध निर्माणका लागि ठेक्का भएपनि ठेकेदारले समयमै काम नगर्दा नदीले कटानी थालेको स्थानीयको बताएका छन्। 

 
'समयमा नै यहाँ काम सुरु भइदिएको भए अहिले तटबन्ध बग्ने थिएन' भीमदत्त नगरपालिका- ११ का वडा अध्यक्ष प्रेमप्रकाश जैशीले भने, 'धेरै पुरानो भइसकेका कारणले अहिले कटान गरिरहेको छ।' उनले नदीले निरन्तर तटबन्ध कटानी जारी राखे नदीको भंगालो गाउँ पस्ने खतरा रहेको बताए। 

कटानी गरेको क्षेत्रबाट नदीको भंगालो गाउँ पसे भीमदत्त नगरपालिकाका- ११, १२ र १३ नम्बर वडाका बस्ती उच्च जोखिममा पर्नेछन्। जनताको तटबन्ध कार्यालय कञ्चनपुरले महाकाली नदी नियन्त्रणका लागि गत आर्थिक वर्ष २०७४/०७५ का लागि सो क्षेत्रमा तटबन्ध निर्माणको ठेक्का दिएको थियो। 

जनताको तटबन्ध कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका- ११ र १२ को भुजेला र ओदालीमा केएस कन्सष्ट्रक्सनलाई १३ करोड ३२ लाखमा १ किलोमिटर १ सय २४ मिटर तटबन्ध निर्माण गर्ने ठेक्का दिइएको थियो। सो क्षेत्रमा करिब ५० मिटर तटबन्ध अहिले नदीले कटानी गरिरहेको स्थानीय विरेन्द्र वहादुर थापाले बताए।

'यो क्षेत्रमा टुक्रे योजना राखेर तटबन्ध निर्माण हुँदैन' उनले भने। 'महाकाली नदीबाट बस्ती जोगाउनका लागि राज्यले भरपर्दो प्रविधि र योजना बनाएर तटबन्ध निर्माण गर्नुपर्छ।' तटबन्ध पुरै कटान गरेर बाढी वस्तीमा पस्ने हो कि भन्ने चिन्ताले स्थानीय रातभरि जाग्राम बस्न थालेका छन्। 

कतिबेला बाढीले पुरै तटबन्ध बगाउने र वस्तीमा पस्ने चिन्ता बढेको स्थानीयले पीडा व्यक्त गरे। महाकाली तटबन्ध संरक्षण संघर्ष समितिका अध्यक्ष श्याम थापाले समयमा तटबन्ध निर्माणको काम शुरु नहुने समस्याले हरेक वर्ष क्षति पुर्‍याउने गरेको बताए।

'सरकारले वर्षात सकिए लगत्तै ठेक्का गरेर काम शुरु गर्नुपर्छ' उनले भने 'ढिला ठेक्का हुने र ठेकेदारले समेत वर्षात आउन १÷२ महिना मात्रै बाँकी रहँदा काम गर्ने प्रवृतिले हरेक वर्ष तटबन्ध कमजोर हुने गरेको छ।'  जनताको तटबन्ध कार्यालयका अनुसार उक्त तटबन्ध चार वर्षअघि बनेको हो। पुरानो भएकाले गत वर्षदेखि उक्त क्षेत्रमा मर्मतको ठेक्का भएको हो। 

महाकालीमा यस वर्ष ३ ठाउमा जोखिम रहेको छ। भीमदत्त नगरपालिका- ११ को जिरो पोइन्ट रहेको चौकिसोता, सोहि वडाको महाकाली टोल र महाकाली नगरपालिका- ४ को झोलुंगे पुल नजिकै बढी जोखिम छ।महाकाली नदीमा हरेक वर्ष आउने बाढीले क्षति पुर्‍याउँदै आइरहेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.